दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै विवाह गरेपनि पछि उनले दाइजोमा ५० हजार नगद तथा मोटरसाइकल माग गर्न थाले । विवाहपछि अक्षय र गीता कर्जन्हा नगरपालिका–२ मा डेरा गरी बस्न थाले । २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए । घर फर्कने क्रममा कर्जन्हा–४ स्थित भेडवा खोलामा गीताको हत्या भएको थियो । उनको शव घाँटी ब्लेडले काटिएको अवस्थामा फेला परेको थियो ।
सुखिपुर नगरपालिका ७ की २३ वर्षीया मन्जु राय राजेश पासवानको मायाजालमा परिन् । ती दुईको मायाप्रेम तीन वर्ष जति चल्यो । जब मन्जु राजेशको प्रेममा हराउन थालिन् अनि राजेशले आफू राजेश पासवान नभै इलियास मियाँ भएको रहस्य खोले ।
राजेशको नामबाट तीनवर्षसम्म सँगै उठबस भैसकेकाले मन्जुले राजेश नभै इलियास भएपनि उनलाई सहर्ष स्वीकार गरिन् । इलियास पनि मन्जुलाई श्रीमतीका रुपमा स्वीकार गर्दै गोलबजार नगरपालिका–६ का नरेन्द्र झाको घरमा डेरा गरी बस्न थाले । दुवैको शारीरिक सम्पर्कबाट एक बालिकाको जन्म भयो । इलियासले ती बालिका आफ्नो नभएको विवाद गर्न थाले । त्यही विषयमा उनीहरूबीच विवाद बढ्दै गयो । विवादले इलियास मादक पदार्थ पनि सेवन गर्न थाले ।
२०७५ फागुन २० गते राति डेरामा ४ महिनाकी बालिका रुन थालिन् । बालिका रुन नछाडेपछि घरधनीले प्रहरीलाई खबर गरे । विहान २:३० मा प्रहरी पुग्दा बच्चा रोइरहे पनि साथैमा सुतेकी मन्जु मृत भेटिइन । मृत शरीरमा कुनै चोटपटक नदेखेपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठायो ।
घटनापछि इलियासले सासुलाई मन्जुको मृत्यु भएको खबर सुनाएका थिए । आत्महत्या गरेको हुन सक्ने भन्दै इलियास पक्राउ पर्नबाट जोगिए । पछि पोस्टमार्टम रिपोर्टमा आत्महत्या वा विष सेवन गरेको नदेखिएपछि प्रहरी अनुसन्धान पति इलियासतर्फ सोझियो । मन्जुसँग प्रेम गर्दा राजेश पासवान भनेर ठगेका इलियासले नै मन्जुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो । प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
‘पोस्टमार्टम रिपोर्टका आधारमा हामीले मन्जुका पति इलियासलाई नियन्त्रणमा लियौं,’ सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले भने ‘सोधपुछका क्रममा नाम–थर ठगेर मन्जुलाई मायाजालमा पारेको रहस्य खुल्यो, अनुसन्धान गर्दै जाँदा इलियासले हत्या स्वीकार गरे ।’
ब्लेडले घाँटी रेटेर हत्या
दुई वर्षअघि पति सत्य नारायण यादवको हत्या भएपछि सिरहा कल्याणपुर नगरपालिका–४ की २५ वर्षीया गीतादेवीले देवर अक्षय कुमारसँग २०६६ सालमा सामाजिक रीतिरिवाजअनुसार विवाह गरिन् । बालबच्चा नजन्मिदै पति सत्यनारायणको हत्या भएपछि अक्षयले सहमतिमैं भाउजु गीतालाई स्वीकार गर्दै उनीसँग विवाह गरे, तर चार वर्ष नबित्दै गीताको पनि हत्या भयो । घटनाको ६ वर्षपछि गीताको हत्या अक्षयले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै विवाह गरेपनि पछि उनले दाइजोमा ५० हजार नगद तथा मोटरसाइकल माग गर्न थाले । विवाहपछि अक्षय र गीता कर्जन्हा नगरपालिका–२ मा डेरा गरी बस्न थाले । २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए । घर फर्कने क्रममा कर्जन्हा–४ स्थित भेडवा खोलामा गीताको हत्या भएको थियो । उनको शव ब्लेडले घाँटी काटिएको अवस्थामा फेला परेको थियो ।
गीतादेवीको शव नजिकैं माओवादीको नाममा हिन्दीमा लेखिएको ‘हमारा सूचना’ भन्ने पर्चा फेला परेको थियो । घटना अन्तै मोड्न र आफू जोगिन अक्षयले त्यो पर्चा आफैंले लेखेर घटनास्थलमा छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अक्षयले दाइजो नदिएकै कारण गीताको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।
‘गीताको शव नजिकैं भेटिएको पर्चाबाट अनुसन्धान थाल्यौं । पर्चामा लेखिएको अक्षर तथा प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष लेखेको नमूना अक्षर प्राविधिक परीक्षणका लागि केन्द्रीय विधि विधान प्रयोगशालामा पठायौं’ चतुर्वेदीले भने ‘हस्तलिपि मेल खाएको प्रतिवेदन आधारमा अक्षयलाई घटनाको ६ वर्षपछि पक्राउ गर्न सफल भयौं ।’ घटनापछि विदेश गएका अक्षयका ११ वर्षीय छोरा छन् ।
पतिबाटै महिला असुरक्षित
महिलामाथि पति तथा सासू–ससुराको व्यवहार एवं बुहारीलाई हेर्ने दृष्टिकोण, सामाजिक, पारिवारिकसँगै घरायसी उल्झनका कारण महिलाहरू घरपरिवारबाटै असुरक्षित छन् । त्यसमध्ये पतिबाटै असुरक्षित हुँदा सिरहामा महिला हत्या घटना डरलाग्दो रूपमा बढेको छ । महिलाहरू असुरक्षित हुनुमा पारिवारिक विवादसँगै ‘दहेज’ मूख्य कारक बनेको छ ।
सिरहा प्रहरीले हत्या घटनाको अनुसन्धान दायरालाई बढाएर अपराधी पक्राउलाई तिब्रता दिएपछि महिलाहरू पतिबाटै असुरक्षित भएको रहस्योदघाट्न भएको हो । गत वैशाख ३ गते सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित बस्तीपुरमा २९ वर्षीया रीता यादवको मृत्यु उनकै घरमा भयो । पाँचवर्षीया छोरीकी आमा रीता तथा उनका पति चन्देश्वरबीच छोरा नपाएको निहुँमा पटक–पटक खटपट हुने गरेको र सोही विषयमा चन्देश्वरले रीताको घाँटी थिचेर हत्या गरेको हुनसक्ने गाइँगुई चलेपछि प्रहरीले पति चन्देश्वरलाई पक्राउ गर्यो ।
यसअघि पनि कल्याणपुर नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनकै पति बेचन मण्डलले गत वैशाख १३ गते आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेकी कञ्चनको भोलिपल्ट मृत्यु भएको थियो । गत वैशाख १९ गते घरभित्रै सुतेको अवस्थामा सिरहा नगरपालिका–१४ स्थित खिरौनाकी २१ वर्षीया मनिषा कुमारी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् ।
गीता, मन्जु, रीता, कञ्चन तथा मनिषा हत्या घटनाले महिलाहरू घरपरिवार एवं पतिबाटै असुरक्षित भएको पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १७ वटा हत्या भएका छन् । त्यसैगरी आव २०७४/०७५ मा २२, २०७५/०७६ मा २४ र यो आर्थिक वर्षको दुई महिना अवधिमा एउटा कर्तव्य ज्यानको घटना भएको छ ।
धमाधम पक्राउ
प्रहरीले हत्याका आरोपीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले अनुसन्धान दायरालाई फराकिलो पारी अपराधी पक्राउलाई तीव्रता दिएको हो, जसको परिणाम १० वर्षअघि पत्नी हत्या घटनामा संलग्न अक्षय र इलियास पक्राउ पर्नु हो । चतुर्वेदीले कुनै पनि अपराधमा संलग्न अपराधीलाई कानुनी दायराबाट उम्कन नदिन अनुसन्धानको दायरालाई फराकिलो पारिएको जानकारी दिए ।
अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याउन नसक्ने हो भने समाजमा दण्डहिनता मौलाउँदै जाने भएकाले समाजमा व्याप्त अपराधलाई नियन्त्रण गर्न घटनाको प्रभावकारी अनुसन्धान हुन जरुरी रहेको अधिकारकर्मी राजकुमार राउत कुर्मी बताउँछन् । कुर्मीले घटनामा संलग्नहरूको पहिचान गरी कारवाही गर्न जरुरी रहेको कुरा बताए ।