युट्युबको प्रयोग कसले कुन प्रयोजनका लागि गर्छ भन्ने कुरा मुख्य हो । ज्ञानगुनका कुरा पनि यसैमा छन्, गीत–संगीत, चलचित्र पनि यसैमा छन्, भजन पनि यसैमा छन्, यौनका कुरा पनि यसैमा छन् । के हेर्ने र के नहेर्ने मानिसको उमेर र रुचिअनुसारको रोजाइ हो । बोली फुटेका बच्चादेखि लिएर कपाल फुलेका वृद्धसम्म यसैमा भुलेका देखिन्छन् ।
सन् २००५ मा अमेरिकाका तीन जना साथी मिलेर खोलेको ‘युट्युब’ यतिबेला संसारभरि नै समय बिताउने सशक्त माध्यम साबित हुँदै गएको छ । इन्टरनेटमार्फत जो–कसैले खाता खोलेर यो च्यानलमा आफ्ना व्यक्तिगत एवं व्यवसायिक भिडियोहरू राख्न सक्छन् । आफूले खोलेको युट्युब च्यानलमा हजार जना ग्राहक बनेपछि र सुरुमा चार हजार घण्टा हेरिसकेपछि उक्त च्यानल पैसा कमाउन योग्य मानिन्छ । त्यसरी पैसा कमाउन योग्य भएपछि गुगलले उक्त च्यानलमा विज्ञापन देखाउन थाल्छ र संसारभर उक्त च्यानल हेरिने देश र विज्ञापन हेराइ तथा दर्शक संख्याका आधारमा च्यानलले कमाइ
गर्न थाल्छ ।
यसरी पैसा आर्जन गरिने भएपछि अहिले नेपालमा पनि बग्रेल्ती युट्युब च्यानल खोलिएका छन् । यकिन तथ्यांक त आएको छैन, तर हजारभन्दा माथिको संख्यामा नेपालबाट खोलिएका युट्युब च्यानलमध्ये कतिपयले मासिक रूपमा एक लाखभन्दा बढी कमाइ गर्छन् । युट्युब च्यानल चलाउनेहरूमध्ये अधिकांश युवा छन् । सरकारको कुनै निकायमा दर्ता पनि गर्नु नपर्ने, कर पनि तिर्नु नपर्ने र खासै लागत पनि नलाग्ने हुँदा युट्युब खेती हिजोआज खुबै फस्टाएको छ । पैसाकै लागि समाजका घटना तथा विषयहरूलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरी भ्रम पैदा गरिँदा बेलाबेला के झूटो हो के साँचो हो भनेर समाज नै दिग्भ्रमित भएको पनि देखिएको छ ।
यो बेलाबेलामा सरकारका लागि पनि टाउको दुखाइको विषय हुँदै आएको छ र यसलाई नियन्त्रण एवं व्यवस्थित गरिनुपर्ने कुरा आउन थालेको छ । युट्युब आफंैमा केही होइन, फगत एउटा माध्यम हो । यसका पनि आफ्नै नीति–नियम छन् र समाजमा हिंसा भड्काउने वा अश्लील कुरा राखेको थाहा पाए वा उजुरी गरे सम्बन्धित भिडियो हटाउने वा च्यानल नै बन्द गरिदिनेसम्मको काम पनि युट्युब आफैंले गर्छ, तर पनि हरेक कुरा निगरानी गर्नु र रोक्न सक्नु उसकै वशमा पनि छैन ।
युट्युबको प्रयोग कसले कुन प्रयोजनका लागि गर्छ भन्ने कुरा मुख्य हो । ज्ञानगुनका कुरा पनि यसैमा छन्, गीत–संगीत, चलचित्र पनि यसैमा छन्, भजन पनि यसैमा छन्, यौनका कुरा पनि यसैमा छन् । के हेर्ने र के नहेर्ने मानिसको उमेर र रुचिअनुसारको रोजाइ हो । बोली फुटेका बच्चादेखि लिएर कपाल फुलेका वृद्धसम्म यसैमा भुलेका देखिन्छन् । युट्युबका भिडियो नदेखाई घरका बालबच्चाले खाना नखाने अवस्था आउन थालिसकेको छ । अभिभावकहरूलाई पनि तनाव लिइरहनुभन्दा देखाइदियो आनन्दै भन्ने परेको छ । बालबच्चा भुलाउन पनि सजिलो, आफूलाई काम गर्न पनि सजिलो भनेर सोच्नाले बालबालिका इन्टरनेटका भिडियो हेर्ने र खेल खेल्ने काम नगरी बस्नै नसक्ने अम्मली भैसकेका छन् । बच्चादेखि बूढासम्म मोबाइल वा कम्प्युटरमै घोप्टो परिरहेको दृश्य हरघरमा देख्न सकिन्छ । यसले सामाजिकीकरणमा पारेको असर तथा मानिसहरूबीच भेटेर गफ गर्दा हुने हार्दिकतामा र्हास आइसकेको छ ।
कसको गीत कति चल्यो, कसको फिल्म कति चल्यो, को हिट को फ्लप भनेर नाप्ने माध्यम पनि युट्युब नै भएको छ । कसको गीत वा फिल्मको ट्रेलर युट्युबमा हालेको कति घण्टा वा दिनमा कति लाख वा करोड पुग्यो ? कसले युट्युबबाट कति कमायो भन्ने कुराले सफलता नाप्न थालिएको छ । हुँदाहुँदा मूलधारका रेडियो तथा टेलिभिजनले समेत दर्शकहरूको चाप युट्युबमा देखेर आफ्ना कार्यक्रमहरू यसैमा राख्न थालेका छन् । दर्शक–श्रोताको फेरिएको स्वाद र इन्टरनेट क्रान्तिका कारण आएको माध्यमको परिवर्तनले सबैलाई उत्तिकै प्रभाव पारेको छ । कुनै घटना घट्यो भने अब टिभी खोलौं वा रेडियो खोलौं भन्दा पनि युट्युबमा हेरौं न भन्ने समय आएको छ । कुन देशको समाजको चासो र रुचि केमा छ भनेर नाप्न मन लाग्यो भने अचेल युट्युबमा ट्रेन्डिङ आएका भिडियोहरू हेरे पुग्छ ।
नेपालकै हकमा हेर्ने हो भने अपराध वा यौनसम्बन्धी विषय भएका, कलाकारहरूका सम्बन्धका कुरा, छाडा बोलिएका कुरा सर्वाधिक हेरिएको पाइन्छ । युट्युबबाट कमाइ गर्न पल्किएकाहरूले कुनै बिकाउ व्यक्ति वा घटना पाए भने हप्तौंसम्म त्यही कुराको पछि लागि पक्ष–विपक्षमा पुगेर अनेक कोणबाट त्यो कुरा उछाली दर्शकहरूलाई भुलाइरहने र कमाइमा मात्र ध्यान दिएको देखिन्छ । सत्य–तथ्य देखाउनु राम्रै कुरा हो, तर भावना र संवेदनाको खेती गरेर पीडकलाई थप पीडा दिनु र घटनाको व्यापारीकरण गर्नु अपराध हो ।
के युट्युबमा खोलिएका सबै च्यानल व्यवसायिक हुन् र घटना देखाउने, कुराकानी गर्ने सबै पत्रकार हुन त ? पक्कै पनि होइनन् । युट्युबमा आएका सबै कुरा सत्य हुँदैनन् र देखाउने–बोल्ने सबै पत्रकार होइनन् । पत्रकारिताको आफ्नै मर्यादा र धर्म छ । युट्युबमा धेरै राम्रा पत्रकार पनि छन् भने पैसाकै लागि पत्रकारितालाई बदनाम गरिरहेका पत्रुकारहरू पनि छन् । को–कस्तो भन्ने कुरा छुट्याउने अभिभारा दर्शक–श्रोताकै हो । युट्युब च्यानलमा बोल्ने शैली, प्रस्तुतीकरणको शैली एवं कार्यक्रमका विषय तथा पात्र हेरेर कुन कस्तो खाले च्यानल हो र कुन प्रस्तोताको क्षमता र हैसियत के हो भनेर खुट्याउन सकिन्छ । प्रस्तोताले गर्ने प्रश्नको स्तर तथा कार्यक्रमको विषयले पनि गुणस्तर नाप्न सजिलो हुन्छ । सरकारले चाहँदैमा सबैलाई बन्द वा नियन्त्रण गर्न सक्दैन तर आवश्यक परे नियमीकरण जरुरी हुनसक्छ ।
दर्शक–श्रोताले चनाखो भएर को पत्रु हो र को असल हो भनेर छान्न थाल्ने हो भने धेरै युट्युबरेहरूको खेती आफैं सुकेर जान्छ । समाजलाई दिग्भ्रमित गर्नेहरूलाई बहिष्कार गर्नुको विकल्प छैन । भजन सुन्ने कि र्याप, ब्लू फिल्म हेर्ने कि कला दर्शककै रोजाइ हो । यसमा रोइलो गर्नुको साटो आफू सच्चियो भने आधा संसार आफैं सच्चिन्छ । असली फसललाई मलजल नगर्ने, गोडमेल नगर्ने अथवा वास्ता नगर्ने हो भने बन्सो त सप्रन्छ नै । विषवृक्ष हुर्काउने कि वटवृक्ष दर्शककै हातमा छ ।