साप्ताहिक संवाददाता
गत असार १६ गतेबाट फ्लोरमा गएको चलचित्र ‘आमा’को छायांकन सकिएको छ । चलचित्रका अधिकांश दृष्य पानीमा दिच्नु पर्ने थियो । प्रयाप्त वर्षा कुर्दाकुर्दै चलचित्र छायांकनको समय लामो लागेको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । कुनै पनि सम्झौता नगरी छायांकन गरिएको र पोष्ट प्रोडक्सनको बाँकी काम पनि विना सम्झौता गर्ने निर्देशक खनालको दाबी छ ।
छायांकनसँगै लाइनअपको पनि काम भइरहेको निर्देशक खनालले जानकारी दिए । साउन्ड र कलरको काम इन्डियामा गर्ने योजना रहेको उनको भनाइ छ ।
चलचित्र ‘आमा’का लागि अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गरेकी थिइन् । चलचित्रको कथालाई जिवन्तता दिन र आफ्नै भूमिकालाई पनि न्याय दिन कपाल मुन्डन पन्तले बताएकी थिईन् ।
चलचित्र ‘आमा’मा सुरक्षासँगै मिथिला शर्मा र सरिता गिरीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । सोसल ड्रामा ‘आमा’को कथा पनि दीपेन्द्रले नै लेखेका हुन् । आगामी फागुन ९ गते प्रदर्शन मिति लक गरेको यो चलचित्र निर्देशक स्वयम्ले खिचेका छन् ।