नेपालको चलचित्र उद्योगले बिस्तारै लय समात्दैछ । डेढ देखि दुई करोड खन्याएर १०–१५ करोडसम्म आम्दानी हुने भएपछि धेरै निर्माता तथा निर्देशक यो क्षेत्रमा आकर्षिक बन्दै गएका छन् । भलै, ७५ प्रतिशतको हाराहारी चलचित्र डुबेका छन् । किन ? यसका पनि केहि कारण छन् । अहिले ति कारणका पछाडी नजाऔं ।
निर्देशक–निर्माता मात्रै होइन, चलचित्र क्षेत्रमा अभिनय मार्फत करिअर बनाउन खोज्नेको जमात पनि बाक्लो छ । तर, सबै कलाकारलाई भाग्यले साथ दिइरहेको छैन ।
हिट भनिएका केहि कलाकारलाई अभिनयका लागी भ्याईनभ्याई जस्तै छ, धेरै कलाकार फुर्सदिला छन् । फुर्सदिला कलाकार दिनभर घाम ताप्ने, साथिभाईहरुसँग गफगाफ गर्ने, लुडो खेलेर दिन बिताएका छन् । कतिपय काम नपाएपछि विदेश पलायन भएका छन् । तर, कतिपय कलाकारहरु काम पाएपनि नपाएपनि सक्रिय छन् । कतिपय भने व्यापार–व्यवसायमा पनि आवद्ध भएका छन् ।
अभिनय र सुन्दरताका कारण सधै चर्चामा रहने व्यस्त अभिनेत्री हुन् नम्रता श्रेष्ठ । दर्जन भन्दा धेरै हिट चलचित्र दिइसकेकी उनलाई दर्शकले निकै साथ दिए । प्रति चलचित्र १५ लाखसम्म पारिश्रमिक बुझ्ने उनले काम गर्ने इच्छा व्यक्त गर्नेहो भने जतिपनि चलचित्र पाउँछिन् । तर, जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्दिनन् । उनलाई चलचित्रमा काम गराउनका लागी जस्तोसुकै निर्माता–निर्देशकले हिम्मत गर्दैनन् ।
उनै नम्रता चलचित्र क्षेत्र बाहेक रेष्टुरा व्यवसायमा समेत आवद्ध छिन् । रेष्टुरा व्यवसायसँग जोडिएको धेरै भैसक्यो । उनले संचालनमा ल्याएको ‘एटिक रेष्टुरा तथा बार’ गज्जबको चलिरहेको छ । यो रेष्टुरा सुरुमा नक्साल नजिकै थियो । अहिले ज्ञानेश्वरमा संचालन भैरहेको छ । नम्रताका अनुसार अभिनयको काम बाहेक धेरै समय व्यापार व्यवसायमा बित्ने गरेको छ । जस्तो किसिमको भेटघाट पनि मैले आफ्नै रेष्टुरामा गर्ने गर्छु, उनले भनिन्, ‘सहज पनि हुन्छ । रेष्टुराको ख्याल पनि भैरहेको हुन्छ ।’ उनी रेष्टुरा व्यवसायबाट राम्रो आम्दानी भैरहेको बताउँछिन् ।
अभिनय बाहेक व्यवसायमा व्यस्त रहने अभिनेत्रीमा श्वेता खड्काको नाम छुटाउनै हुन्न । किनभने, उनले संचालनमा ल्याएको हिमालय जाभा धेरै लोकप्रिय छ । हिमालय जाभामा बनेको कफी नपिउने कमै छन् । राइजिङ मल र वालुवाटारमा संचालित छ उनको कफी शप । वालुवाटारमा संचालन भएको धेरै महिना भएको छैन ।
‘कहाँ भेटिएला’, ‘कोहिनुर’, ‘कान्छि’ जस्ता हिट चलचित्रकी अभिनेत्री स्वेताको विजनेश कफि शपमा मात्रै सिमित छैन । उनि इन्टेरिअर डिजाइनिङ गर्ने कम्पनी समेत खडा गरेकी छिन् । धेरै बिल्डिङका इन्टेरिअर डिजाइनिङ गरिसकेको छ उनको कम्पनीले । अझ रोचक कुरा त के रहेछ भने, स्वेता कफि शप सुरु गर्नुअघि इन्टेरिअर इन्जिनियरिङ कम्पनीमा काम गर्थिन् । ‘उक्त कम्पनीमा काम गरेपछि धेरै कुरा सिकें । यस्तै कम्पनी चलाउन सक्छु भन्ने आत्मविश्वास पलाएपछि इन्जिनियरिङ कम्पनी खालेकी हुँ’, उनले भनिन् । उनको उक्त कम्पनीले झण्डैं १० बर्षदेखि भवन निर्माण, इन्टेरिअर, एक्स्टेरिअर डिजाइनिङको काम गरिरहेको छ । कम्पनीले अहिलेसम्म भाटभटेनी सुपर स्टोर, हामा टावर, प्रभु, ग्राण्ड बैँक लगायतका दर्जनौं ठूला भवनको पार्टिसन तथा एक्स्टियर डिजाइन गरिसकेको छ । समाजशास्त्र र अर्थशास्त्रमा डबल ब्याचलर्स गरेकी श्वेता भन्छिन्, ‘अहिलेसम्म जति काम गरेकी छु अधिकांश काममा सफल भएकी छु, कहिलेकाहिँ त जो पनि ठक्कर खान्छ ।’
अभिनेत्री ऋचा शर्मा छिट्टै बिहे वन्धनमा बाँधिने तयारीमा छिन् । अभिनयका कारण धेरै निर्माता–निर्देशकको रोजाइमा पर्ने उनी गत बर्ष मात्रै रेष्टुरा व्यवसायमा जोडिएकी हुन् । उनले सुरु गरेको पाङ्ग्रो नामक रेष्टुराँ सुरुमा दरवार मार्गमा थियो । हाल नक्सालमा संचालित छ । रेष्टुरा व्यवसायले उनको अभिनय यात्रालाई कुनै असर गरेको छैन । ऋचाका अनुसार यो रेष्टुरा राम्रो चलिरहेको छ । ऋचा भन्छिन्, ‘रेष्टुरा व्यवसायको दायरा फराकिलो गराएर अन्य स्थानमा पनि खोल्ने योजना छ ।’
कलाकार मधु सुधन पाठक कलाकारितामा जति जमेका छन्, त्यो भन्दा धेरै व्यापार–व्यवसायमा सक्रिय छन् । उनी रेष्टुरेन्ट, अर्गानिक कृर्षी फार्म, ब्याडमिन्टन एकेडेमी, जिम हाउस, व्वाइज होस्टल, जेष्ठ ट्राभल, स्टाइल पार्लर, सहकारी लगायत खोलेका उनी व्यवसायमा जमेका छन् । उनलाई कलाकार मात्रै ठान्नेहरु नजिकबाट बुझ्नेहरु छक्क पर्छन् । ‘भद्रगोल’ र हालको ‘सक्कि गो नि’मा बलेका बा, उनै सिते बा हुन् । व्यवसायमा केहि समय फुर्सद निकालेर उनी अभिनयका लागी समय दिन्छन् ।
सञ्जोग कोइराला र वर्षा राउतले लगन गाँठो कसेको धेरै भएको छैन । सञ्जोग व्यापारमा लागेको धेरै समय भैसक्यो । अहिले यो व्यवसायमा धर्मपत्नी वर्षाले समेत साथ दिइरहेकी छिन् । उनीहरुको ‘चिया अड्डा’ ग्राहकको रोजाईमा पर्दै गएको छ । विहानैदेखि भिडभाड हुने चिया अड्डा नयाँ बानेश्वरमा संचालित छ । यो अड्डा अहिलेका युवायुवतीहरुलाई फुर्सदिलो समय कटाउने स्थान बनेको छ । प्रेमी–प्रेमीकाहरुले माया साट्ने स्पट बनिरहेको छ । अड्डामा बसेर गफको तालको ५–७ कप सम्म चिया पिउनेको संख्या धेरै छ ।
अभिनेता गौरव पहारी अभिनयमा मात्रै होइन, व्यवसायमा पनि व्यस्त छन् । उनी रेष्टुराँ व्यवसायी हुन् । उनको रेष्टुरा नक्साल नजिकै जय नेपालको साइडमा छ । पहारीका अनुसार छिट्टै अरु स्थानमा समेत रेष्टुरा संचालन गर्ने सोच छ । नेपालको चलचित्रको अवस्था सबैलाई थाहा छ, उनले भने, ‘कम्तीमा विजनेश त फिल्ममा जस्तो रिस्क कम छ नि !’
अभिनेता सरोज खनाल अमेरिका छाडेर नेपाल आएसँगै अभिनयमा निकै व्यस्त छन् । धमाधम अभिनय गरिरहेपनि खनाल अभिनयबाहेक अहिले व्यवसायमा समेत आवद्ध छन् । उनले पोल्ट्री फार्म ( अण्डा उत्पादन ) खोलेका छन् । चलचित्रमा काम नभएको बेला उनी ललितपुर स्थित एकान्तकुना पुगेर समय कटाउँछन् ।
आकर्षक ज्यानका कारण सधै चर्चामा रहने अभिनेता सविन श्रेष्ठ अभिनयबाहेक व्यापार–व्यवसायमा समेत आवद्ध छन् । दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेका श्रेष्ठको लगानी रहेको ‘स्टाइल मोवाइल’ पसल सिटी सेन्टर नजिकै संचालन भैरहेको छ । २० लाखमा सुरु गरिएको यो पसल संचालन भएको २ बर्ष पुग्यो । यति मात्रै होइन, उनले हालै ‘स्टाइल अटो वर्कशप’ सुरु गरेका छन् । ५० लाख लगानीमा खोलिएको वर्कशपसँगै सविनले छिट्टै रेष्टुरा खोल्ने योजना बनाएको सुनाए । उनले भने, ‘यि दुई व्यापारसँगै चाँडै रेष्टुरा खोल्ने योजना गराएको छु । आकर्षक र शान्त वातावरणमा समय कटाउन खोज्नेका लागी यो रेष्टुरा उत्तम हुनेछ ।’
अभिनेता कामश्वेर चौरसिया झण्डैं एक बर्ष कामको खोजीमा भौतारिए । भनेजस्तो प्रोजेक्ट हात परेन । अनि के गर्ने ? साथिभाईहरुसँग ऋण खोजेर उनी व्यवसाय सुरु गरे । कामेश्वरका अनुसार चलचित्र क्षेत्रमा भाग्यले खासै साथ नदिएपछि व्यवसाय संचालन गर्नुपरेको हो । हाल उनले तिनकुने नजिकै माछाका परिकार बेच्ने खाजा पसल संचालन गरेका छन् । उनी आजभोली दिनभर व्यवसायमा व्यस्त हुने गरेको बताए । व्यवसाय राम्रो चल्दैछ, उनले भने, ‘पहिला जस्तो खान लाउन समेत तनाव हुने स्थिती छैन ।’ व्यवसायमा आवद्ध भएपनि आफु चलचित्र क्षेत्रसँग टाढा नभएको उनको तर्क छ ।
चर्चित निर्देशक गणेश देव पाण्डे वागमती किनारामा चिया बेच्न लागेको एक बर्ष पुग्न लाग्यो । चलचित्र क्षेत्रमा चम्किएका उनी एकाएक चिया बेच्न थालेपछि धेरैले अचम्म माने । कतिपयले कुरा काटे । गणेश भन्छन्, ‘अचम्म मान्ने कुरा थिएन, कलाकारले व्यवसाय गर्न नहुने भन्ने त छैन नि ?’ हाल उनी चलचित्रको कुरा नसोचेर दिनभर चिया पकाउँछन्, बेच्छन् । चियाको स्वादमा गफी आउनेहरुलाई विभिन्न प्रकारका चियाका ब्राण्ड बेच्छन् । उनले फेरी थपे, ‘मान्छेले जस्तेसुकै काम गर्न सक्ने आँट राख्नुपर्छ । चिया होस् अथवा हिरा । कमाइ भयो भने जे गर्दा पनि हुन्छ, नराम्रो पो गर्नुभएन ।’ उनका अनुसार चिया बेचेरै मासिक डेढ लाखसम्म आम्दानी हुने गरेको छ ।
अभिनेता कुमार कट्टेल चारखाल नजिकै इचिवान रेष्टुरेन्ट संचालन गरिरहेका छन् । ‘भद्रगोल’ नामक सिरियलबाट सर्वाधिक पपुलर कलाकारको सुचीमा परेका उनी हाल अर्को सिरियल ‘सक्कि गो नि’मा छन् । केहि नजिकका साथिभाईहरुसँग मिलेर संचालन गरेको उनको रेष्टुरा निकै राम्रो चलेको छ ।
अभिनेता प्रेम पुरी गोगंबु नजिकै ब्राण्डेड कपडा पसल संचालन गरिरहेका छन् । दुइबर्ष अघि खोलेको उनको यो पसलमा परिवारले समेत साथ दिइरहेको छ ।
हाल ‘प्रेम गीत ३’ मा व्यस्त उनले केहि चलचित्रमा काम गरे । चलचित्र क्षेत्रलाई नजिकबाट चिन्ने मौका पाए । उनी थप्छन्, ‘व्यवसाय राम्रो चलाउन सकियो भने, राम्रो चलचित्र छान्न सकिन्छ । नराम्रो चलचित्र भेटियो भने तुरुन्तै ‘नो’ भन्न सकिन्छ ।’ पसल राम्रो चलेपछि अभिनेता पुरी मख्ख छन् ।
अभिनेता निर्मल शर्मा केहि समय होटल व्यवसायमा संलग्न भए । उनले लामो समयसम्म दरबारमार्गमा दरबार होटल चलाए । त्यसपछि ब्याक्वेट संचालन गरे । हाल १८ बर्षदेखि उनी ह्याण्डी क्राप्ट र रियल स्टेटसँग नजिक छन् । भन्छन्, ‘मेरो धेरै समय व्यापार–व्यवसायमा वित्छ । कलाकारितामा समय भ्याएसम्म सक्रिय छु ।’ कलाकारिता क्षेत्रमा लागेपछि दाम भन्दा धेरै नाम कमाएको बताउने उनले व्यवसाय सोचेजस्तै राम्रो भैरहेको सुनाए ।