रहस्यमै रहे सामूहिक हत्याकाण्ड

- माधव घिमिरे

मंसिर २१, २०७६

सुन्दै आङ सिरिङ्ग हुने परिवारैको हत्या, निर्दोष बालबालिकाको हत्याजस्ता घटना पछिल्लो समय बढिरहेका छन् । खुकुरीले रेटेर अनि कतिपय घटनामा घरैसहित जलाएर हत्या गरिएका उदाहरण प्रशस्त छन् । खासै ठूलो कारण नदेखिए पनि किन र कसले हत्या गर्‍यो भन्ने ठोस प्रमाण जुटाउन प्रहरी असफल भएका धेरै काण्डको लामै सूची बन्छ । किन पत्ता लाग्दैनन् त अपराधी ? 

प्रहरी अधिकारीहरू कतिपय अवस्थामा लामै अनुसन्धानबाट पनि अपराधी पत्ता नलाग्ने दाबी गर्छन्, तर कति घटनामा प्रहरीको बेवास्ता मुख्य कारण देखिने गरेको छ । जस्तो, भोजपुरको एक घटना, जहाँ तीन बालबालिकाको मृत्युबारे प्रहरीकै बेवास्ताका कारण अनुसन्धान रोकिएको छ । स्थानीय तह निर्वाचनताका अरुण गाउँपालिका–३, प्याउलीका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाँल र ८ वर्षीय प्रदीप फुयाँलको ‘शंकास्पद मृत्यु’ भएको थियो । २०७४ असार १० गते साँझ हराएका तीनै जना बालबालिका १२ गते मरेङडाँडास्थित तोरन कार्कीको माछापोखरीमा मृत फेला परेका थिए । 

जिल्ला प्रहरी कार्यालय, भोजपुरले यो घटनाको निचोडमै नपुगी फाइल बन्द गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले घटनाबारे औपचारिक अनुसन्धान नभएको बताए । ‘फाइल खोलेर औपचारिक रूपमा टिम बनाएर अनुसन्धान गरिएको छैन, व्यक्तिगत रूपमा अनुसन्धान भइरहेकै छ,’ उनको भनाइ छ ।

घटनालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरको सहयोगमा अनुसन्धान गरिएको थियो । घटनाबारे जिप्रका, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो, विराटनगरले महिना दिनसम्म अनुसन्धान गरेका थिए ।

अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयको गुनासोपछि अनुसन्धान अधिकृत दधिराम न्यौपाने नेतृत्वको सीआईबी टोलीले घटनास्थलमै पुगेर एक सातासम्म अनुसन्धान गरेको थियो तर, यो घटनाका दोषी अझै पत्ता लागेका छैनन् । घटनापछि बालबालिका गुमाएका परिवार भोजपुर छाडेर सुनसरीको इटहरी बसाइँ सरेको छ ।

परिवारै सखाप भएका, सामूहिक हत्या अनि आगजनी गरी परिवारैसहित जलाएका अनेक घटनाका दोषी अझैसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरी, प्रशासन, मन्त्री र प्रधानमन्त्रीसम्म पुगेर रोइ–कराइ गुहार माग्दामाग्दा कतिपय पीडित परिवारले अब आस मार्न थालेका छन् । घटना अनुसन्धानमा प्रहरी निष्कर्षमा पुग्न नसक्नु अनि दोषी पत्ता नलाग्दा पीडित थाकेका छन् । 

मोरङको कानेपोखरी–३, हरकपुरमा दुई वर्षअघि मध्यराति घरसहित जलेर परिवारका चार जनाको मृत्यु भयो । आफन्तले कसैले आगजनी गरिदिएको भन्दै उजुर गरे । यसका आधारमा प्रहरीले अनुसन्धान पनि गर्‍यो तर दोषी पत्ता लगाउन सकेन । न त घटनाको कारण नै प्रस्ट भयो । दसैं आउन लाग्दा भएको उक्त घटनामा ८६ वर्षीया गंगामाया राई, उनका ५६ वर्षीय छोरा चन्द्रकुमार राई, छोरी ४९ की पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारी मारिएका थिए ।

दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र घरमा रहेका चारै जनाको मृत्यु हुनु रहस्यमय भएको आफन्तको दाबी छ । आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी–४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसै बेला नियन्त्रणमा लिएर सोधपुछ गरी केही समयमै छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । केही शंकास्पद व्यक्तिबारे जानकारीसमेत दिइए पनि अनुसन्धान गम्भीर रूपले हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको मृतक गंगामायाकी छोरी इन्दिरा राईको गुनासो छ ।

गत वर्ष झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडास्थित एक घरमा राति आगो लाग्दा परिवारका चार जनाको मृत्यु भयो । यो घटनाको पनि प्रहरीले वास्तविकता बाहिर ल्याउन सकेको छैन । घटनामा जलेर ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको मृत्यु भएको थियो । काठको दुईतले घरको चारैतर्फबाट एकैपटक आगो दन्किएको देखेका गाउँलेले आगलागी नभई नियोजित आगजनी भएको बताउँदै आएका छन् ।

शिवसताक्षीमा २०६१ मा संग्राम खड्काको घरमा आगलागी हुँदा उनीसहित परिवारका ५ जनाको जलेर मृत्यु भएको थियो । ०६९ सालमा साविक सतासीधाम गाविसको दूधे बजारमा मनिका खरेल भट्टराईको घरमा आगलागी हुँदा उनीसहित दुई छोराको जलेर मृत्यु भएको थियो । यी घटना पनि शंकास्पद भएको भन्दै आफन्तले उजुरी गरे पनि वास्तविकता पत्ता लाग्न सकेको छैन ।

केही महिनाअघि पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जनाको एकै रात हत्या भयो । स्थानीय बमबहादुर फियाकसहित परिवारका चार जना र बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारका पाँच जनाको खुकुरीले शरीर क्षतविक्षत हुने गरी काटेर हत्या गरिएको थियो ।

घटनाकै राति झुन्डिएर आत्महत्या गरेका ती परिवारका ज्वाइँ मानबहादुर माखिमले हत्या गरेको भन्ने प्रहरीले ठहर गरेको छ । ठोस प्रमाण नपाइए पनि स्थानीय र आफन्तसँगको कुराकानी र प्राप्त प्रमाणका आधारमा प्रहरीले यस्तो ठहर गरेको हो ।

प्रहरी उपरीक्षक (एसपी) उमा चतुर्वेदी नेतृत्वको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले साताभन्दा बढी समय घटनास्थलको अध्ययन गरेको थियो । तत्काल प्राप्त प्रमाण, आफन्त र स्थानीयसँगको कुराकानीका आधारमा घटनामा एक जनाभन्दा बढीको संलग्नता नदेखिएको चतुर्वेदीको भनाइ छ । उक्त टोलीले मानबहादुर नै घटनाका कारक रहेको ठहर गर्दै प्रतिवेदन माथिल्लो निकायमा दिएको छ ।

२५ वर्षअघि पाँचथरको लुङरुपा–९, टिम्बुरेमा भएको दुलाल परिवार हत्यामा संलग्न भने कुकुरको सहयोगमा पत्ता लगाइएको थियो । २०५० वैशाख १७ गते बेलुका तत्कालीन नेकपा एमालेका सचिव रहेका कुबेरप्रसाद दुलाललाई पार्टीको बैठक छ भनी केही मानिस बोलाउन आएका थिए । रातको समयमा खालोपारि नांगिनमा पुर्‍याएर पानी बगाउने कुलोमा बीभत्स हत्या गरेको अहिले इलाममा रहेका परिवारका सदस्य होम दुलाल बताउँछन् ।

कुबेरलाई मारेर फर्किएपछि श्रीमती सरस्वती र छोरी कृष्णसँगै छोराहरू उमेश र उद्धवको हत्या गरिएको होमले बताए । पारिवारिक हत्याका अभियुक्त पत्ता लगाउन प्रहरीले कुकुरको सहयोग लिनुपरेको थियो । कुकुरले कुबेरका दाजु पर्ने ओमनाथलाई संकेत गरेपछि पुरानो रिसइबीका कारण हत्या गरेको स्विकारेका थिए । उनीसँगै ७ जनाले ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउन लगाएको बयान दिएका थिए । उनीहरूलाई अदालतले जनही २० वर्ष कैद सजाय सुनाएको थियो । यो घटनामा सामूहिक बलात्कारसमेत भएको थियो । उनीहरू ३ 

वर्षअघि कैद भुक्तान गरी जेलबाट छुटेका थिए । सामूहिक हत्याका घटनाको सुरुमा सक्रिय रूपमा अनुसन्धान गरिए पनि पछिल्लो समय त्यता ध्यान नगएको एक प्रहरी अधिकृतले बताए । प्रदेश प्रहरी कार्यालयका ती अधिकृतका अनुसार काठमाडौंबाट समेत विशेष टोली खटिएर अनुसन्धान गरिएकाले स्थानीय प्रहरीले सहयोग गर्ने गरे पनि आफैं फेरि त्यसमा अनुसन्धान गर्ने क्रम घटेको छ ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार गत वर्ष प्रदेश १ का १४ जिल्लामा ४ हजार २ सय ३१ आपराधिक घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार तीमध्ये हत्याका ७२ र ज्यान मार्ने उद्योगका १ सय १८ घटना भएका थिए ।

‘साधनस्रोतको अभाव मुख्य कारण’

राजेन्द्रसिंह भण्डारी /पूर्व एआईजी, नेपाल प्रहरी

ठूला अपराध/सामूहिक हत्या घटनाका दोषी किन पत्ता लाग्दैनन् त ? नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका संस्थापक निर्देशक पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार सामूहिक हत्या घटनामा प्रत्यक्षदर्शी अभाव हुने गरेको छ । यस्ता हत्या आवेशप्रेरित र मनसाययुक्त पनि हुने भएकाले कतिपय घटनामा दोषी समेत हुने मृतकसँगै यथार्थ कुरा हराएर जान्छ । कतिपय घटनामा पेसेवर आपराधिक समूहको संलग्नता हुन्छ र प्रमाण नष्ट गरिन्छ । 

‘कतिपय ठूला घटनाका दोषी लामै समयपछि पनि पक्राउ परेका उदाहरण छन्,’ भन्छन्, ‘तर प्रमाण नभेटिने, प्रत्यक्षदर्शीको अभाव हुने अनि सम्भावित दसी प्रमाण नरहने गरी नष्ट गर्ने अवस्थामा भने दोषी पत्ता लगाउन सहज हुँदैन ।’ 

गम्भीर किसिमका अपराध अनुसन्धानका लागि दक्षता, क्षमता र साधनस्रोतको महत्त्वपूर्ण भूमिका हुन्छ । भण्डारी नेपाल प्रहरीका अनुसन्धानकर्मीहरूमा यसको कमी रहेको बताउँछन् । ‘दक्ष, व्यावसायिक र क्षमतावान् जनशक्ति तयार गर्न लगानी गर्नुपर्छ’, उनी भन्छन्– ‘अभावै अभावको अवस्थामा गतिलो परिणाम निकाल्न सकिँदैन ।’

 

प्रकाशित :मंसिर २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×