साप्ताहिक संवाददाता
पढाइ भन्ने कुरा सजिलो छैन । अझ परीक्षाको अगाडि केही आएन भने त्यो विद्यार्थीको मानसिक अवस्था नै नाजुक बन्न पुग्छ । परीक्षामा उत्तर आएन र जाँच बिग्रियो भने करिअर चौपट हुने डरमा धेरै विद्यार्थी पर्न थालेपछि नेदरल्यान्डको एक युनिभर्सिटीले नयाँ उपाय अगाडि ल्याएको छ ।
आफ्नो युनिभर्सिटीका विद्यार्थीहरू परीक्षासँग डराउन थालेको कुरा थाहा पाएपछि विश्वविद्यालयले एउटा चिहानको निर्माण गरेको छ । उक्त चिहानमा मरेको मान्छे जसरी केही बेर सुतेपछि उनीहरूमा परीक्षाको डर कम भएको पाइयो ।
नेदरल्यान्डको र्याडबोड युनिभर्सिटीले ल्याएको चिहान ध्यानको यो उपाय धेरै विद्यार्थीले रुचाउन थालेका छन् । केही समय चिहान बनाउन तयार पारिएको खाल्डोमा उत्तानो सुतेर ध्यान गरेपछि उनीहरूमा परीक्षाको तनाव कम भएको पाइएको थियो, जसका कारण अहिले विद्यार्थीले चिहानमा गएर सुत्न अग्रिम रूपमा समय लिनुपर्ने भएको छ ।