घरमा पालेको कुखुराले सानो अन्डा पार्दा प्रहरी खोरसम्म पुग्नुपर्ला भन्ने कल्पना कसले गर्ला ? यद्यपि उत्तरी धादिङको खनियावास–२, कलङम्रङ झार्लाङका एक बासिन्दा अफवाह उडाएर समाजमा आतंक फैलाएको आरोपमा प्रहरी खोरमा पुगेका छन् ।
गत शनिबार झार्लाङ कलङम्रङका सोमबहादुर तामाङले पालेको कुखुराको खोरमा सधैंको भन्दा निकै सानो अन्डा भेटिएको थियो । कुखुराले पारेको अन्डा सानो भएपछि सोमबहादुरले छिमेकीलाई देखाए । यसरी अन्डा देखाउने क्रममा सोमबहादुरको कुखुराको खोरमा भेटिएको अन्डा भाले कुखुराले पारेको हो भन्ने निष्कर्षसहित हल्ला फैलियो ।
कतिपयले त उक्त अन्डाको मूल्य नै १ करोडभन्दा बढी पर्ने दाबी गर्न थाले । धेरै मूल्य पाउने कुरा सुनेपछि सोमबहादुरले उक्त अन्डा लुकाए, तर लुकाएको पर्सिपल्ट अन्डा गायब भएपछि उत्पन्न परिस्थितिले सोमबहादुरलाई प्रहरी खोरमा पुर्याएको छ ।
कसरी पुगे प्रहरी हिरासतमा ?
सोमबहादुरले छिमेकीलाई आफ्नो कुखुराले पारेको अन्डा देखाउँदा भालेको अन्डा सानो हुने र त्यो अन्डा बहुमूल्य हुने कुरा सुने । गाउँमा त्यो अन्डा १ करोडभन्दा बढीमा बिक्री हुन्छ भन्ने कुरा सुनेपछि दंगदास परेका सोमबहादुरले अन्डाको फोटो खिचे र घरभित्र रहेको अन्नको भकारीमा उक्त अन्डा लुकाए । त्यसपछि उनले सदरमुकाममा भएका आफन्तहरूकहाँ भालेले पारेको अन्डा आफूसँग भएको र ग्राहक खोजिदिन खबर पठाए । दुई दिनपछि भकारीमा हेर्दा अन्डा लुकाएको ठाउँमा फेला परेन ।
लुकाएको ठाउँबाट अन्डा हराएपछि उनले आफूले विश्वास गरेका लामा झाँक्री (गजबहादुर लामा) लाई हेराए । लामा झाँक्री गजबहादुरले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले अन्डा चोरेर चितवन पठाइदिएको जोखना हेरे । यता झाँक्रीले अन्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरका साला पर्ने मंगबहादुर तामाङबीच अन्डा चोरीको विषयमा सदरमुकामको एक होटलमा भनाभन भयो । उक्त झगडापछि मात्र ‘भालेको अन्डा काण्ड’मा प्रहरीको प्रवेश भयो ।
झगडा भएपछि चोरीको आरोप लागेका व्यक्तिले आफ्नो मानहानि भएको तथा आफ्नो अपमान गरिएको भन्दै लामाले झाँक्री गजबहादुर र सोमबहादुरविरुद्ध उजुरी दिएपछि प्रहरीले लामा झाँक्री र सोमबहादुर
दुवै जनालाई पक्राउ गरेर हिरासतमा राख्यो ।
प्रहरी हिरासतमा रहेका सोमबहादुरले भने आफूलाई प्रहरीले किन र के कारण हिरासतमा लिएको हो भन्ने विषयमा आफूलाई केही थाहा नभएको कुरा बताएका छन् । उनले भने, ‘मेरो घरको कुखुराले सानो अन्डा पारेको साँचो हो, तर यो अन्डाको विषयमा कोही कसैसँग केही कुरा भएकै छैन । मैले लामालाई पनि आफ्नो परिवारको आखत (जोखना) मात्र देखाएको हुँ, अन्डाका बारेमा केही
भएकै छैन ।’
प्रहरी हिरासतमै रहेका झाँक्री गजबहादुर लामाले पनि आफूले कसैलाई पनि अन्डाचोरको दोष नलगाएको दाबी गरेका छन् । लामाले भने, ‘सोमबहादुर म भए ठाउँमा आउनुभएको हो, उहाँको परिवारका बारेमा आखत (जोखना) हेरेको हो, मैले कसैलाई दोष लगाएको छैन ।’
प्रहरी हिरासतमा रहेका उनीहरू दुवैलाई जिल्ला अदालत धादिङमा पेस गरेर म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए । उनले भने, ‘गाउँमा अनावश्यक अफवाह हल्ला फैलाई गाउँ समाज अशान्त बनाउने, अन्डा किन्ने र बेच्ने बहानामा गाउँलेहरूबीच झगडा उत्पन्न गराएको आरोपमा नियन्त्रणमा लिएका छौं ।’ जिल्ला प्रहरी प्रमुख बैदवारका अनुसार सोमबहादुर तथा लामा झाँक्री दुवैविरुद्ध अभद्र व्यवहारअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।