साप्ताहिक संवाददाता
एयरफोन लाएर मेटा–म्युजिकको समेत मज्जा लिइरहेको एउटा जेनेरेसन तपाईं जहीं–तहीं देख्नुहुन्छ । अप्राप्ति, स्वप्नान्त्य, निरुत्साह आदिले चरम डिप्रेसनमा गुज्रँदै गरेको एउटा पुस्ता समाजको सब थोकसित वितृष्णा पालिरहेको छ । एटम–बमको विम्ब घनीभूत सवार छ तिनमा । आइ हेट पोलिटिक्सको नीतिकथा उनीहरूको आफ्नै पाराको छ । ज्याज, ब्लुज, पप, हिप–प, र्याप यी सबमा उनीहरू आफ्नो कुण्ठा व्यक्त गरिरहेका छन् । स्वाभाविक रूपमा ती कुण्ठाहरू भद्दा लाग्ने खालका पनि छन् । हाम्रो सोझो अर्थमा अश्लील पनि होलान्, छन् । हो, यसैको प्रतिविम्बमा आएका हुन् दुर्गेश, भिटेनहरूका अभिव्यक्ति । एक पिर्का नै सही, हाम्रो समाजको थेत्तरो मनोविज्ञान भने अवश्य हुन् तिनका भाव । तब, समाजमा भुसको आगो त सल्किरहेकै छ । घरिघरि झिल्को उठ्छ । यस्तै झिल्कोलाई उदाहरण लिने हो । यस्तो बेला नै सोच्ने हो, चिन्तन गर्ने हो । कोरा आदर्शले स्वैर–शासन त गरिएला । सबैलाई परम्परागत शासकीय मानकको चौघेराभित्र त बाँधिएला, तर तपाईं शासकीय शानको अधिनायक लादिरहने, शासितहरूले तपाईंको भजन गाइरहनुपर्ने ? यस्तो त हुँदैन । केवल आक्रोश मात्रै, आवेग मात्रै ठान्ने हो भने त के बहस हुन्छ ? तर्कहीन तर्क त जसै उठ्लान् । प्रतिरोधका भाषाहरूलाई गम्भीर भएर चिन्नु र खुट्याउनुपर्ने हुन्छ । झट्ट हेर्दा, सुन्दा शब्द प्रयोगमा देखिने भद्दापना कतै प्रतिरोधी चेत, आलोचनात्मक चेतले पो आएका छन् कि भन्ने पनि निफन्नुपर्छ । सिर्जनशील युवाशक्तिलाई चौबर ब्याजको औंठाछाप लगाउँदै विदेशिन बाध्य पार्ने अनि देश फर्क युवा, देश फर्क भन्दै स्याड सङको आलाप गाउने कुरा झनै घिनौना हुन्छ । पहिले समाजका वर्ग–विभेदका जराहरू खोजौं । हुने खाने र हुँदा खानेहरूको असमानताको अन्त्यका लागि अभियान थालौं । सुरुमै गरिबहरूका लागि एउटा शिक्षा र धनीहरूका लागि छुट्टै शिक्षाको भेद तयार गर्ने, स्वास्थ्यमा उही दलालीलाई अझ भाउ दिने अनि त्यसैबाट उम्रेका वितृष्णाका स्वरहरूलाई अराजकताको ट्याग लगाउने काम झनै कति छाडा छ । सभ्य समाजको तीव्र चाह जोसुकैमा हुन्छ, त्यसको व्यवस्थापन गर्नु सुन्दर कुरा हो, तर व्यवस्थापन पहिले कणहरूबाटै सुरु गरौं न, कल्ले रोकेको छ ? असांस्कृतिक बन्ने भन्दा असांस्कृतिक बनाउनेहरूलाई पहिले सुधार्ने हो । यस्तो असांस्कृतिक बनाउने पद्धतिलाई नष्ट गरुन् त, त्यसपछि दुर्गेश, भिटेनहरूले तपाईंले सोचेभन्दा श्लील अभिव्यक्ति दिन थालिहाल्नेछन् ।
राजन मुकारुङ
अरूलाई अश्लील करार गर्ने सरकार आफ्नो राजनीतिक अश्लीलता छोप्न सर्जकहरूलाई जिस्क्याइरहेको छ । सिर्जनाका बहुआयामिक धार हुन्छन्, जसका श्रोता–दर्शक फरक हुन्छन् भनेर नबुझ्नु जत्तिको अज्ञानता अरु के होला ? आफू असफल हुन थालेपछि मुद्दाहरूलाई डाइभर्ट गर्दै जानु अधिनायक राज्यको चरित्र हो ।
फणीन्द्र संगम
सरकार : दुर्गेश, भिटेनका गीतहरू परिवारसँग बसेर सुन्न सक्नुहुन्छ ? त्यसैले समातेको । जनता : नेताहरूले गरेको भ्रष्टाचार, अपराध र दलाली अनि बाँडेका झूटा आश्वासनहरू परिवारसँगै बसेर सुन्न र हेर्न सकेका छैनौं । तिनीहरूलाई पनि समातेर खोरमा हाल्न सक्छौ ? सबैलाई बराबर हुनुपर्छ महोदय ।
सुमन काफ्ले
यदि केपी ओली सरकार पहिले नै आउँथ्यो भने केस नं.४२० गाउने लाहुरे पनि जेल जान्थ्यो यार †
योगेन्द्र कार्की
गीत–संगीत भनेको पशुपतिमा पुजारीले वाचन गर्ने भागवत्–गीताजस्तो सु–सांस्कृतिक हुँदैन । गीत–संगीत भनेको सिर्जनाको स्वच्छन्दता पनि हो । यस्तो सिर्जनात्मक स्वच्छन्दता कहिलेकाहीं अराजक रूपमा उपस्थित हुन सक्छ । सस्तो लोकप्रियताका लागि र्यापर भिटेन लगायतमाथि प्रहरीको हस्तक्षेप हास्यास्पद छ ।
दिल निशानी मगर
हरेक गीत सरकारलाई मन पर्नैपर्छ भन्ने छैन । गीत मन परेन भने कान थुन्ने हो, गायक होइन ।
रवि मिश्र
कुनै दिन सरकारका प्रवक्ताले भन्न सक्छन्—‘रेस्टुरेन्ट/बारमा रक्सी बेच्नी ? डिस्को/क्लबमा नाच्नी ? केटी भएर ब्वाइज कट काट्नी ? सरकारलाई हेप्नी ? सक्कली वर्दी लगाएर नक्कली इन्काउन्टर गरी फुली बढाउनेलाई छोडेर नक्कली वर्दी लगाएका र्यापरलाई समात्नी ? जनतालाई हेप्नी ?
रवि लामिछाने
एउटा डान्सबारमा सबै परिवारसहित गएर खाना खान सकिन्छ, त्यहाँ जाने–नजाने त्यो परिवारको निर्णय हो । त्यस्तै गीत–संगीत सुन्ने निर्णय पनि आफ्नो हुनुपर्छ, प्रतिबन्ध नै लगाउने हो भने सबैमाथि लगाउनुपर्छ, एउटामाथि मात्र नियम थोपर्नु हुँदैन ।
प्रकाश पौडेल
भिटेनलाई पक्राउ गरी सरकारले सिर्जनात्मक अभिव्यक्ति/स्वतन्त्रतामाथि लगाम लाउने नौंटंकी नगरे हुने । लाग्छ, सरकार स्वयं नाङ्गो नाचका लागि तल्लीन छ । संगीतको हरेक विधाको आ–आफ्नै स्वाद, विशेषता र विशिष्टता हुन्छ । भिटेनबाट भजन–कीर्तनको अपेक्षा राख्नु र नारायण गोपालबाट ह्याभी मेटलको अपेक्षा राख्नु उस्तै–उस्तै हो नानू † सरकारले पक्राउ गर्नुपर्ने व्यक्तिहरू र प्राथमिकता अरू धेरै छन् । जीरा धनियाँमा किन अल्झिरा ? हामी यस्तै त हो नि ब्रो ।
नोर्गेन नोर्बू
सरकारका सबै काम, पुलिसको सबै ड्युटी सकिएको र बचेखुचेका अपराधी र समाजका दुस्मन गायकहरू पक्राउ परी देशमा नैतिकताको धान झुलेकोमा सबैलाई बधाई ।
यज्ञश
र्यापमा माधव घिमिरेको अलंकार खोजेर हुँदैन । र्याप संगीतको जनरा बुझेमात्र भिटेनलाई बुझ्न सकिन्छ । संस्कृतिका ठेकेदारहरूले के बुझ्न जरुरी छ भने र्यापरलाई थुनेर समाज स्वच्छ हुँदैन । हाम्रो समाज र सत्ताको खराबी अरु ठाउँमा छ ।
नारायण अमृत