असोज १७ देखि २३ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

आश्विन १७, २०७६

१८ गते : फूलपाती (सप्तमी), फूलपाती साइत प्रात: ८:५२

१९ गते : महाअष्टमी । 

२० गते : महानवमी । 

२१ गते : देवी विसर्जन प्रात: ८:४५, विजयादशमी टीका साइत प्रात: १०:३५ ।

 

मेष 

मान्यजनको आशीर्वादले लक्ष्यमा पुग्न ऊर्जा प्रदान गर्नेछ । मनोरञ्जनका क्रममा महत्वपूर्ण कार्यहरू छुट्न सक्छन् । मन मिल्ने साथीहरूले आर्थिक सहयोगको अपेक्षा राख्नेछन् । परिस्थिति बुझेर अघि बढ्नुहोला । परिचित तथा अपरिचित मित्रजनबाट यथेष्ट शुभकामना पाइनेछ । मिष्ठान्न भोजन तथा भेटघाटको आन्नद प्राप्त हुनेछ । 

वृष 

साताको सुरुका दिन मनोरञ्जक रहनेछन् । साथीभाइसँग भ्रमणमा जान अभिभावकहरूले बन्देज लगाउन सक्छन् । साताको अन्त्यमा चिसोबाट टाढा रहनु नै बेस हुन्छ । आहार–विहारका क्रममा संयम अपनाउनु नै उचित होला ।

मिथुन 

सबैको नजर तपाईंमाथि नै पर्नेछ । नौला परिकारको रसास्वादन गर्न पाइनेछ । विदेशबाट फर्किएका साथीभाइहरूसँगको भेटघाट रमाइलो रहला । विविध स्थानको भ्रमण हुनसक्छ । मौसमी फेरबदलबाट आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । 

कर्कट 

मन पर्ने व्यक्तिहरूसँगको भेटघाटका कारण साता उत्साहप्रद रहनेछ । सेवामूलक काम गरेर नाम, दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खर्च भए पनि टाढाको रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । अबेरसम्म यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।  

सिंह 

शनिबारपछिका दिनहरूमा पूण्य आर्जनतर्फ आकर्षित भइनेछ । पारिवारका ज्येष्ठ सदस्यहरूको सुझावबाट समस्या पहिचान गरी त्यसको निराकरणसमेत गर्न सकिनेछ । खानपानको असावधानीले स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । पर्याप्त मात्रामा पानी सेवन गर्दा स्वास्थ अनुकूल हुनेछ । 

कन्या

ठूलाबडाको सान्निध्य पाएर मन प्रफुल्लित हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्न सक्छ । परोपकारी कार्यमा मन जानेछ । खानपान तथा दैनिक जीवनचर्यामा ध्यान नदिँदा स्वास्थ्यले साथ नदिन सक्छ । सप्ताहन्तमा खरानी रंगको पहिरनले थप आम्दानी गर्न सहयोग पुर्‍याउनेछ । 

तुला  

पुण्य आर्जनको काममा सरिक हुन पाइनेछ । साथीसङ्गीहरूसँगको भ्रमण, खानपान तथा फेसनमा केही खर्च गर्नुपर्ने हुन सक्छ । घरायसी सामग्री खरिदमा पारिवारिक मतान्तर देखा परे पनि खानपान, वस्त्र एवं आधुनिक उपकरणहरू खरिद गर्न मत मिल्नेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्दा आफैं पछि परिनेछ । विविध स्थानको यात्रा पनि हुनसक्छ । 

वृश्चिक

विदेशी पाहुनाले दिएको उपहार देखेर छरछिमेकहरूसमेत लोभिनेछन् । पारिवारिक जमघटमा तपाईंको मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुने सम्भावना छ । साथीहरूसँग रमाइलो गर्दै साता व्यतीत गर्न पाइनेछ । पारिवारका सदस्यहरूको संलग्नतामा भ्रमणसमेत हुनसक्छ ।

धनु  

सामाजिक तथा संस्कृतिक समारोहहरूमा सहभागी भइएला । विशिष्ट व्यक्तिहरूसँग परिचित हुन पाइनेछ । अपरिचित स्थान तथा राति यात्रा गर्दा सावधानी अपनाउनुहोला । साताको मध्यदेखि पारिवारिक वातावरणमा खुसी छाउनेछ । रुचिअनुरुप भोजन गर्दा स्वास्थ्य ठीक रहनेछ ।

मकर 

विपरीत लिंगी साथी चिढिने सम्भावना छ । सोमबारपछिका दिनमा धार्मिक भ्रमणमा संलग्न हुँदा आत्मविश्वास वृद्धि हुनेछ । मन लोभ्याउने पहिरन खरिद गर्ने क्रममा बढी मूल्य तिर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । मन मिल्ने साथीहरूबाट सामूहिक लगानीको प्रस्ताव अनुमोदन हुने सम्भावना छ । 

कुम्भ 

आतिथ्यपूर्ण सम्मानमा सरिक भइनेछ । प्रशस्त आम्दानी हुने कार्यमा सम्झौता गर्ने  समय नजिकिँदै छ । अपरिचित व्यक्तिबाट प्रेमको प्रस्ताव प्राप्त हुने सम्भावना टरेको छैन । अभिभावकहरूको सुझाव अनुरूप निणर्य गर्नुहोला । अपेक्षाभन्दा राम्रो आम्दानी छ । साताको अन्त्यमा पारिवारिक जमघटमा रमाउँदा अनावश्यक खर्च होला ।  

मीन 

पुराना साथीभाइसँग भेटघाट हुने संयोग जुर्नेछ । आकस्मिक रूपमा नगद तथा जिन्सी प्राप्त हुने सम्भावना छ । कम बोली धैर्यधारण गर्न सके धेरै कार्य सम्पन्न गर्न सकिनेछ । सञ्चित धन मनोरञ्जक कार्य तथा भ्रमणमा खर्च होला । अनावश्यक रूपमा साइनो गाँस्नेहरूबाट सजक रहनुमै कल्याण छ । 

 

प्रकाशित :आश्विन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्