अनामनगर । पुर्वीगेट अगाडि । सानो चियापसल । सबैले त्यसलाई ‘मामाको चिया पसल’ भन्छन् ।
चिया पसलमा मण्डला थियटरमा नाटक सिक्नेहरुदेखि नेपाली चलचित्र उद्योगका जानेमाने स्टारसम्म भेटिन्छन् ।
निर्देशक, निर्माताहरु पनि फिल्मका कुरा गरिरहेका हुन्छन् ।
मन परेको कलाकार भट्यो भने त ‘सेल्फी’ खिच्न पनि पाइन्छ यहाँ । मामाको चियापसलमा कडक चिया र खाजा त पाइन्छ नै, चलचित्रकर्मीहरुका दुःख र पीडा समेत मज्जाले सुन्न सकिन्छ । चलचित्र उद्योगले बनाएको ‘घाइते’ अनुहारदेखि चलचित्रले फेरिएका अनुहार समेत भेटिन्छ ।
०००
शुक्रवार दिउँसो २ बज्यो ।
चुच्चे टोपी लगाएर एक निर्माता फुत्त भित्र छिरे । भने, ‘मामा चिया खाम् त, एउटा चुरोट दिइहाल्नुस् !’
नेपाली चलचित्रहरु प्रदर्शन हुने ‘बार’ थियो । उनको चलचित्र प्रदर्शन भएको दिन थियो । निकै उत्साहका साथ चलचित्र बनाएका थिए । तर, अचम्मै भो । काठमाडौँका दुईवटा हलमा मात्रै उनको चलचित्र प्रदर्शन भयो । अरु हलमा अरु चलचित्र लागिरहेका थिए । फ्याट्टफुट्ट भेटिएकाहरुले चलचित्र कस्तो चल्दैछ यार भन्थे । उनले एक सर्को चुरोट तान्दै भन्थे, ‘ठिकै छ यार, हेरौं भोलिदेखि शोज बढ्छ कि !’ फिस्स हाँसेर अरुलाई दिएको जवाफमा एउटा के निष्कर्ष थियो भने, चलचित्र क्षेत्रमा कसैले पनि दुःख देखाउन मान्दैन । असफलता स्विकादैन ।
यदि उहिल्यै चलचित्र क्षेत्रमा निर्माताहरुको बेहाल स्थितीबारे मिडियामा सार्वजनिक भएको भएको थियो भने, धेरै निर्माता बेहाल हुँदैन्थे । सहरका करोडौं मुल्य पर्ने घर बेचेर भाडाको कोठामा बसेर ऋणको भारी बोक्नु पर्दैन्थ्यो । भएको एउटा त्यहिँ गाडी बेचेर टुटल र पठाओ चढ्नु पर्दैन्थ्यो । मास्क र टोपी लगाएर अनामनगर र पुतलीसडक हिँड्नुपर्दैन्थ्यो । एक प्याक दारु खान अरु कसैलाई गुहार्नुपदैन्थ्यो । अघि मामाको पसलमा गफ ठोक्ने ति निर्माता अहिले अस्ट्रेलिया पुगेर गफ ठोक्दैछन्, ‘बबाल चलचित्र बनाउने सोच छ, अहिले स्क्रिप्टको काम भैरहेको छ !’ अब उनीमार्फत कुन निर्माताको स्थिति बिजोग हुने हो त्यो भने हेर्न बाँकी छ ।
प्रत्येक बर्ष मामाको पसल जस्ता धेरै रेष्टुरा र चिया पसलले यी प्रोड्युसरजस्ता धेरैका गफ सुन्छ र पठाइदिन्छ ।
०००
बर्ष २०७५ नेपाली चलचित्रका लागी लाभदायक सिद्ध हुन सकेन । बैशाख ७ गते प्रदर्शन भएको ‘स्वर्ग मेरो गाउँ’ देखि वर्षको अन्तिम अर्थात चैत २९ गते शुक्रबार प्रदर्शन भएको ‘यात्रा : द म्युजिकल भ्लग’ र ‘ए मेरो हजुर ३’ सम्म करिब एक सय हाराहारीमा नेपाली चलचित्र प्रदर्शन भए । तर, अधिकांश चलचित्रको लगानी बालुवामा पानी बराबर भयो । छक्का पन्जा ३, ए मेरो हजुर ३, बोबी, जय भोले, प्रसाद, बोबी लगायतका केहि थोरै चलचित्रले बाहेक अरु चलचित्रले पोस्टर टाँस्न प्रयोग हुने माँडको पैसा समेत उठाएनन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई भन्छन्, ‘सायद सोहि कारण हुन सक्छ, यो बर्ष एकदमै कम चलचित्र निर्माण भए । प्रदर्शन भए ।’ २०७६ मा ५०–६० भन्दा धेरै चलचित्र प्रदर्शन नहुने अनुमान गरिएको छ । उनका अनुसार चलचित्र उद्योगले थेग्न सक्ने चलचित्र आएको खण्डमा निर्माताको गोजीमा खर्च कटाएर केही पैसा आउँथ्यो । दर्शक पनि थोरै चलचित्र तर राम्रा चलचित्र हेर्न पाउथे ।
२०७६ मा कम चलचित्र निर्माण भएर त्यसैअनुसार थोरै चलचित्र प्रदर्शन भएपनि अधिकांश चलचित्र फ्लप छन् ।
०००
२०७६ सम्मको चलचित्र इतिहासलाई सामान्य तरिकाले विश्लेषण गर्ने हो भने, नेपालका पुराना निर्माताहरुले चलचित्र बनाउनै छाडिसकेका छन् । नयाँ निर्माताहरु चलचित्र बनाउने र भाग्ने गरेका छन् । अहिले उद्योगमा नयाँ निर्माताको बाहुल्यता छ । धमाधम चलचित्र निर्माता पलायन भैरहेका छन् । कतिपय निर्माताहरु अन्य पेशामा आकर्षित भए ।
मनिषा कोइरालालाई चलचित्र बजारमा भित्राउने फुर्वा छिरिङ अहिले यो क्षेत्रमा छैनन् । राजेश हमालको डेब्यु चलचित्र निर्माण गरेका छविराज ओझा पछिल्लो समय चलचित्र बनाउनै छाडे । उनले चलचित्र ‘मंगलम’पछि अर्को चलचित्र निर्माण गर्ने आँट गरेका छैनन् । केही महिनाअघि एक भेटमा छविले भनेका थिए, ‘धमाधम चलचित्र फ्लप भैरहेको देखिएको छ, किन चलचित्र बनाउनु ?’ उनको संकेत थियो, – निराशाजनक चलचित्र क्षेत्रको अवस्था नफेरिएसम्म चलचित्र नबनाउने ।
पुराना धेरै निर्माता अहिले देश बाहिर छन् । कतिपय अन्य पेशा र व्यवसायमा सक्रिय छन् । कतिपय निर्माता निस्क्रिय भएर बसेका छन् । पुराना निर्माता चिरञ्जीवी बस्नेत, कुवेर शर्मा, विनोद शेरचन, जगत श्रेष्ठ, शम्भू प्रधान, नरेश पौडेल, श्याम खेतान, विनोद मानन्धर, तिर्थ प्रधान, युवराज लामा लगायतका प्रोड्युसर मात्रै होइन, युवा स्टार अनमोल केसीलाई चलचित्र उद्योगमा भित्राएका तत्कालिन समयमा अब्बल निर्माता मानिएका सुनील रावल समेत चलचित्र उद्योगबाट टाढिए । होस्टेल, होस्टेल रिर्टन्स, सायद लगायतका हिट चलचित्र दिएका उनी ‘सायद २’मा चिप्लिए । आफ्नै चलचित्रको अभिनेत्री स्यारोन श्रेष्ठले उनलाई डुबाइन् । चलचित्र प्रदर्शन भएकै बेला भएको उनीहरुको आरोप–प्रत्यारोप चलचित्र उद्योगकै सबैभन्दा ठुलो इस्यु बन्यो । निर्माता संघले उनीहरुलाई त मिलायो । तर, रावल चलचित्र उद्योगबाट टाढिए । अनि परिवार टिपेर अमेरिका पलायन भए । पहिलो चलचित्र ‘आमा’देखि पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘चचहुई’ सम्म आइपुग्दा चलचित्र क्षेत्रमा धेरै निर्माताहरु घर न घाटको भएको पाइएको छ । बेहाल भएका छन् ।
अरुको लगानीमा निर्माता बन्नेहरु बाहेक लगानी गर्ने निर्माताहरु एक चलचित्रमा पाएको असफलतापछि अर्को चलचित्र बनाउने आँट गर्दैनन् । तर, एउटा चलचित्र असफल भएपछि उक्त चलचित्रमा गएको घाटा परिपुर्ती गर्न अर्को लगानीकर्ता खोज्ने र उसलाई पनि आफु जस्तै बनाउन तम्सिनेहरु धेरै छन् । तर, एक रुपैयाँ पनि गोजीमा नपरेका निर्माता समेत आफ्नो चलचित्र फाइदामा गएको भन्दै नयाँ निर्माता भित्राउने ध्याउन्नमा हुन्छन् । ठुला गफ सुनेर चलचित्र क्षेत्रमा पैसा खन्याउने नयाँ अनुहारहरु पनि मलिन अनुहार बोकेर चलचित्र उद्योग छोड्छन् । एक निर्देशक भन्छन्, ‘निर्माता बाँचे पो चलचित्रकर्मी बाँच्छन् । निर्माता मरे भने चलचित्रकर्मी कसरी बाँच्ने ?’ तर, निर्माताहरु घर न घाटको हुनुमा स्वयं निर्माताहरु नै कारण बनेर उभिएको बताइन्छ । नाम नखुलाउने सर्तमा एक निर्माता भन्छन्, ‘छक्कापन्जा, ए मेरो हजुर, नाई नभन्नु ल, प्रेम गीत जस्ता चलचित्रले करोडौं कमाएको गफ सुनाएर चलचित्र उद्योगमा धेरैलाई निर्माता बनाइन्छ, त्यसका पछाडि अर्कै कारण हो । बिचौलियाले कमाउने धन्दा हो । यो कुरा कसैले बुझ्दैन ।’
चलचित्र उद्योगमा चर्चित निर्देशक दिनेश राउत भन्छन्, ‘ठुला गफ सुनाएर निर्माता बनेकाहरु बाहेक यो क्षेत्रका विषयमा जानेर अनि बुझेर निर्माता भएको स्थिती देखिएको छैन । सोहि कारण झुर चलचित्र बनेका छन् । निर्माताहरु डुबेका डुब्यै छन् ।’ केहि समयको अध्ययनपछि चलचित्र निर्माणमा स्क्रिप्टदेखि प्रदर्शनका बेलासम्म गम्भिर भएर लाग्नेहो भने पैसा कमाउन समेत खासै गाह्रो नहुने उनको तर्क छ ।
चंखे शंखे पंखे प्रेम गीत, प्रेम गीत २, मेरी मामु लगायतका चलचित्र निर्माण गरेका निर्माता सन्तोष सेन अहिले प्रेम गीत ३ निर्माण गरिरहेका छन् । चलचित्र क्षेत्रमा पछिल्लो समय उनलाई सबैभन्दा पावरफुल निर्माताको रुपमा लिइन्छ । चलचित्र उद्योगमा निर्माताहरु भागाभागको स्थितीलाई उनले गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने बताउँछन् । किन निर्माता डुबिरहेका छन् ? निर्माता डुबिरहेका बेला कसरी यति धेरै चलचित्र बनिरहेका छन् ? यसका पछाडि केही कारण छ र थियो भन्ने विषयमा कसैले बुझ्नै चाहेन ।
उनले भने, ‘चलचित्र उद्योगलाई उद्योगको रुपमा स्विकार्न नसक्दा निर्माताहरु बेहाल भएका हुन् ।’ चिया पसल देखि ठुला उद्योग खोल्दा धेरै बुझेर मात्रै खोलिन्छ । कतिसम्म भने पान पसल खोल्नेहरुले समेत भिडभाड हेरेर कहाँ खोल्दा उत्तम हुन्छ, त्यो हेरेर मात्रै खोल्छ । निर्माता सेन थप्छन्, ‘चलचित्र उद्योगको स्थिती कस्तो छ भन्ने विषयको अध्ययन नगरिकनै लगानी गरेपछि यस्तो स्थिती आएको हो ।’
०००
चलचित्र प्रदर्शनकै बार पनि दर्शक नआएर सो रद्द गर्नुपर्ने अप्रिय घटना नेपाली निर्माताहरुले भोगेका छन् । ९० प्रतिशत चलचित्रले पोस्टर र फ्लेक्स छपाइको खर्च पनि उठाउन सक्दैनन् । जब कि पोस्टर र फ्लेक्स छपाइका लागि ५ लाख सम्म खर्च हुने अनुमान गरिन्छ । पढेलेखेका निर्देशक र क्षमता भएका कलाकारको इन्ट्री बढ्दो छ । यद्यपी, चलचित्र उद्योग बचाउने निर्माताहरु भने उद्योगका विषयमा कम जानकार हुन्छन् । निर्देशक देखि कलाकारले घुमाइदिन्छन् । चलचित्र प्रदर्शन हुने बेला वितरकले केहि रकम दिन्छ । र, आफु अनुकुल मिति घोषणा गर्दिन्छ । चलचित्र निर्माणको काम संसारभर जोखिमपुर्ण मानिन्छ, चलचित्र क्षेत्रका एक जानकार भन्छन्, ‘जोखिमपुर्ण यो व्यवसायमा लगानी गर्ने निर्माताहरु भने अध्ययन समेत नगरी हावा तालमा आउँछन् र बेहाल भएर फर्किन्छन् ।’