वैशाख सकिनै लाग्दा बल्ल नयाँ भित्तेपात्रो गाउँमा आइपुग्थ्यो । वैशाख सुरु नहुँदै त पात्रो के छापिदो हो र ? मलाई त्यस्तो लाग्थ्यो । नयाँ वर्ष आउनुसँग कुनै रुचि थिएन । रुचि थियो त बरु नयाँ भित्तेपात्रो आउनुसँग थियो ।
‘काठमाडांै’ भन्ने नाम जानिसकेको थिएँ । यसोउसो गफमा यो नाम जोड्दा पनि अर्कै ऊर्जा आउँथ्यो मनमा । बरु ‘काठमाण्डु’ पो भनिए
हो † काठमाडौंलाई ‘घाटमाण्डु’ भनेर जान्न त ६ महिना काठमाण्डुको संगत जरुरी छ । त्यसपछि बल्ल यसको असली परिचय पाइन्छ ।
काठमाडौं पर रहेर ह्दयको आँखाले हेर्दा त कि पशुपति नै देखिन्छ कि स्वयम्भू नै देखिन्छ । ह्दयले मात्र देख्न सक्ने यति परको ठाउँबाट पात्रो आउन जाबो एक महिना त लाग्ने नै भयो ।
नयाँ भित्तेपात्रो कहाँ सबैको पहुँचमा हुनु र ? गाउँमा जस्ताले छोपेको घरमुनी कोही बस्थ्यो भने ती शिक्षकहरू नै हुन्थे । ती शिक्षकहरूकै घरमा झुन्डिन्थे नयाँ–नयाँ भित्तेपात्रोहरू पनि । भित्तेपात्रो झुन्डिने भित्ताहरू कति भाग्यमानी † अहो † कोठाका भित्ताहरूको गहना नै थिए ती पात्रोहरू । तर त्यसरी सरका घरहरूको भित्तामा मात्र झुन्डिने भित्तेपात्रोहरू पनि हाम्रो आँखाको पहुँचमा थिएनन् ।
आफूलाई पढाउने सरको घर अघिको बाटो भएर हिँड्न त मुटुको तौल बढाउनुपथ्र्यो झन् घरमा त के थिए, थिए । कोठामा त के थिए, थिए । भित्तामा त के थिए, थिए । लाग्थ्यो, बाघहरूसँग जम्काभेट होस्, सरहरूसँग नहोस् ।
भगवान्का तस्बिरहरू टाँसिएका ती पात्रोहरू पशुपतिबाटै आउँछन् जस्तो लाग्थ्यो । अलिक पछि जब छ–सात कक्षामा पढ्ने भइयो तब बाजे घर बस्दाका बखत हाम्रै घरमा पनि झुन्डिन थाले भित्तेपात्रोहरू । भित्तेपात्रोमा सेता दिनहरू त्यति प्रिय लाग्थेनन् । सेता दिनहरू दु:खका दिनहरू हुन् भन्ने लाग्थ्यो । ती सेता दिनहरू नै थिए काला दिनहरू । म पात्रोमा खोजी बस्थे राता दिनहरू ।
मलाई ती वर्षहरूमा थाहा भएन लगनका दिनहरू कुन–कुन हुन् ? कुन दिन कुन तिथि पर्छन् ? कुन दिन सराद्धे गर्छन् ? कुन दिन पूजा लगाउने ? कुन दिन लाखबत्ती बाल्छन् ? कुन चन्द्रमास ? कुन सूर्यमास् ? मलाई केही थाहा थिएन । बस्, केवल खोजी बसिन्थ्यो त तीज कहिले पर्छ ? कहाँनेर छ रातो दिन ? दसैंको पन्ध्र दिन भेटिने राता दिनहरू कता छन् ? तिहार भेटिने राता दिनहरू कता छन् ? राता दिन नै आफ्ना दिन हुन् भन्ने लाग्थ्यो ।
साउनको पहिलो हप्ता असारे खेत रोपिसकेपछि तीजको नाच सुरु हुन्थ्यो हाम्रो घरमा । मलाई आफ्नै घरमा नाच गर्न त्यति रुचि लाग्दैनथ्यो । घर भन्दा बाहिर जान नपाइने/नपर्ने तीज कसरी रमाइलो हुनु †
राति तीजको नाच हेर्न टाढाटाढा पुग्ने चलन थियो । टाढाटाढाबाट हाम्रो घरमा पनि झुम्मिन्थे मानिसहरू । मलाई खै किन हो त्यति निको लाग्दैनथ्यो । घरमै नाच परे पनि म भने केटाहरूसँग अरु गाउँमा पुग्थे नाच हेर्न ।
जाँड खानु, मात्नु, चुरोट तान्नु यी फेसन थिए । यस्तो फेसन गर्ने उपयुक्त थलो घर थिएन । घर बाहिरै धकेलिन्थे तीजको नाच पर्दाका रातहरू । ती अँध्यारोमा शो गर्ने फेसन थिए । तीनै अँध्यारा रातहरूसँगै हराए । त्यो फेसन जीवन शैली बनेन । जीवन नै अँध्यारोमा जानबाट जोगियो ।
तीजको नमिठो अर्को पक्ष त त्यो थियो नयाँ लुगा लगाउने हिसाबले तीज केटाहरूलाई आउँदैनथ्यो । तीज छोराहरूलाई आउँदैनथ्यो । दिदी र बहिनीलाई मात्र आउँथ्यो तीज । मलाई खुब ईष्र्या हुन्थ्यो उनीहरूको । लाग्थ्यो, कहिलेकाहीं त तीजभन्दा अघि दसैं आउनु नि †
चाडपर्वको मौसम सुरु हुनु नै गुच्चा खेल्ने मौसम सुरु हुनु थियो । तीजसम्म नगद चल्ने हाम्रो गुच्चा खेलाई त्यसपछि दसैंलाई अन्तिम भाका राखेर उधारो खेल चल्थ्यो ।
हामी तीजको केही दिनपछि गोठालो गएका थियौ । माधव दाजु, विष्णु दाजु र शुकदेव सोल्टी डुँडपाटानेर गुच्चा खेलिरहेका थिए । मैले चोटधारा पुच्छारबाट चिच्याएँ । कसैगरी मैले उनीहरूको प्रतिक्रिया पाइनँ । यसरी खेलमा मग्न थिए उनीहरू मैले कसैगरी उनीहरूको ध्यान खिच्न सकिनँ ।
अवाक् भएँ ।
केही बेरपछि सोचें । अब एउटा ढुंगा टिपेर नजिकैको पीपलबोटमा फ्ँयाक्नुपर्छ । कम्तीमा गाली त गरुन, तर बोलून् । ढुंगा टिपे र फ्ँयाके पनि । त्यो ढुंगाले पीपलबोट देखेन । दुई रोपनी क्षेत्रफल बढी ओगटेको पीपलबोट नदेख्ने ढुंगाले शुकदेव सोल्टीको टाउको देखेछ । सोल्टी चिच्याउन थाले । तीन जनाको ६ वटा हातले सोल्टीको टाउको च्याप्न थाले उनीहरू । मेरो होस उड्यो ।
अब मलाई उनीहरूको आवाज सुन्नु थिएन । गाली सुन्नु थिएन ।
चोटधाराको त्यो पुच्छारबाट सिधै झरे दुई मिनेट लाग्दैन । त्यो छोंटो बाटोले मलाई काम नदिने भयो । म जंगलैजंगल हुँदै कुलाबाँद पुगे । करिब बीस मिनेटपछि म उनीहरू भएको ठाउँमा आएँ । मैले केही जुक्ति लगाएँ । पहिलो, मैले ढुंगाले हानेको होइन भन्नेछु । दोस्रो, सोल्टीलाई दसैंमा तिर्ने गरी लगाएको पैंतीस रुपैयाँ उधारो चुक्ता गरिदिनेछु तर एउटा सर्त रहनेछ, कसैलाई भन्न पाइनेछैन । जब त्यहाँ पुगे उनीहरू चुपचाप बसेका थिए ।
‘मैले हानेको होइन है ।’ उनीहरू केही नबोल्दै म बोलिहालेछु । झुट लुकाउन पहिल्यै मैले सत्य ओकलें ।
सोल्टी मभन्दा बलिया थिए । म भन्दा एक महिना कान्छा उनी एक बर्ष जेठा जस्ता लाग्थे । उधारो पैंतीस रुप्पेले धन्न कमजोर बनायो उनलाई । मैले सरी भने । पंैतीस रुप्पे चुक्ता गरिदिए । उनी पनि गदगद । म पनि गदगद ।
एस.एल.सी. नसकुन्जेलसम्म कहिल्यै दसैंमा आफैंले छानेर नयाँ कपडा लगाउन पाइएन । सधै पन्जावबाट आउने नयाँ कपडाले दसैं धकेलियो । मेरो विद्यालय जीवनभर दसैंमा बुवा कहिल्यै घरमा भएको याद छैन । आजकाल आफैं जागिरे भएपछि बल्ल बुझ्न थालेको छु त्यसको कारण ।
म १३–१४ वर्षको हुँदो हुँ । त्यसै पनि बढ्ने उमेर । शरीरलाई फिट हुने कपडा कहिल्यै शरीरले ओड्न पाएन ।
दसैं आउनु केही अघि पन्जावबाट मलाई नयाँ कपडा आउने भए । गाउँको एक दाजुले बुवासँग गफ चुटेछन् । ‘घने त तपाईं आउनुभन्दा एक भित्ता अग्लो भा’को छ ।’ बुवा खुसीले गदगद भएर अर्को साल फेरी एक भित्ता बढ्छ भन्ने सोचेर त्यही अनुसार जिन्स पाइन्ट र जुत्ता किन्नुभएछ । दसैं मान्न घर आउने लाहुरेले कपडा ल्याएर दिए ।
हत्तेरिका † यसो हेर्छु त दुईटै खुट्टा एउटै जुत्तामा अट्ने जत्रा जुत्ता छन् । पाइन्टको पनि एकैतिर दुई खुट्टा अट्छन् । कपडा नयाँ भएर के गर्नु † ठीक भएनन् । खुब मुर्मुरिएँ म, रिसाएँ । दसैं नआइदिए हुन्थ्यो भन्ठाने म । वैशाखदेखि पर्खिएको दसैं नवदुर्गा सुरु भएपछि नआए हुन्थ्यो भन्ने लाग्यो ।
अष्टमी आयो । म त्यो पाइन्ट र जुत्ता लगाएर खुंग्रीमा लाग्ने मेला हेर्न जान सकिन ।
नवमी, गाउँमाथि कोटघरमा मेला लाग्ने दिन । मन कहाँ मान्थ्यो । आमाले भन्नुभयो, ‘तेरा जुत्ताभित्रका खुट्टा कत्रा छन् भन्ने कस्ले देख्छ ? पाइन्ट फर्काएर लगा अनि मिल्छ नि †’ मैले त्यसै गरें ।
मेड्डीजस्तो पाइन्ट लगाएँ । लुरे थिएँ म । खुट्टा कहाँ नाच्छन्, पाइन्ट कता नाच्छ पत्तै भएन । जुतामा खुट्टा कता छन्, त्यो पनि पत्तो थिएन ।
कोही हाँसे पनि मलाई नै हेरेर पो हाँसे कि लाग्न थाल्यो । मान्छेले कुरा गरेको देखे पनि मेरै कुरा पो गरिरहेका छन् कि भन्ने लाग्यो । मैले घरीघरी आफैंलाई हेरिरहे ।
मानिसहरू जम्मा हुने भीडमा भन्दा पनि गुच्चा खेल्ने साथीहरूसँग नवमी बिताए । उनीहरूसँग गफ चुटे, ‘पाइन्ट भनेपछि यस्तो हुनुपर्छ । एक किलो चिनी अट्ने खल्ती छ । जाबा ढ्याकहरू जति पनि अट्छन् । छ तिमोर्को ? ठूला लुगा लगाएपछि छिटो ठूलो भइन्छ ।’