यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदि इत्यादिको अवसर पारेर खेलिन्छ, तसर्थ यो खेल खेल्ने समयमा प्राय: हूलमूल हुन्छ जहाँ हुलमूल बढी हुन्छ त्यहाँ ठेलमठेल र झेलमेल पनि हुन्छ ।
प्रस्तावना
लिंगेपिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म विशेषत: चाडबाडको अवसरमा निकै लोकप्रिय खेल हो । यो खेलको वास्तविक उद्गम बिन्दु इतिहासको कुन कालखण्ड हो भनेर यकिनका साथ भन्न नसकिए पनि यो खेल परापूर्व कालदेखि चलिआएको हो भन्ने अनुमान पुराना काष्ठकला वा चित्रकलामा कुँदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ ।
यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदि इत्यादिको अवसर पारेर खेलिन्छ, तसर्थ यो खेल खेल्ने समयमा प्राय: हुलमूल हुन्छ जहाँ हुलमूल बढी हुन्छ त्यहाँ ठेलमठेल र झेलमेल पनि हुन्छ । लिंगेपिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुव्र्यवहारलाई मध्यनजर राखी यो नियमावलीले आजको दिनदेखि यो खेल खेल्दा पालना गर्नुपर्ने आधारभूत नियम, विनियम तथा खेलको नियमविपरीत व्यवहार देखाए भोग्नुपर्ने दण्ड सजायका बारेमा प्रस्ट दिशानिर्देश गरेको छ । अझ नजिकिँदै गएको महान् हिन्दू चाड दसंै तथा तिहारमा जताततै पिङ खेलिने परम्परा रहेको हुँदा यस्ता थिचोमिचो र ज्यादती यो सिजनमा अझ बढी हुन्छ । साथै बढ्दै गएको बजारीकरणले खुला ठाउँ नहुँदा लिंगेपिङको अस्तित्व नै धरापमा परेको हुँदा यो खेलको गरिमा जोगाउन तथा यसको ऐतिहासिक मूल्य–मान्यतालाई सन्तान–दरसन्तानसम्म हस्तान्तरण गर्ने अभिप्रायले समेत प्रेरित भएर यो नियमावली सार्वजनिक गरिएको छ । पौराणिक मान्यताअनुसार पनि दसंैको अवधिभर कम्तीमा एक पटक भुइँ छोड्नै पर्ने भन्दै आइएकोमा सबैले सुविस्ताका साथ नियममा रहेर त्यसो गरुन् तथा गराउन् भन्ने अपेक्षासमेत गरिएको बेहोरा जानकारी गराइन्छ ।
परिच्छेद–१
प्रारम्भिक
(१) संक्षिप्त नाम र प्रारम्भ: (१) यो नियमावलिको नाम ‘लिंगेपिङ नियमावली, २०७६’ रहेको छ । (२) यो नियम तुरुन्त लागू हुनेछ ।
(२) परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागे यो नियमावलीमा–
(क) ‘ऐन’ भन्नाले खेलकुद विकास ऐन, २०४८ सम्झनुपर्छ ।
(ख) ‘लिंगेपिङ’ भन्नाले घटीमा चारवटा बाँसका खाँवा चारतिर वर्गाकार वा आयताकार मोहडामा गाडेर त्यसको बीचमा झुन्डाइएको डोरीमा खेलिने खेल र ‘लिंगो’ मात्रै भन्नाले पिङ बनाउने अभिप्रायले काटिएको वा काट्न तय गरिएको बाँसको टुप्पोसहितको खाँवो भन्ने सम्झनुपर्छ ।
(ग) ‘लठारो’ भन्नाले पिङकै प्रायोजनका लागि बाबियो वा जुटबाट बनेको मोटो डोरी सम्झनुपर्छ ।
(घ) ‘गरालो’ भन्नाले लठारो बलियोसँग बाँधिएको त्यो काठ बुझ्नुपर्छ जुन चारवटा लिंगोको टुप्पो जोडिएको ठाउँमा मिलाएर तेर्स्याइएको हुन्छ ।
(ङ) ‘खेलाडी’ भन्नाले लठारोमा चढेर कम्तीमा पाँच पटक अगाडि–पछाडि हुत्तिने व्यक्तिलाई सम्झनुपर्छ ।
(च) ‘काम्रो’ भन्नाले खेलाडीको खुट्टा वा पुठ्ठा राख्ने बलिया कम्तीमा दुईवटा साना लठ्ठीलाई डोरीले बुनेर तयार गरिएको चिज सम्झनुपर्छ ।
(छ) ‘भिजिलान्ते’ भन्नाले वास्तविक खेलमा रुचि नभै खेल भाड्न वा खेल्न आएका व्यक्तिलाई र्याक गर्न बसेका जमातको सदस्य भन्ने सम्झनुपर्छ ।
(ज) ‘हल्लागिरी’ भन्नाले सानोतिनो किचलो सुरु हुनासाथ डाँडै थर्काउने गरी होहल्ला मच्चाउने व्यक्ति वा समूह सम्झनुपर्छ ।
(झ ‘पिन्चे’ भन्नाले खेल्नचाहिँ नआउने तर खेल्छु भनेर हरबखत काम्रो वा लठारो समाउन आउने व्यक्तिलाई सम्झनुपर्छ ।
(य) ‘रुन्चे’ भन्नाले रोल क्रममा हुनेले बल्ल एकपटक खेल्न पाउँदा जुन व्यक्तिले रोइकराइ कम्तीमा तीन पटकसम्म खेलिसकेको हुन्छ, त्यसलाई सम्झनुपर्छ ।
(ट) ‘ग्वाङ्ग्रो’ वा ‘ग्वाङग्री’ भन्नाले खेल्न आउने तर खेल्ने मौका कहिल्यै नपाउने तथा प्राय: अलि पर लिंगोमा हात राखेर ट्वाल्ल तमाशा हेर्ने व्यक्तिलाई सम्झनुपर्छ ।
(ठ) ‘लठ्ठा’ भन्नाले दुई लठारोको समूह सम्झनुपर्छ ।
परिच्छेद–२
(३) खेल खेल्ने वा खेल हेर्नेसम्बन्धी व्यवस्था
यो नियमावलीमा निम्न नियमहरूको व्यवस्था गरिएको छ :
(३.१) खेलाडी संख्या र लिंग सम्बन्धमा : यो खेल एक वा दुईजना अवस्थाअनुसार खेल्न सकिनेछ । जोडी खेल्दा १३ वर्ष उमेर नाघेका विपरीत लिंगी छन् भने श्रीमान्–श्रीमती नै हुनुपर्नेछ, अन्यथा जोडी खेल्न पाइनेछैन । १३ वर्ष उमेर हद ननाघेकाहरूको हकमा जो–जो खेले पनि पाइनेछ ।
(३.२) खेल एकैपटक सबैले खेल्न नमिल्ने भएकाले रोलक्रम अनुसार खेल्नुपर्छ जसमा पहिले आउनेको रोलक्रम पहिले र पछि आउनेको तदनुसार दोस्रो तथा तेस्रो हुँदै जानेछ ।
देहायका विशेष अवस्थाहरू बाहेक अन्य अवस्थामा कुनै पनि हालतमा रोलक्रमको नियम पालना गर्नु गराउनुपर्नेछ ।
(३.३) अतिथि संस्कारसम्बन्धी : गाउँमा वा टोलमा कसैको घरमा आएको पाहुनाले खेल्न चाहेकोमा बिद्यमान रोल क्रमको ख्यालै नगरी उसलाई पहिलोपटक खेल्ने मौका दिइनेछ । दोस्रो पटकदेखि भने उसलाई रोलक्रम अनुसार नै खेलाउनुपर्नेछ ।
(३.४) बालबालिकाको सुरक्षासम्बन्धी : यो उपनियमले पाँच बर्षभन्दा कम उमेरका बालबालिकालाई पिङ खेलाउँदा उनीहरूका अभिभावक अनिवार्य रूपमा सँगै बसेर जिम्मेवार हुनुपर्छ ।
(३.५) लिंगेपिङ खेलका निषिद्ध कार्यहरू :
(क) खेलाडी तथा दर्शकहरूबीच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ख) धारिलो वा पड्किने हतियार लिएर आउन निषेध ।
(ग) गाउँलेका बहिनी, दिदी, भान्जी, साली, भातिजी, बुहारी, सोल्टिनीप्रति गिद्धे नजर लगाउन नपाइने ।
(घ) पीङमा मच्चिदा ‘सररर’ र ‘चचहुई’ बाहेक अरु (आपत्तिजनक र उच्श्रृङ्खल) शब्द प्रयोग गर्न निषिद्ध ।
(३.६) पिङबाट ओर्लन बाध्य नपारिने : साबिक खेलको निर्धारित अवधि सकिँदा पनि खेलाडी वा खेलाडीले खुबै जोसका साथ मच्चिई–मच्चिई खेलिरहेको अवस्थामा पिङबाट ओर्लन बाध्य पारिनेछैन । खेलको समय निर्धारण भने खेल्न इच्छुक खेलाडीहरूको चापअनुसार उपलब्ध व्यक्तिहरूकै मिलेमतोमा गर्न सकिनेछ । घर परिवारका मानिस विभिन्न बहानामा खेलिरहेको खेलाडीलाई बोलाउन आए खेलाडीले आफ्नो अवधिसम्म निस्फिक्री खेल्न पाउने अधिकार यो नियमले व्यवस्था गरेको छ ।
(३.७) आफ्नो पालो आउने बेलामा अन्त कतै भुलिने वा घर जाने र पछि आउनासाथ अघि पालो आउने बेलामा गएको भनेर रोलक्रम मिच्न पाइनेछैन ।
(३.८) आफंै जिम्मेवार हुनुपर्ने
(क) खेल भैरहेको ठाउँमा हेल्चेक्र्याइँ गरेर मच्चिएको पिङले लागे घाइते स्वयंबाहेक अरु कुनै पक्ष जवाफदेही हुनेछैन ।
(ख) हुक्कु हुने गरी मादक पदार्थ सेवन गरी खेल स्थानमा खुट्टै टेक्न नसक्ने गरी आउने, गाली गलौज तथा अशिष्ट भाषा प्रयोग गर्ने, घुर्क्याउने, बाहानाबाजी गर्ने, लछार्ने, पछार्ने, तँछाडमछाड वा मुक्कामुक्की गर्ने, गन्हाउने मुख लिएर अर्काको नजिकै गई ढ्याउ गर्नेजस्ता अक्षम्य भूल गरे जो कोहिले वा समूहले मिलेर निज जँड्याहालाई कुटपिट गर्ने वा घिसारेर पिङ परिसरबाट बढीमा एक कोस परसम्म पुर्याउन सक्नेछन् र एक हप्तासम्म खेलबाट वञ्चित गर्न सक्नेछन् । निजको पुनरावेदन कहीँ लाग्नेछैन ।
(३.९) नातावाद, कृपावाद र हैकमवाद : यो नियमावलीमा उल्लेखित नवआगन्तुक पाहुनालाई बाहेक अन्यको हकमा कुनै वाद लाग्नेछैन ।
परिच्छेद–३
(४) यो खेलमा निम्न बमोजिमका दण्ड–सजाय व्यवस्था गरिएको छ ।
(४.१) खेलाडी–खेलाडीबीच हात हालाहाल भएर अङ्ग भङ्ग भए (जस्तै नाक कुचिएमा, बङ्गारा झरेमा) पिडकले पीडितको सम्पूर्ण उपचार गर्नुपर्ने व्यवस्था गरिएको छ । आपसी सहमतिमा खेल स्थानमै उपलब्ध प्रत्यक्षदर्शी यथासम्भव ज्येष्ठ नागरिकको रहोबरमा आर्थिक हिसाब मिलान गरी उपचार पीडित पक्ष स्वयम्ले समेत गर्न सक्नेछन् । खेलको हकमा इच्छा भए पीडितलाई एक पटक पिङ खेलाएर एम्बुलेन्समा पठाउन सकिनेछ भने पिडकलाई तत्काल खेल सिमाबाट कठालो समाएर बाहिर निकाल्ने अधिकार खेल वरिपरि पालो कुरेर बसेका खेलाडीहरूलाई हुनेछ । विपक्षीको शरीरबाट रगतनै बग्ने गरी मुक्का हान्ने त्यस्ता व्यक्ति सम्बन्धित लिंगेपिङबाट उक्त सिजनमा खेल्न स्वत: अयोग्य घोषित हुनेछन् ।
(४.२) सामाजिक शिष्टाचारविरुद्धको क्रियाकलापसम्बन्धी : गाउँका नवजवान किशोरि, गाउँलेहरूका भान्जीभातिजी, सालीसोल्टिनी, भदै, सानी आमा ठुलि आमा वा मामाका छोरीहरू, नवविवाहित बधू आदिलाई देखेर दुव्र्यबहार गर्ने, आँखा सन्काउने, सुसेल्ने, सिट्ठी बजाउने, जिब्रो पड्काउने, घाँस वा कागजको रकेट बनाई उनीहरूको टाउको वा जीउमा पर्ने गरी उडाउने, सुनिने स्वरमा दोहोरो अर्थ लाग्ने शब्दहरू प्रयोग गर्ने तथा यहाँ उल्लेख गर्न नमिल्ने कुरा गर्ने हर्कत गरे लाठेको संयोजकत्वमा पहिलो पटक चेतावनी र त्यस्तो बदमासी दोहोरिए खेल परिसरबाट निष्कासित गर्न सकिनेछ ।
(४.३) खेलाडी, रुन्चे, पिन्चे वा रमिते कुनै समूहले नियोजित रूपमा खेलको दौरानमा काम्रो झिक्ने, खोस्ने, थुत्ने वा लुकाउने गरे दोषी ठहरिएको व्यक्तिलाई वाञ्छनीय ठहरे नेपाली रुपैयाँ १ सय ५० सम्मको नगद जरिवाना तिराउन सकिनेछ । उक्त शुल्कबाट लाठेको अगुवाइमा लिंगेपिङ वरिपरि भएका व्यक्तिहरूले चनाचट्पट, पानीपुरी, पिपरमेन्ट, चुइङगम, चाउचाउ खान सक्नेछन् । सामूहिक सर्जमिनपश्चात् काम्रो फिर्ता ल्याइसकेपछि काम्रो मामिलामा मुछिएको निज व्यक्तिको गनेर पाँच पटकसम्म पालो ढुस्सिने व्यवस्था गरिएको छ ।
(४.४) लिङ्गे पिङ खेल्ने भु–भाग २० मिटर वरिपरि सम्म लङ्गुरबुर्जा, पोट, गुच्चा, तासजस्ता अन्य खेलको खाल राखी हो–हल्ला गर्ने अनी खेलाडी र रमितेसम्मलाई भाँड्ने जस्ता जघन्य अपराधमा सामेल हुने व्यक्तिलाई १ सय २० पटक उठबस गराई डाँडा कटाउँदा कसैले केही भन्न पाउनेछैनन् ।