खेलाडीको खुराक

- केपी लम्साल

मंसिर २०, २०७६

यतिबेला १३ औं दक्षिण एसियाली खेल नेपालमा चलिरहेको छ । खेल क्षेत्रको यो माहौलसँगै खेलको विकाससँग सम्बन्धित विषयहरूमा बहस पनि भइरहेका छन् । नेपाली खेल जगतमा कम महत्त्व पाएको तर अत्यन्तै महत्त्वपूर्ण विषय हो— खेलाडीहरूको पोषण व्यवस्थापन ।

कुनै पनि खेलाडीलाई अब्बल खेल प्रदर्शनका लागि बलियो आत्मबल, कुशल प्रशिक्षण तथा असल खानपान र जीवनशैली मुख्य कुरा हुन् । खानपान र जीवनशैलीको व्यवस्थापन अर्थात् उचित पोषण व्यवस्थापनले खेलाडीको खेलकौशल मात्र होइन, खेल जीवनपश्चात्को बाँकी जिन्दगीको स्वास्थ्यलाई समेत फाइदा पुग्छ । अभ्यासका बेला, खेल खेल्नुअगाडि वा पछाडि कस्तो खाना, कति मात्रामा, कसरी खाने, कस्तो जीवनशैली अपनाउने भन्ने कुराले खेलाडीको स्वास्थ्य र खेल प्रदर्शन निर्धारण गर्छ । हामीकहाँ पूर्वखेलाडीहरू मुटु रोगी भएको, मधुमेह भएको, हाडका रोगी भएको, ह्दयाघात भएर ज्यान गएको जस्ता दृष्टान्तहरू पोषण व्यवस्थापन गर्न नसक्दाकै उपज हुन् ।

खेलाडीलाई उचित पोषण भएन भने तत्कालीन रूपमा उसको खेल अब्बलता खस्किन्छ भने दीर्घकालीन रूपमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखा पर्छन् । खेलको अभ्यासका बेला, प्रतियोगिताका दौरान, खेलपश्चात् वा विश्रामको अवधिमा खेलाडीले आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिएनन् भने खेल स्टामिनामा ह्रास आउनुका साथै न्यून वा अधिक पोषणका कारण दीर्घरोग निम्तिन्छन् । 

पोषणको असन्तुलनले खेलाडीहरूमा खेलका दौडान चाँडै थकान महसुस हुने, खेलमा राम्रो ऊर्जा नपाउने, रिँगटा लाग्ने, शरीर झमझमाउने, श्वास–प्रश्वासमा गडबडी, जलवियोजन, मांसपेशी र जोर्नीहरू दुख्ने आदि समस्या देखिन्छ । खानपानमा ध्यान नदिँदा तौल अधिक वा कम हुने र त्यससँग जोडिएका विभिन्न समस्या देखिन्छन् । दीर्घकालमा मुटु रोग, मधुमेह, हाडजोर्नीको समस्या, ह्दयाघात आदि देखिन सक्छ ।

विशेष गरी बल प्रयोग गरेर खेल्नुपर्ने खेलका खेलाडीहरूको शरीरको संरचना (बोसो र मांसपेशीको अनुपात) ले उनीहरूको प्रदर्शनमा ठूलो महत्त्व राख्छ । खेलका दौरान आवश्यक ऊर्जाको सहज आपूर्तिका लागि शरीरमा बोसो र मांसपेशीको अनुपात, उचित तौल कायम राख्नुपर्छ । उदाहरणका लागि बक्सिङ खेल्ने पुरुष खेलाडीको शरीरमा ९ देखि ११ प्रतिशत चिल्लो पदार्थ (बोसो) हुनु राम्रो मानिन्छ, जब कि त्यही उमेरको सामान्य पुरुषका लागि २० प्रतिशतसम्म बोसोको मात्रालाई सामान्य मानिन्छ । अत: सामान्य मानिसका लागि तौलको अवस्था पत्ता लगाउन प्रयोग गरिने बीएमआई (शरीर पिण्ड सूचकांक)ले खेलाडीका लागि उचित नतिजा नदिन सक्छ । उनीहरूका लागि शरीरमा बोसो र मांसपेशीको अनुपात मुख्य कुरा हो ।

विशेष गरी खेलाडीको शारीरिक पोषणमा खानाको क्यालोरी, प्रोटिन, भिटामिन बी १२, भिटामिन ए, सी, ई, क्याल्सियम, आइरन, जिंकजस्ता पोषक तत्त्वले धेरै महत्त्व राख्छन् । नेपालजस्ता मुलुकमा करिब ४३ प्रतिशत प्रजनन् उमेरका महिलाहरूमा आइरन, क्याल्सियम जस्ता खनिजको कमी देखिएकाले विशेष गरी महिला खेलाडीहरूका लागि आइरन र क्याल्सियमको सन्तुलन राख्नु महत्त्वपूर्ण हुन्छ ।

खेलाडीहरूका लागि स्वस्थ प्रोटिनको उचित मात्राको उपभोगले ठूलो अर्थ राख्छ । खेल खेल्नुभन्दा अगाडि सामान्यत: भोको पेट वा टन्न अघाएको पेटमा नखेल्ने, शरीरमा ग्लाइकोजनको मात्रा सन्तुलित राख्ने, खेल सुरु हुनुभन्दा करिब २ घण्टाअगाडि १ देखि ४ ग्राम कार्बोहाइडेट प्रतिकेजी शारीरिक तौल बराबरको खाना खाने, कम चिल्लो पदार्थ भएको खाना खाने, धेरै फाइबर भएको तथा ग्याँस उत्पादन गर्ने खाना खानु हुँदैन । स्वस्थ खेल जीवनका लागि रक्सी तथा धूमपानबाट टाढा बस्नुपर्छ । बजारमा डाइटरी सप्लिमेन्टका नाममा आएका वस्तु विज्ञापनका भरमा खानु हँुदैन । खानैपर्ने भए पोषणविद्को सल्लाहमा मात्र खाने हो भने पनि त्यसको उपयोगिताबाट फाइदा लिन सकिन्छ । विशेष गरी इनर्जी ड्रिंक्स र प्रोटिन कन्सन्ट्ेरटका नाममा बजारमा आएका सप्लिमेन्टहरू जथाभावी खाँदा स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । 

खेलाडीहरूका लागि खेल वा अभ्यास सकिएपछि खाने खानाले पनि ठूलो महत्त्व राख्छ । खेलका दौरान पसिनाका माध्यमबाट इलेक्ट्रोलाइटहरू नष्ट हुने भएकाले खेल पछाडि खाइने खानामा सोडियम, पोटासियमजस्ता खनिजको मात्रा पनि आवश्यकताअनुसार सन्तुलनमा राख्नुपर्छ । खेलका दौरान पिइने पानीमा समेत यस्ता इलेन्ट्रोलाइटको केही मात्रा राख्न सकिन्छ । शारीरिक कसरत हुने खेल खेलेको १ देखि २ घण्टाभित्र सजिलै शोसिन सक्ने खालको कार्बोहाइड्रेटयुक्त तरल खाना खाँदा रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग पुग्छ । १ दशमलव २ देखि २ ग्राम प्रतिकेजी शारीरिक तौल प्रतिदिन बराबरको प्रोटिन, सन्तुलित मात्रामा कार्बोहाइड्रेट र चिल्लो पदार्थ पर्ने गरी खानाको योजना बनाउनुपर्ने हुन्छ । खेलको प्रकृति, खेलाडीको अवस्था, उमेर, लिंग, तौल उचाइ आदिले हरेक खेल र खेलाडीअनुसार पोषण आवश्यकता फरक पर्ने हुँदा खेलअनुसारको पोषण मार्ग दर्शन बनाउन र उचित परामर्शका लागि पोषणविद्हरूको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

(लम्साल पोषणविद्  हुन् ।)

प्रकाशित :मंसिर २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×