लामो समयदेखि अवैध औषधी बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ चलाएको आरोपमा पक्राउ परेका चार जनालाई बर्दिया प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका—३ कि आशा थारु, बारबर्दिया नगरपालिका—७ का दीपक चौधरी, गुलरिया नगरपालिका—५ का हिमाल भनिने प्रजय चौधरी तथा गुलरिया नगरपालिका—४ का विवेक थारु छन् । यसका मुख्य नाइके नेपाली नागरिक कैलाली टीकापुर—१ का अन्दाजी २६ वर्षका साजन चौधरी भारतमा छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर आदेश जारी गरेको छ ।
नेपालमा प्रतिबन्धित ओरियन्स कम्पनीले औषधी बिक्री गर्न बर्दियाका गरिब, अशिक्षित तथा सोझा युवायुवतीहरूलाई नेपाली एजेन्टमार्फत सदस्यता वितरण गरेको थियो । ओरियन्सले पश्चिम तराईको बर्दिया, कैलालीदेखि कञ्चनपुरसम्म अवैद्य रूपमा ठूलो संख्यामा सदस्य बनाई ठगी गरिरहेको प्रहरीले जनाएको छ । भारत उत्तरप्रदेश राज्यको लखिमपुरस्थित उक्त कम्पनीको सदस्य बन्न ६० हजार भारु शुल्क दिनुपर्ने हुन्छ । कुनै व्यक्ति सदस्य बनेपछि उसले थप दुई जनालाई सदस्य बनाउनुपर्ने भएकाले सयांै युवायुवती ठगिँदै गएको प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए ।
प्रहरी कार्यालयमा करिब सय जनाले आफू ठगिएको उजुरी दिएका छन् । ठूलो संख्यामा ठगिएका व्यक्तिहरूले उजुरी दिन थालेको प्रहरी उपरिक्षक बास्तोलाले बताए । यसको कारोबार फैलिए पनि कति सदस्य भैसकेका छन् भन्ने तथ्याङ्क कसैसँग छैन । नेपालमा प्रतिबन्धित उक्त नेटवर्किङको व्यवसाय तराईका २२ जिल्ला तथा पहाडका अधिकांश ठाउँमा विस्तार भैसकेको प्रहरीको ठम्याइँ छ । प्रतिबन्धित बहुराष्ट्रिय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङले सिंगापुर, फिलिपिन्स, भुटान, यूएई, थाईल्याण्ड, मलेसिया, श्रीलंकासँगै नेपालमा पनि गैरकानुनी रूपमा व्यवसाय विस्तार गरेको आरोप छ ।
यसको प्रधान कार्यालय, भारतको चेन्नई, शाखा दिल्ली तथा सीमावर्ती लखिमपुरमा नेचुरेल वेल इन्टरप्राइजेज नामक उपशाखा छ । पक्राउ परेकाहरूले दिएको बयान अनुसार उक्त संस्थाको सदस्य बन्न २ हजार तिर्नुपर्छ । सदस्यता लिएकाहरूलाई चार दिनको प्रशिक्षण दिइन्छ र पॉचांै दिनमा ग्राहकसँग बोल्न सक्छ कि सक्दैन भनी सामान्य परीक्षा लिइन्छ । उनीहरूले २ जनालाई अनिवार्य सदस्य बनाउनुपर्छ ।
यो नेटवर्किङ व्यापारमा एउटा समूह बन्न ३ जनाको आवश्यकता हुन्छ । जति सदस्य बनायो उतिनै ठूलो पद र कमिसन पाउने प्रलोभन दिने गरिएको बयान हिरासतमा लिइएकाहरूको छ । राजापुर नगरपालिका—३ कि मुक्तकमलरी सविता राजवंशीले सदस्यता लिएबापत ६० हजार भारु बुझाएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् । उनले आफू ठगिएकाले कारबाहीका लागि सदस्यता बनाउनेहरू विरुद्ध उजुरी दिएको कुरा बताउँदै भनिन्– गरिब परिवारका सोझा बिरामीलाई औषधी बेच्ने लक्ष्य बनाएर सदस्य बनाई ठग्ने काम भएको छ । सदस्य बनाएको रकम असुल्न भारतीय तथा नेपाली एजेन्टहरू बेला–बेलामा गाउँ छिर्ने गरेका छन् । अधिकांश सदस्य ग्रामीण क्षेत्रका भएका कारण उनीहरू प्रहरी निगरानी भन्दा टाढै भएकाले छल्दै आउजाउ गर्ने राजापुर—५ कि पहरी थारुले बताइन् ।
हरेक रोगको उपचार ६० हजार रुपैयाँमा जिन्दगीभर हुने भन्दै रकम लगेको पीडितहरूले दिएको उजुरीमा उल्लेख छ । सदस्य बनाए बापत कमिशन पनि नदिने र औषधी भने बढीमा २ हजार रुपैयाँसम्मको दिएर पठाउने गरिएको पीडितहरूले दाबी गरेका छन् ।
कम्पनीको सदस्य बनाए बापत बसीबसी तलव खाने र औषधी उपचार नि:शुल्क पाइने भन्दै उक्त नेटवर्किङले धेरै एकपछि अर्को गरी ठग्दै आएको बताइन्छ । प्रहरीका अनुसार यो नेटवर्किङमा लागेका १८ देखि ३० वर्षसम्मकाले ऋण काढेर सदस्यता लिएका छन् । राजापुर—५ कि विमला कुमारी थारुले ६० हजार भारु शुल्क बुझाएपछि नेपालमा थप सदस्य बनाउन लखिमपुर(भारत)मा चार दिनको प्रशिक्षण लिएको बताइन् । पछि आफू ठगिएको थाहा पाएपछि अरू पनि ठगिनबाट बचुन भनेर ठगी गर्नेहरू विरुद्ध प्रहरी कहॉ उजुरी दिएको उनले खुलाइन् । नेटवर्किङ ठगी प्रमाणित भए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३ (ग) बमोजिम सात वर्ष सम्म कैद तथा ७० हजार जरिवाना हुने प्रावधान छ ।