१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोह भएको १२ घन्टा बित्न नपाउदैं नेपालका खेलाडीहरूले एकपछि अर्को गर्दै नेपाललाई स्वर्ण पदकको खुसी दिन थाले । रजत पदक जितेर पदकको खाता खोलेको नेपालका लागि त्यसको केहीबेरमै कराँते खेलाडी मण्डेकाजी श्रेष्ठले स्वर्ण दिलाए । कराँतेले नेपालको स्वर्ण पदकको खाता खोलेको केहीबेरमै तेक्वान्दोका कमल श्रेष्ठले पनि स्वर्ण जिते ।
पहिलो दिनको पदक तालिकालाई हेर्दा नेपालले स्वर्ण पदकको तालिकामा आफूलाई शीर्षस्थानमा राखेपनि नेपालका कराँते खेलाडी र तेक्वान्दो खेलाडीबीच कसले बढी स्वर्ण पदक जित्ने भन्ने प्रतिस्पर्धा नै भयो । यो बीचमा कराँतेका मण्डेकाजी श्रेष्ठले नेपाललाई एउटै सागमा दुई स्वर्ण पदक जित्ने खेलाडीमा उभ्याए भने त्यसको केही समयपछि तेक्वान्दो खेलाडी आयशा शाक्यले पनि दुई स्पर्धामा स्वर्ण पदक जितेर एउटै सागमा दोहोरो स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।
सागको पहिलो दिनमै तेक्वान्दो र कराँतेले ७/७ स्वर्ण पदक जित्न सफल भयो भने यो क्रममा ट्रायथलन खेलाडी सोनी गुरुङले पोखराबाट अर्को स्वर्णको खुसी खबर प्रवाहित गरिन् । दोस्रो दिनदेखि प्रारम्भ भएको उसु खेलले पनि नेपाललाई स्वर्ण दिलायो भने एथलेटिक्समा धाविका सन्तोषी श्रेष्ठ सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन् । ५० स्वर्ण पदक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
कुसुम खड्का, कराँते
नेपाली कराँतेकी अर्की उदयमान खेलाडी हुन् कुसुम खड्का । त्यसलाई प्रमाणित गर्दै उनले महिलाको कुमुते ४५ केजी तौल समूहमा स्वर्ण पदक जित्न पनि सफल रहिन् । यसका लागि उनले आफ्ना प्रतिद्वन्द्वीबाट कडा चुनौतीको पनि सामना गर्नुपर्यो । फाइनलमा उनले बंगलादेशी खेलाडी बोर्नालाई ३–२ ले हराएकी थिइन् । यसअघि उनले श्रीलंकाली खेलाडी सेनारथ अर्चासिंगेलाई ७–६ ले हराएकी थिइन् । यसक्रममा उनले निकै संघर्षपूर्ण खेल प्रस्तुत गर्नुपरेको थियो ।
सीनामादेन लिम्बू, तेक्वान्दो
नेपाली तेक्वान्दोको पोम्सेका उदयमान खेलाडी हुन्, सीनामादेन लिम्बू । केही समययता नियमित रूपमा राम्रो प्रदर्शन गर्दै आएकी सीनामादेनले कसैलाई निराश पनि पारिनन् र जितिन्, पोम्सेको महिला एकल १७ देखि २३ वर्ष उमेर समूहका स्वर्ण । उनले आफ्नो खेल जीवनको पहिलो ठूलो सफलताका लागि भारतीय प्रतिद्वन्द्वीलाई पराजित गरेकी हुन् । पोम्सेबाट नेपालका लागि स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडी पनि रहिन् ।
आयशा शाक्य, तेक्वान्दो
आयशा शाक्यले यसपल्टको सागमा व्यक्तिगत स्वर्ण जितिसकेपछि उनी यो प्रतियोगितामा तेक्वान्दोका सबैभन्दा सफल महिला खेलाडी भएकी छिन् । संयोग कस्तो भने उनका श्रीमान दीपक विष्ट सँग इतिहासकै नेपालका सबैभन्दा सफल खेलाडी हुन् । यो अर्थमा नेपालमा सबैभन्दा सफल खेल जोडी उनीहरू नै भएका छन् । स्वर्ण जित्ने अभिलाषाका लागि आयशाले यसपल्ट पोम्सेका खेलाडीका रूपमा आफूलाई परिणत गरेकी थिइन् ।
यसअघि उनले सागमा जितेका पदक फाइटबाट थियो । अहिले भने उनले महिला एकल २९ वर्षमाथिको तौल समूहमा स्वर्ण जितिन् र यसका लागि भारत र श्रीलंकाली खेलाडीलाई पराजित गरिन् । आयशाले यो प्रतिस्पर्धामा ७.९४ अक प्राप्त गरिन् भने दोस्रो भएकी भारतीय खेलाडी प्रजक्ता प्रकाशले ७.६४ अंक प्राप्त गरिन् । यससँगै आयशाले सागमा जितेको स्वर्ण दुई भएको छ भने उनकै नाममा दुई रजत पदक पनि रहेको छ । यसैक्रममा दुई छोराका आमा आयशा नेपाली महिला खेल क्षेत्रका लागि प्रेरणाका पात्र पनि बनेकी छिन् ।
पार्वती गुरुङ, तेक्वान्दो
तेक्वान्दोको पोम्सेबाट भित्रिएको अर्को स्वर्ण रह्यो, पार्वती गुरुङको नाममा । उनले महिला एकलको २३ देखि २९ वर्ष उमेर समूहमा यो सफलता प्राप्त गरेकी हुन् । स्वर्ण पदकको यात्रामा पार्वतीले बलियो चुनौती भने सामना गर्नु परेको थियो । उनले ८.२५० अंक प्राप्त गरेकोमा दोस्रो स्थानमा आएकी श्रीलंकाली खेलाडी थिकसिका जयावीरुले ८.०३० अंक हात पारेकी थिइन् । तेस्रो स्थानमा आएकी भारतकी हर्षा सिंह पनि धेरै टाढा रहिनन्, उनले ८.०३० अंक जितिन् ।
लक्ष्मण तामाङ, कराँते
नेपालले कराँतेमा यसपल्ट जितेको यो चौथो स्वर्ण रह्यो र यसको श्रेय जान्छ, लक्ष्मण तामाङ । यो भने कुमुतेबाट आएको पहिलो स्वर्ण रह्यो । उनले ५४ केजी मुनिको तौल समूहमा फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गरे । उनको जितको अन्तर १–० मात्र रह्यो । दुवै खेलाडी फाइनलमा सुरक्षित मनस्थितिले आर्लेका थिए र दुवैले एकअर्काविरुद्ध आक्रमण गर्ने प्रयास गरेनन् । नतिजा लक्ष्मणले ल्याएको एक अंक नै स्वर्ण पदकका लागि पर्याप्त रह्यो ।
मण्डेकाजी श्रेष्ठ, कराँते
मण्डेकाजी श्रेष्ठले नेपाली कराँतेमा समय बिताएको धेरै भइसकेको थियो, तर कुनै ठूलो सफलता भने उनको नाममा थिएन् । एक प्रकारले उनी अभाग्यशाली खेलाडी पनि थिए । उनको खेल जीवनमा कहिले के हुन्थ्यो त कहिले के । यस्तोमा डर थियो, कतै उनको खेल जीवन यत्तिकैमा सकिने त होइन ? यसपल्टको साग उनका लागि अन्तिम मौका थियो । आखिरमा उनले मेहनतको फल प्राप्त गरे नै । पुरुष कातामा उनी आखिरमा स्वर्ण जित्न सफल रहे ।
फाइनलमा उनले पाकिस्तानका नियमातुल्हालाई हराए । मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेकोमा उनका पाकिस्तानी प्रतिद्वन्द्वी २४.९२ अंकमै सीमित भए । यसअघि उनले बंगलादेशका मोहम्मद हसन खानलाई हराएका थिए । अब भने मण्डेकाजीले आफ्नो खेल जीवनलाई लिएर राहत महसुस गर्न सक्ने छन् र भन्ने सक्नेछन्, अब म पनि पदक विजेतो हुँ । यही सागदेखि उनको खेल जीवनमा रहेको पीडाका संगालो अन्तत: सकिएको छ ।
महिला टिम स्पर्धा पोम्से, तेक्वान्दो
पोम्सेबाट प्राप्त यो अर्को टिम स्वर्ण रह्यो र यो २३ देखि २९ वर्ष उमेर समूहको रह्यो । यस टिममा समावेश खेलाडी थिए, नीता गुरुङ, प्रंशसा क्षेत्री र सुशीला राई । स्वर्ण पदक जित्ने क्रममा टिमले ७.९२० अंक प्राप्त गरेका थिए । यो समूहमा श्रीलंकाली टिम दोस्रो स्थानमा रह्यो । त्यस टिमले ७.८१० अंक प्राप्त गरेको थियो । यो स्वर्णसँगै तेक्वान्दोको पोम्सेमा नेपालको लगभग एकपक्षीय वर्चश्व रह्यो र नेपाली खेलाडीसामु अरू फिक्का रहे ।
तेक्वान्दोको थपिएको विधाबाट अर्को सफलता रह्यो, महिला टिम स्पर्धामा प्राप्त यो स्वर्ण । यो सफलता १७ देखि २३ वर्षको उमेर समूहका प्राप्त भएको हो र यसमा सहभागी खेलाडी थिए, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना । उनीहरूले यो पदकका लागि भारतीय टिमलाई पछाडि छाडेका थिए । नेपालले यस विधामा ७.९८० अंक प्राप्त गरेका भारतीय टिम निकै नजिक रह्यो । उसले ७.९७० अंक प्राप्त गरेको थियो ।
सोनी गुरुङ, ट्रायथलन
यसलाई सुखद विवाद मान्दा हुन्छ, तर सबैले सोध्न खोज्ने प्रश्न हुनेछ, यसपल्टको सागमा पहिलो स्वर्ण जित्ने खेलाडी को हो त ? मण्डेकाजी श्रेष्ठ कि सोनी गुरुङ । मण्डेकाजीले स्वर्ण जितेकै क्षण अथवा त्यसभन्दा अगाडि सोनीले पोखरामा स्वर्ण जितिन्, ट्रायथलनमा । एउटा तथ्य के निश्चित छ भने उनी कम्तीमा महिलातर्फ नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी भने हुन् । एक प्रकारले उनले स्वर्ण जित्ने तय जस्तै थियो, यस्तो अपेक्षा थियो उनीमाथि ।
ट्रायथलनमा फेवातालमा सात समय मिटर पौडी, त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड थियो । त्यसलाई उनले १ घन्टा १३ मिनेट र ४५ सेकेन्डमा पूरा गरिन् । यसक्रममा उनले भारतीय र श्रीलंकाली खेलाडीबाट चर्को प्रतिस्पर्धाको सामना गर्नु परेको थियो । तर योजनाबद्ध ढंगले अगाडि बढेकी सोनीलाई कसैले उछिन्न सकेनन् । यो सफलता पछाडि लुकेको छ, उनको लगातारको मेहनतदेखि पुरानो साइकलका कथा पनि ।
आयशा शाक्य र संजीवकुमार ओझा, तेक्वान्दो
यो यसपल्टको सागमा आयशा शाक्यले जितेको दोस्रो स्वर्ण रह्यो र यसमा उनलाई साथ दिने खेलाडी थिए, संजीवकुमार ओझा । यससँग आयशाले सागमा जितेको स्वर्णको सख्या तीन पुगेको छ । संजीवकुमारको भने यो पहिलो स्वर्ण हो । उनीहरूले पोम्सेको २९ वर्ष माथिको उमेर समूहको जोडीमा ८.१६० अंकसहित पहिलो स्थान हात पारे । पाकिस्तानका महरून निशा र साहबाज अहमदको जोडीलाई दोस्रो स्थानमा छाडे । त्यो जोडीले ७.८६० प्राप्त गरेको थियो । यो अर्थमा आयशा र संजीवकुमारको जित सहज रह्यो ।
महिला टिम काता, कराँते
कातामा नेपाली कराँतेमा सुरुदेखि बलियो हो । यो बलियोपन महिला टिम कातामा बढी छ र त्यसै कारणले नेपालले हात पार्यो, यही विधामा स्वर्ण । नेपाली टिमका तीन खेलाडी थिए, निर्मला तामाङ, सुरु कार्की र संगीता मगर । उनीहरूले पहिलो स्थानको होडमा पाकिस्तानी टिमलाई हराएका थिए । नेपाली टिमले २४.८८ अंक प्राप्त गरेको थियो भने दोस्रो हुने पाकिस्तानको नाममा रह्यो, २३.०३ । नेपाली टिमले स्वर्णका लागि खासै चर्को प्रतिस्पर्धा सामना नै गर्नु परेन् ।
अनु अधिकारी, कराँते
स्वर्ण पदकका लागि सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रहिन्, अनु अधिकारी । उनी अहिलेको पुस्ताका नेपाली कराँते खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ । उनीसँग पर्याप्त अनुभव पनि छ । यसअघिका केही प्रमुख प्रतियोतिगामा सफलताको नजिक पुगेर पनि निराश हुनुपर्ने खेलाडी रहेकी थिइन, यी अनु । तर, यसपल्टको सागमा उनले यस्तो गल्ती दोहर्याउने काम गरिनन् । यसअघि उनी ११ सागमा रजत पदकमै सीमित भएकी थिइन् ।
तर, यसपल्ट महिला कुमुतेको ५० केजी तौल समूहको फाइनलमा उनले श्रीलंकाली खेलाडी डन पाउलुलाई सजिलै ८–० ले पछाडि छाडेर टेक्निकल जित निकालिन् । फाइनलमा उनी यस्तो जित निकाल्ने एक मात्र खेलाडी रहेकीछिन् । यसअघि सेमिफाइनलमा पनि उनले यस्तै टेक्निकल जित निकाल्ने क्रममा बंगलादेशकी फमिदा अख्तरलाई ८–० ले पछाडि छोडिन् । त्यस अर्थमा अनुको जित सर्वाधिक एकपक्षीय र उत्तिकै प्रभावशाली दुवै रह्यो ।
पुरुष टिम काता, कराँते
आयशा शाक्य जस्तै नेपालका लागि आफ्नो विधामा दोस्रो स्वर्ण जित्ने खेलाडी रहे, कराँतेका मण्डेकाजी श्रेष्ठ । उनी सम्मिलित समूहले पुरुष टिम कातामा पहिलो स्थान हात पारे । उनलाई यसमा साथ दिने अन्य खेलाडी थिए, प्रविण मानन्धर र महसुस तामाङ । उनीहरूको टिमले स्वर्णका लागि २५.५४ अंक हासिल गरेको थियो । यसक्रममा उनीहरूले बंगलादेशी टिमबाट बलियो चुनौतीको पनि सामना गर्नुपरेको थियो । श्रीलंकाली टिमले २५.२८ अंक प्राप्त गरेको थियो ।
कमल श्रेष्ठ, तेक्वान्दो
नेपाली तेक्वान्दोका अनुभवी खेलाडीमा पर्छन्, कमल श्रेष्ठ । संगीना वैद्य र दीपक विष्टको पुस्तापछिका सुरुआती खेलाडीमा पर्छन्, उनी । यिनै कमलले तेक्वान्दोबाट नेपालका लागि स्वर्ण भित्र्याउने महत्त्वपूर्ण काम गरे । उनले तेक्वान्दोको पोम्सेतर्फ पुरुष एकल २३ देखि २९ वर्षको उमेर समूहमा स्वर्ण जित्न सफल भएको हुन् । संयोग कस्तो भने यसपल्टको सागदेखि मात्र तेक्वान्दोको यो विधा सागमा भित्रिएको हो र उनले यसको भरपुर फाइदा लिए ।
उनले स्वर्ण जित्नेक्रममा भारतका राहुल जैनलाई दोस्रो स्थानामा छाड्न सफल रहे । उनले ८.२७० अंक प्राप्त गरेकोमा राहुल ८.२०० मै सीमित भएका थिए । यसले पनि देखाउँछ, उनले कति धेरै प्रतिस्पर्धाको सामना गर्नु परेको थियो भनेर । खेलपछि उनको प्रतिक्रिया पनि उत्तिकै रोचक थियो । उनको खुसी हेरिनसक्नु थियो, जुन स्वभाविक पनि थियो । उनले भने– ‘तेक्वान्दोबाट यसपल्टको सागमा पहिलो स्वर्ण दिने खेलाडीका रूपमा सम्झिने छन्, त्यसमा खुसी छ ।’