महिनावारी हुनु भनेको एउटा सामान्य शारीरिक प्रक्रिया मात्र हो । शारीरिक रूपमा परिपक्वता आएपछि मुख्यतया: इस्ट्रोजेन र प्रोजेस्ट्रोन हार्मोनले गर्दा पाठेघरको भित्री तहमा आएको परिवर्तन तथा उक्त तह टुक्रिएका कारण महिनावारी हुन्छ । महिनावारी हुनुका पछाडि हाइपोथालामस, पिट्युटरी ग्रन्थि, अण्डाशय तथा पाठेघरको आ–आफ्नै किसिमको भूमिका हुन्छ, तर यो प्राकृतिक प्रक्रियालाई अपवित्र मान्ने गरिएको छ र महिनावारी भएको अवधिलाई ‘नछुने’ समेत भनिन्छ । समान्यत: यतिबेला कुनै पनि धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी नहुने तथा कसैलाई छुने चलन नभएको वा छोएको नचल्ने भएकाले पनि नछुने भनिएको हुनुपर्छ, जुन आफैंमा विवादास्पद छ ।
महिनावारी नियमित भएका महिलाहरूमा महिनावारी हुने मिति अनुमान गर्न सकिन्छ । यस्ता महिलाहरूको टीकाको शुभ साइतमा महिनावारी हुने सम्भावना रहेको अवस्थामा यसलाई केही दिन सार्न वा महिनावारी हुन रोक्न सकिन्छ । यो अवस्थामा महिनावारी हुने दिनभन्दा एक–दुई दिनअघि बजारमा उपलब्ध हुने प्रोजेस्टिन चक्की प्रयोग गर्न सकिन्छ । परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्की पिल्समा पनि इस्ट्रोजेन तथा प्रोजेस्ट्रोन हार्मोन हुन्छ ।
यस्ता चक्की नियमित रूपमा थोरै अवधि (दुई–चार दिन) मात्र प्रयोग गर्दा महिनावारी अनियमित हुने तथा अन्य गडबडी हुन सक्ने सम्भावना भएकाले औषधी प्रयोग गरेर महिनावारी सार्नु उपयुक्त होइन ।