साप्ताहिक संवाददाता
चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो गीत ‘सिल्की सिल्की’को सफलतापछी दोस्रो गीत ‘जवानी’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएका छन् । केहि दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केहि सम्झौता गरेको छैन । गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् ।
लुको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ दिएका छन् ।
आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने यो चलचित्रमा निर्देशन र सम्पादन साम्तेनको रहेको छ भने आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । यो चलचित्र रोमान्टिक कमेडी जनरमा तयार भएको निर्देशक सामतेनले बताए । यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यो प्रोजेक्टबाट निर्माणमा आउँदैछन् ।