यो जमानाका वयस्कहरू पूरापुर आएल्ट्समा अभ्यस्त भैसकेका रहेछन । आएल्ट्स त दिनैपर्ने जाँच बनिसकेछ । १२ कक्षा प्रथम श्रेणीमा पास भएर पनि कसैले आएल्ट्स गरेको छैन भने ऊ अयोग्य वा ब्याकवार्ड मानिँदो रहेछ । इज्जत जोगाउनकै लागि पनि अब मैले आएल्ट्स गर्नै पर्ने भो ।
‘कति पढिस् ?’
“डिग्री सकेको चार वर्ष भो ।’
‘आएल्ट्स गरिस् ?’ कुनै अपराध नै गरेजसरी उसले फेरि सोध्यो ।
‘छैन ।’
‘अनि के पढिस् त ? जाबो आएल्ट्स पनि गरेको छैनस् ।’
अर्कोले सही थप्छ, ‘हुन पनि हो, विदेश लाने गुदी विषय छोकै रहेनछ बडो डिग्रीको फुई ।’
०००
खेत खन्न जा भन्दा तास खेल्न जाने, १२ कक्षा दोहोर्याएर पास भएको उरन्ठेउलो छोरोलाई बिहान–बिहानै बूढा बाबुले पर्खालमा टुसुक्क बसी गाली गरिरहेको सुनँे, ‘पल्लाघरे, माख्लाघरे ठेट्ना सब युरोप–अम्रिका गैसके, यो अद्बेस्रो खुरुक्क आएल्ट्स हो कि साइल्ट्स् गर्न गए हुनि नि चाँडै ।’
चियापसलमा आएल्ट्स, पब्लिक गाडीमा आएल्ट्स, पार्कमा आएल्ट्स, जनजिब्रोमा आएल्ट्स । अझ पत्रपत्रिका र मिडियामा त झन ठूला–ठूला अक्षरका आएल्ट्स । यो जमानाका वयस्कहरू पूरापुर आएल्ट्समा अभ्यस्त भैसकेका रहेछन । आएल्ट्स त दिनैपर्ने जाँच बनिसकेछ । १२ कक्षा प्रथम श्रेणीमा पास भएर पनि कसैले आएल्ट्स गरेको छैन भने ऊ अयोग्य वा ब्याकवार्ड मानिँदो रहेछ । इज्जत जोगाउनकै लागि पनि अब मैले आएल्ट्स गर्नै पर्ने भो । आखिर क–कसले आएल्ट्स गरेको छ त भन्ने प्रसंग दिनमा दुई–चार पटक त चल्ने नै भैसक्यो, कति लाजले गाला रातो पारिरहने ? मान्छेले आफ्नो पाखन्डीपनबाट तबसम्म स्वतन्त्रता पाउँदैन जबसम्म उसले आएल्ट्स गरेको हुँदैन ।
आएल्ट्स रहेछ अन्तर्राष्ट्रिय अंग्रेजी भाषाको परीक्षण प्रणाली । यो गर्नासाथ विदेश जान पाइने कुरा सुनेर दंग त जो पनि पर्ने नै भए । कोर्स गर्न गइयो बानेश्वर चोकको एक इन्स्टिच्युटमा । बेलायत, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अमेरिकाकासमेत ३ हजारभन्दा बढी कलेजले स्वीकार गर्ने कोर्स ज्वाइन भइयो, आफू ज्यादै फर्वार्ड भएझैँ लाग्यो ।
क्लास सुरु भयो । २० जनाको क्लासमा १९ जना १६ देखि १८ वर्षका हुँदा हुन् । मनमनै सोचँे, छ्या यो त भुराहरूले पढ्ने विषय रहेछ, छोडेर बाहिर जाऊँ कि क्या हो ? त्यत्तिकैमा एउटा बूढो भित्र पस्यो, सबैले उठेर गुड आफटर्नुन सर भने । कपाल सेत्तै फुलेको त्यो बूढो नबोली लुइँलुइँ पछाडि सिटमा आएर बस्यो । ओहो ! यो पनि विद्यार्थी ? सबै चकित परे तर मचाहिँ निर्धक्क भएँ । त्यो बूढोले मेरो बाहिरनुपर्ने मानसिकता क्षणभरमै दूर गरिदियो ।
क्लास सुरु भएको बल्ल दुई–चार दिनपछि पो भेउ पाइयो, अंग्रेजीको चार थरीको जाँच हुने रहेछ त्यसमा । भर्खरका बड्कौंले भुराहरूले फरर अंग्रेजी बोलेको सुन्दा ढक् खान्थेँ म । क्लासमा म एक नम्बरको लद्दू सावित हुने थिएँ, तर त्यो बूढो छँदै थियो, नत्र म पर्थें । सरकारी स्कुल पढेर आ’को, अंग्रेजीमा जे लेखे नि ४० नम्बर आउँथ्यो, चलेकै थियो । यसमा चाहिँ हल्का कडै खालको अंग्रेजी चाहिने रहेछ जस्तो लाग्यो । भए नि प्रेस्टिजको सबाल छ, जसरी नि आएल्ट्स दिएको इतिहास त कायम गर्नैपर्यो । जसोतसो प्रणाली बुझियो, अब प्रक्रिया अघि बढाउन डेट लिनुपर्ने भो ।
डेट जाने भन्ने सुन्या थिएँ, अब डेट लिन पर्ने पनि सुनियो । ओहो डेट लिन त जाँच दिनुभन्दा पनि गाह्रो हुने रै’छ । आएल्ट्सको डेट त लरतरो मान्छेले कहाँ लिन सक्दो रहेछ र ? सब आएल्ट्स गर्ने अनि डेट पनि कसरी पाइयोस् ? एउटा नाथे जाँच दिन चार महिना अघिदेखि १८ हजार बुझाएर दाउ हानेर बस्नुपर्ने रहेछ । डेट लिन ढंग पनि त हुनुपर्यो, बरु दुई–चारवटा कन्सल्टेन्सीलाई एक–एक हजार दिऊँ अनि तिनीहरूले डेट लिइदिन्छन्, चलन यस्तै छ भनेर भन्यो एउटाले । उसले यो पनि भन्यो, विरलै डेट लिने दिन खोल्छ अनि एक्स्पर्ट नभए सकिन्न, इन्टरनेट ट्राफिक हो कि सर्भर डाउन के–के हुन्छ रे । हामी पाँच–सात जनाले होमा हो मिलाइयो ।
जाँच आउन चार महिना बाँकी भएकाले ढुक्कसँग बसियो । चार–चार महिनासम्म पढ्दा पनि पढिएन । जाँचको दुई दिन अगाडि सँगै क्लास लेको भाइले फोन गरेपछि पो झल्याँस्स भएँ । हतार–हतार घर गएर कानमा स्पिकरको ठेडी घुसाएँ र लिस्निङ अभ्यास गर्न थालेँ । पाँच मिनेटमै कन्फर्म भयो, केही उपाय लाग्दैन । चिट चोर्ने बुद्धि आयो तर तरिका थाहा भएन । गोराहरू मकै चपाएजस्तो अंग्रेजी बोल्ने, पूरै प्यारा बोल्दा अन्तिमको एक शब्द बुझ्या–बुझ्या जस्तो हुन्थ्यो । तैपनि पढ्ने र सुन्नेमा त सब कागे हानेकै भरमा दुई–चार नम्बर खुस्काउने पक्का भयो । लेख्नेमा कनिकुथी लेखिएला, बोल्नेमा त ठ्याम्मै थियो ।
रिजल्ट १३ दिनमा अनलाइन आउँछ रे, तर म भने त्यस्तै १८ दिनजतिपछि टेस्ट रिपोर्ट फर्म लिन ब्रिटिस काउन्सिल गएँ । ३ आएछ । गर्वले छाती तनक्क तन्कियो । पूर्णाङ्क ९ हो, ३३ प्रतिशत त एसएलसीसमेत पास हुने अंक हो । आइल्ट्समा साढे ७ आ’को भनेर एउटा केटो चियापसलमा गफ हान्दै थियो, देखेर झपारें, ‘टोइट, के नै माखो मारिस् त ? त्यत्रो खर्च गरेर बोर्डिङमा पढा’को खेरै गएछ, मेरोभन्दा जम्मा साढे ४ नम्बर बढी ?’ सँगैको बूढोले भन्यो, ‘हो त आजकालको बोर्डिङ स्कुलको पढाइ त्यस्तै त हो, खत्तम ।’ पूर्णाङ्कै हानेको भए पनि जम्मा नौ त थियो, गाउँको चियापसलमा ऊ जसरी नि हाँसोको पात्र हुनेवाला थियो ।
मसँगै क्लास लिने बूढोसँग बाटोमा भेट भयो एक दिन, उसको १ अंक आएछ । उसले भन्यो, ‘अब छोरा–नातिका अगाडि लाज नहुने भो, मैले त आएल्ट्स डिग्रीको सर्टिफिकेट लेमिनेसन गरीवरी फ्रेममा हालेर लिभिङ रुममा झुन्ड्याइसकें ।’ बूढालाई के थाहा, त्यो सर्टिफिकेट दुई वर्षमा चना चट्पटे पोको पार्न मात्र काम आउनेछ भनेर । हो, आएल्ट्स त गरियो, आजसम्म खोइ चरो–मुसोले विदेश आइज भनेर अफर गर्या छैनन् । सर्टिफिकेट त सक्कली नै हो ब्रिटिस काउन्सिलले दिएको ।