टिनएज फेन्टासी 

- सुजाता मुखिया

मंसिर २३, २०७६

 

टिनएज यस्तो उमंग र ऊर्जाले हराभरा उमेर हो, जसले हरेक कुरालाई सम्भव मात्र देख्छ । आफूले सोचेका र चाहेका कुराहरू पूरा हुन्छ भन्ने लाग्छ । त्यसैले उनीहरू सप्तरंगी परिकल्पनामा मग्न रहन्छन् । उमंगित र चञ्चल रहुन्छन् । 

अनेकथरी कल्पनाको तानाबाना बुन्ने, असीमित आकांक्षामा तैरिने, आफैंमा मग्न रहने उमेर हो, टिनएज । किशोरपुस्ताकै मनोविज्ञानमा आधारित उपन्यास लेखेका अमर न्यौपाने भन्छन्, ‘टिनएजका आँखामा एकदमै ठूलो सपना हुन्छ । टिनएज काल्पनिक हुन चाहन्छन्, किनभने उनीहरू असम्भव जस्तै लाग्ने कल्पनाहरूलाई सम्भव आँखाले हेर्छन् ।’ 

टिनएज यस्तो उमंग र ऊर्जाले हराभरा उमेर हो, जसले हरेक कुरालाई सम्भव मात्र देख्छ । आफूले सोचेका र चाहेका कुराहरू पूरा हुन्छ भन्ने लाग्छ । त्यसैले उनीहरू सप्तरंगी परिकल्पनामा मग्न रहन्छन् । उमंगित र चञ्चल हुन्छन् । २३ वर्षे र्‍यापर समीर घिसिङ अर्थात् भिटेन भन्छन्, ‘म प्राय: टिनएजका बेला पूरै नहुने सपनासमेत सोच्थें र त्यसमै मग्न भएर आनन्द लिन्थें । अहिले पनि म विश्वकै चर्चित र्‍यापर बन्ने सपना देख्छु ।’

टिनएजलाई लेखक न्यौपानले ‘गुलाबी उमेर’ को संज्ञा दिँदै लेखेका छन्, ‘बादलझैं उडेको सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो ।’ आफ्नो जीवनका सम्बन्धमा, भविष्यका सम्बन्धमा, प्रेमका सम्बन्धमा, करियरका सम्बन्धमा उनीहरू सुनौलो सपना बुन्छन् । तर, एउटा सपना परिपक्व हुन नपाई फेरि अर्को सपनामा फड्को मार्छन् । यसरी उनीहरू सपनाको सागरमा तैरिरहन्छन् । र्‍यापर भिटेन आफ्ना किशोरवय सम्भँmदै भन्छन्, ‘पढ्न मन नलाग्ने तर ठूलठूला सपना देख्थें । साथीभाइसँग हाउडे गफ लगाउँदै बसिन्थ्यो । कहिले पार्टीमा, कहिले र्‍याप गाउँदै हिँडिन्थ्यो ।’ 

तर उमेर बढ्दै गएपछि उनलाई लाग्यो, ‘सपना देखेर मात्र हुँदैन, प्यासन पनि हुनुपर्छ । डेडिकेसन हुनुपर्छ ।’ किशोरवयमा गरिने परिकल्पनालाई उनी गलत र भ्रम मान्दैनन् । भिटेन भन्छन्, ‘संसार नै बदल्न त सकिँदैन, तर त्यस्तै सोच राख्नुपर्छ । जहिले पनि ठूलो सपना नै देख्नुपर्छ ।’ 

यो एक स्वप्निल उमेर हो । त्यसैले त उनीहरू यथार्थ एवं वास्तविकताको धरातल छाडेर बेग्लै दुनियाँमा हराइरहेका हुन्छन् । मनोपरामर्शदाता रमा कार्की भन्छिन्, ‘दिवास्वप्न किशोरावस्थाको एउटा फरक खालको अनुभव हो, जसमा किशोरावस्थाको केटा वा केटीमा विभिन्न भावनात्मक, वैचारिक सोचको विकास हुन्छ । ती सोचहरूले नै उनीहरूलाई पछि गएर परिपक्व वा जिम्मेवार व्यक्ति बनाउन मद्दत गर्छ ।’

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत १७ वर्षीय पल पराजुलीको परिकल्पना अनौठो छ, यदि त्यसो भइदिएको भए, यो पुरा ब्रह्मान्डमा बोलिने भाषा एउटै हुन्थ्यो । सबै कुरा सहज र सरल हुने उनको बुझाइ छ । उनको सपनाले पखेटा हालिसकेको छ । उनको सपना हो, सेलिब्रेटी सेफ बन्ने । जेम्मी ओलिभरलाई आफ्नो आदर्श बनाएका उनी विश्वको सबै स्वाद नेपाल भित्र्याउने कल्पना गर्छन् । उनको ग्लोबल कलेजमै अध्ययनरत प्रकृति श्रेष्ठ आफूलाई कसरी रुपवती बनाउने भनेर कल्पिन्छन् । कतिसम्म भने, आफ्नो शरीरका अंगहरूलाई प्लास्टिक सर्जरी गरेर आकर्षक बनाउने आकांक्षा राख्छिन् । 

१३ देखि १९ वर्षको उमेर–चरण टिनएज अर्थात् किशोरावस्था हो, जुन आफैंमा संवेदनशील मोड पनि हो । यतिबेला उमेर हुन्छ, ऊर्जा हुन्छ, उमंग हुन्छ, उत्साह हुन्छ । संसारका सबै कुरा पाउँछु र जित्छु भन्ने आँट हुन्छ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा पढ्दै गरेकी १७ वर्षीया इच्छा खतिवडा सुनाउँछिन्, ‘अहिलेसम्म कसैले गर्न नसकेको काम गरौं भन्ने लाग्छ ।’ उनकै सहपाठी सन्दीप आचार्य पनि भविष्यका बारेमा अनेक–अनेक कल्पनामा डुब्छन् । ‘आफ्नो जीवनका बारेमा यस्तो कल्पना गरिन्छ कि त्यो पूरा हुने हो वा होइन भनेर डर पनि लाग्छ,’ सन्दीप सुनाउँछन् । 

भावनात्मक र शारीरिक हिसाबले यो एक उथलपुथलको उमेर पनि हो । यतिबेला भावना मात्र होइन, शरीर पनि तीव्र परिवर्तनबाट गुज्रिरहेको हुन्छ । जस्तो कि, यौनाङ्गको विकास हुने, मासिक स्राव सुरु हुने, विपरितलिंगीप्रति आकर्षण बढ्ने र शरीरको रुपरेखा नै बद्लिँदै गएको हुन्छ । 

परामर्शदाताहरू भन्छन्, ‘टिनएज एक खतरनाक उमेर हो, किनकि यो समयमा बच्चा न बच्चा रहन्छ, न त वयस्क नै भएका हुन्छन् । आफ्नो शरीरमा आएको शारीरिक, हार्मोन र इमोसनल परिवर्तन न त उनीहरू बुझ्न सक्छन्, न त पहिचान नै गर्न सक्छन् ।’

ठीक यही उमेरमा अभिभावकले उनीहरूमाथि निगरानी र चासो राख्न थाल्छन् । एकातिर अभिभावकको निगारानी, अर्कातिर उड्न खोज्ने मन । एकातिर करियर र पढाइको चाप, अर्कातिर सप्तरंगी सपना । किशोरवयमै दौडिरहेका प्रथम खनाल भन्छन्, ‘अभिभावकले त यहाँसम्म गरिदिनुभयो, म उहाँहरू जत्तिको लेभलमा पुग्न सक्छु कि सक्दिनँ, सकिनँ भने के हुन्छ होला, समाजले के भन्छ होला, अभिभावकले के भन्ला भन्ने सोच आउँछ ।’ १७ वर्षीया अनुजा खड्का चाहिँ आमाबाबुका कारण आफ्नो इच्छा दबाउनुपरेको बताउँछिन् । उनलाई नाच्न मन पर्छ । तर, परिवार यसमा राजी छैनन् । अनुजा भन्छिन्, ‘मेरो व्यक्तिगत इच्छा, चाहना नाचगानमा छ तर मेरो परिवारलाई मन पर्दैन । सायद परिवारलाई कन्भिन्स गर्न सकेको भए मैले आफ्नो रहर पूरा गर्न पाउँथें ।’ यद्यपि उनी अहिले आफ्नो पढाइ र करियरमा केन्द्रित छिन् । राम्रो काम गरेर प्रसिद्धि कमाउन चाहन्छिन् । 

लेखक न्यौपाने टिनएजलाई काल्पनिक उमेर मान्छन् । कल्पनालाई उनी आविष्कार मान्छन् । न्यौपाने भन्छन्, ‘कल्पना भनेको एकदमै महत्त्वपूर्ण कुरा हो । जस्तो कि जहाज बनाउनेले पनि जहाज बनाउनुभन्दा पहिला जहाजको कल्पना गरेका हुन्छन् ।’ यो सबैभन्दा तरल उमेरसमेत भएकाले किशोरहरू जता पनि बहकिने र बग्ने गर्छन् । त्यसैले उनीहरूलाई सही बाटो औंल्याइदिनुपर्ने खाँचो रहेको बताउँछन् । 

टिनएजमा शारीरिक तथा मानसिक परिवर्तन आउँछ, जसले मनमा अनेक किसिमको उथुलपुथुल मच्चाउँछ । उनीहरू एकैसाथ धेरै किसिमको परिस्थितिबाट गुज्रिरहेका हुन्छन् । सबै किशोर–किशोरीहरूको आ–आफ्नै स्वभाव हुन्छ, त्यसैले हामीले उनीहरूलाई अर्को किशोरसँग दाँज्ने भन्दा पनि आवश्यक वा वैचारिक रूपले समर्थन गर्नुपर्छ । किनभने किशोरावस्थामा आउने विभिन्न भावनात्मक परिवर्तनलाई सकारात्मक तवरले व्यवस्थापन गर्न नसक्दा देखिने नकारात्मक प्रतिफलको रूप आत्महत्या हो । पल पराजुली भन्छन्, ‘यो उमेरमा जे गर्न पनि आँट आउँछ । कसरी, के, किन भन्ने थाहा छैन तर पनि गर्नुपर्ने । यो उमेरलाई सही तरिकाले जिउन सकियो भने सबैभन्दा आनन्दमय हुन्छ । नगरेको कुरा सबै गर्ने हो तर लत नै बनाउन हुँदैन । उनी थप्छन्, ‘सही र गलतबीचको फरक बुझे लाइफ ड्यामेज होइन म्यानेज हुन्छ ।’

मनोपरामर्शदाता रमा कार्की सुझाउँछिन्, ‘यस दौरानमा उनीहरूले आफ्नो सोचलाई सही तरिकाले व्यवस्थापन गर्न जानेनन् वा वातावरण पाएनन् भने दुर्घटना पनि हुन सक्छ ।’ किशोरावस्थामा आइपर्ने विभिन्न खालका परिस्थिति जस्तै प्रेम, यौन, करियरप्रतिको चिन्ता, साथीहरूको प्रभाव, बुलिङ, रक्सी एवं मादक पदार्थको कुलत, इटिङ डिसअर्डर, हिंसा, अभिभावक र परिवारको नियन्त्रणले गर्दा उनीहरूमा एक प्रकारको बेग्लै परिस्थितिको सिर्जना भइरहेको हुन्छ । 

मनोपरामर्शदाता कार्की भन्छिन्, ‘भविष्यका बारेमा विभिन्न परिकल्पना हुने हुँदा अभिभावकले आफ्ना छोरा वा छोरी कस्ता संगतमा जाँदै छन् भन्ने कुरामा चाहिँ अवश्य पनि ध्यान दिनु आवश्यक छ ।’

अहिलेको पुस्ताको जीवनशैलीमा इन्टरनेट र डिजिटल डिभाइस प्रमुख हिस्सा बनेको छ । यसको नराम्रो असर टिनएजलाई परेको छ । डिजिटल डिभाइसको नकारात्मक असरका कारण टिनएजर्स मानसिक तनावको सिकार हुन्छन् । 

अमेरिकामा ‘सान डिएगो स्टेट युनिभर्सिटी’ ले गरेको अध्ययनले टिनएजर्समा स्मार्ट फोनको लतले उनीहरूको जीवन खतरामा रहेको देखाएको छ । रिपोर्टमा चेतावनी दिँदै स्मार्टफोन र कम्प्युटरको धेरै प्रयोगले टिनएजर्स डिप्रेसनको सिकार हुने बताएको छ । यही डिप्रेसनले उनीहरूलाई आत्महत्या गर्न बाध्य पारिरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । 

यो उमेरका कतिपय पढाइका साथसाथै पैसा कमाउने होडमा पनि लाग्छन् । च्याटिङ, ट्विटर, फेसबुक, धूम्रपान, मद्यपान, यौनजस्ता कुरामा समय बिताउँछन् । आफ्नो समस्या आमाबुवालाई बताउन डराउँछन् । यसकारण उनीहरू तनावमा रहन्छन् । 

सन् २००८ मा गरेको अध्ययनले अमेरिकामा हुने कुल गर्भपतनमध्ये १८ प्रतिशत किशोरी रहेको देखाएको थियो । ‘अमेरिका र नेपालको अवस्था एउटै नहोला,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाह भन्छन्, ‘तर पछिल्लो चरणमा व्यस्त अनि पश्चिमा जीवनशैलीको विकास हेर्दा हामी प्रेम, यौन र गर्भपतनमा धेरै पछाडि नरहेको देखिन्छ ।’

१७ वर्षीया प्रकृति श्रेष्ठलाई अहिलेको टिनएज भोलिका बारेमा सोच्छन् जस्तो लाग्दैन । उनीहरूले ‘लाइफ इज सर्ट’ फर्मुला पछ्याइरहेका छन् । उनी भन्छिन्, ‘त्यसैले उनीहरू जहिले पनि मस्तीको मुडमा रमाउन चाहन्छन् ।’ 

हाम्रो देशमा टिनएजर्सको मानसिक वा मनोसामाजिक पाटोलाई त्यति धेरै ध्यान दिइएको पाइँदैन र अझै पनि धेरैजसो परिवारमा पुरातन शैलीअनुसार अभिभावकले आफ्नै विचार लादेको पाइएको छ । अझ किशोरावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनका कुरालाई विद्यालयस्तरदेखि नै उठाउन सकियो भने ती किशोर–किशोरीहरूले आफूलाई आफैंले सहयोग गरी संयम हुन सिक्ने उनको भनाइ छ । 

टिनएजर्सले आफ्नो जीवनलाई नै प्रयोगशालाजस्तो बनाएको हुन्छ । हरेक कुराको प्रयोग गरेर हेर्न चाहन्छन्, चाहे त्यो खानपानको कुरा होस् वा फेसनको । कस्तो लुगाले आफूलाई सुहाउँछ, कसरी स्टाइलिस देखिन्छ, कस्तो हेयरस्टाइल बनाउने भन्ने कुरामा पनि उनी आफैंमाथि प्रयोग गरिरहेका हुन्छन् । एक हिसाबले उनीहरू हरेक कुरामा अस्थिर हुन्छन् । कुनै पनि कुराको निर्णय र टुंगोमा पुग्न सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो धेरैजसो समय उनीहरू आफैंमाथि नयाँ–नयाँ प्रयोग गरेर बिताइरहेका हुन्छन् । 

विद्यार्थी सन्दीप आचार्य भन्छन्, ‘टिनएजमा सपनामात्र नभएर त्यो सपनालाई कसरी साकार बनाउने प्रेसर पनि हुन्छ । सपना त सबैले देख्छन् तर साकार गर्नका लागि जुन मोटिभेसन, प्रयास चाहिन्छ, कसरी त्यसलाई निरन्तरता दिने भन्ने कुरा सोचिन्छ ।’ 

प्रकाशित :मंसिर २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×