अघिल्लो बर्षसम्म बार्षिक १ सयको हाराहारीमा चलचित्र निर्माण भए । धमाधम चलचित्रको लगानी ‘बालुवामा पानी’ सरह भएपछि यो बर्ष चलचित्र निर्माणको संख्यामा कमी आएको छ ।
चलचित्र थोरै बनेपनि, धेरै बनेपनि लगानी भने बढ्दो छ । सबै कुरामा महंगी बढेसँगै चलचित्रमा समेत लगानी बढिरहेको पाइन्छ ।
नेपालमा चलचित्र निर्माणमा निर्माताहरु धेरैमा ३ करोडसम्म खर्चिन्छन् । यति लगानी गर्ने निर्माताहरु भने एकदमै कम छन् । अधिकांश निर्माताहरुको बजेट १ करोडको हाराहारी मात्रै हो, त्यो पनि यता माग्ने उता माग्ने गरेर । आफ्नो व्यक्तिगत लगानी खर्चिएर चलचित्र निर्माण गर्ने निर्माताहरु न्युन छन् ।
अहिले चलचित्र निर्माणको विषयलाई छोडेर अर्कै विषयमा चर्चा गरौं ।
कुरो के हो भने, नेपालमा जतिसुकै बजेट खर्चिएर चलचित्र बनोस्, ति चलचित्रका निर्माताहरुले प्रिमियर भने भव्य गर्छन् । कतिपय निर्माताहरुले त बाजागाजासहित अतिथीहरुलाई ‘वेलकम’ गर्छन् । एकाध चलचित्रका निर्माताहरुबाहेक धेरै निर्माताहरु पछिल्लो समय आफ्नो चलचित्रको प्रिमियर गर्छन् । र, यो क्रम बढ्दो छ । किनभने, प्रिमियरमा आएका अतिथीहरुले चलचित्रका बारेमा मिठो बोलिदिन्छन् । अनि चलचित्र चल्छ भन्ने धेरै निर्माता तथा निर्देशकहरुको सोचाई छ । अधिकांश अतिथिहरुले हरेक चलचित्रका प्रिमियरमा असाध्यै सकारात्मक गफ दिन्छन् । डलरको खेतीपातीमा लिप्त युट्युबरहरुको भिडभाड र उनीहरुको क्यामेरा तेर्र्सिएपछि धेरैले आफ्नो यथार्थ लुकाउनुपरेको समेत बताउने गरेका छन् ।
भुवन केसी, रिमा विश्वकर्मा लगायतका कलाकार अभिनित चलचित्र ‘मिस्टर नेपाली’को भक्तपुरस्थित क्युएफएक्स हलमा प्रिमियर आयोजना गरियो । केहि पत्रकार, केहि निर्माता तथा निर्देशक निकट आफन्त र केहि चलचित्रकर्मीहरु उपस्थित भए । चलचित्र हेरेर बाहिरिएका अधिकांश दर्शकले के भने ? त्यो अहिले युट्युबमा प्रमाण छन् । तर, प्रमाण नभएको अर्को कुरो के हो भने, त्यहाँ पुग्ने धेरैजसो दर्शकले उक्त चलचित्र मन पराएनन् । एक दर्शक बाहिरिएपछि क्यामेरा नभएका पत्रकारसँग गज्जबको प्रतिक्रिया दिए, ‘यस्तो किसिमको चलचित्र अहिलेसम्म हेरेको थिएन । हेर्न समेत नपरोस् ।’ अलमलिएका पत्रकारले दोस्रो पटक सोधे, ‘धेरै राम्रो भन्नु भएको कि नराम्रो ?’ उनले एक बाक्यमा जवाफ दिए, ‘झुर भनेको हो झुर ।’
ऋषी धमलाको चलचित्र ‘अनुराग’को काठमाडौँ सुन्धारामा प्रिमियर आयोजना भएको थियो । चर्चित नेता, कलाकार, चलचित्रकर्मीहरु उपस्थित थिए । नाम चलेका व्यक्तिलाई चलचित्र देखाएर हुन्थ्यो भने, प्रिमियरमा बोलेको दर्शकले टेर्थे भने यो चलचित्र नेपालको सबैभन्दा सुपरडुपर हिट चलचित्रमा रेकर्ड हुन्थ्यो । तर, अनुरागले असाध्यै नराम्रो स्थितीको सामना गर्नुप-यो । चलचित्र नराम्रोसँग पछारियो । लगानी उठेन, दिनुपर्ने धेरै ठाउँका बिल अहिलेपनि पेण्डिङमा छन् ।
कुमारी हलमा केहि महिनाअघि बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीलाई ल्याएर चलचित्र ‘पासवर्ड’को भब्य प्रिमियरको आयोजना गरियो । घण्टौं समय लगाएर आयोजना भएको पिम्रियरमा उपत्यका भित्र रहेका युट्युवर मात्रै होइन, बाहिरका समेत रात्री बस चढेर काठमाडौँ ओर्लिए । भिडभाड निकै भयो । बाजागाजासहित आयोजित प्रिमियर कुनै बिहे भन्दा कम थिएन । सायद उक्त चलचित्रका निर्माताको भिड देखेर होस् हरायो । सोहि कारण उनै चलचित्रकर्मी आइटम गर्ल सन्नीलाई लिएर अर्को चलचित्रको निर्माण गर्ने घोषणा गरे । चलचित्र हेरेर बाहिर आएका दर्शकहरुले ‘पासवर्ड’ निकै राम्रो चलचित्र बनेको र सबै दर्शकले एकपटक हेर्नुपर्ने प्रतिक्रिया दिए । बोलेर के जान्थ्यो र ? बोलिदिए । यो चलचित्र प्रदर्शन भएका अधिकांश हल अर्को दिन सुनसान देखिए । दर्शकले पत्याएनन् ।
दर्शक निकै बाठा भए । जस्ता पायो त्यस्तै चलचित्रका झुटा प्रशंसा सुनेर आजभोली हलमा पुग्दैनन् ।
जुन चलचित्र पनि अहिलेसम्मकै उत्कृष्ट भन्ने, जुन चलचित्र पनि हेर्नुपर्छ भन्दै प्रिमियरमा बोलिहाल्ने, विषयवस्तु अहिलेसम्मको उत्कृष्ट भन्दै मिडियामा गफ चुट्ने प्रबृत्ती वढेपछि दर्शकहरुले पहिले जस्तो चलचित्र हेर्न छोडेको जानकारहरु बताउँछन् ।
दर्शकहरुलालाई हलसम्म तान्नका लागी वास्तवमा चलचित्र राम्रो हुनुपर्छ । गफ चुटेर दर्शक आउन छोडे । निर्माता सन्तोष सेन भन्छन्, ‘मैले त धेरै पटक यथार्थ बोलेको छु, खासमा बोल्नुपर्ने यथार्थ हो । अनुराग चलचित्रको प्रिमियरमा त मैले निर्देशकको अगाडि नै यस्तो पनि चलचित्र बनाउने भन्दै ऋषी धमलालाई सुनाएको हुँ ।’ जस्तो चलचित्र निर्माण भएको छ, त्यस्तै प्रतिक्रिया दिने हो भने दर्शकहरुले चलचित्रलाई माया गर्थे, हलमा आउँथे ।’ उनले आफ्ना चलचित्रको प्रिमियरमा बोल्नेहरुलाई यथार्थ बोल्न समेत आग्रह गरे ।
अतिथीहरु प्रिमियरमा गज्जबको गफ चुट्छन् । आखिर के को लागी ? राम्रो लागेर अथवा बाध्यता ? निर्देशक आकाश अधिकारी भन्छन्, ‘यो त बाध्यता हो । चलचित्र सम्पादनको बेला बोलाएको भएर सल्लाह सुझाव दिन सकिन्थ्यो । प्रिमियरमा के भन्नु ? राम्रो भन्यो हिड्यो ।’ अधिकांश निर्माता तथा निर्देशकले आफु निकट बोलाउने र सकेसम्म राम्रो बोलिदिए हुन्थ्यो भनेर आशा गरेकाले सबैले राम्रो भन्दै प्रतिक्रिया दिने गरेको उनको तर्क छ । उनले फेरी थपे, ‘चलचित्र जस्तो लाग्यो त्यस्तै भनिदिनुहोस् भन्ने हो भने जसले पनि बोल्थ्यो । के गर्नु नराम्रो भन्नेहो भने अर्को पटक उनीहरु आफ्नो चलचित्रको प्रिमियरमा आउँदैनन्, सायद बोल्नेहरुले यहि बुझ्छन् ।’
निर्देशक तथा कलाकार दिपाश्री निरौलाले केहि समयअघि भएको एक कफी गफमा असाध्यै यथार्थ कुरो फुत्काइन् । लेख्न हुने सर्तमा उनले भनिन्, ‘बेला बेला अलिकति सुधारेको भए, यस्तो गराएको भए यो चलचित्र निकै राम्रो बन्थ्यो भनेर भनेकी छु । नत्र, सधै जसो बाध्यताकै कारण चलचित्र राम्रो भन्नुपरेको छ ।’ तर, उनले प्रिमियरमा यथार्थ बोल्नेहो भने दर्शक भ्रममा नपर्ने समेत बताइन् । जे पायो त्यो बोल्ने प्रवृत्ती वढेको कारण कतिपय राम्रा चलचित्र नचलेको समेत उनको तर्क छ ।
राम्रो बोल्नुपर्ने, नराम्रो बोल्न मन नभएका एक निर्माताको गज्जबको घटना समेत छ । चलचित्र ‘हजार जुनीसम्म’को जय नेपाल हलमा प्रिमियर आयोजना भएको थियो । चलचित्र सकियो हेरेर बाहिर हिड्न थाले दर्शकहरु । एक निर्माता भने आफुसँग आएका केहि सहकर्मीहरुसँग सिटमै बसे । खासमा उनी चलचित्र असाध्यै झुर रहेको र बाहिर आफु यथार्थ बोल्न मन नभएपछि बाहिर ननिस्किएको बताए । उनले भने, ‘बाहिर के जानु ? यस्तो नराम्रो चलचित्रको राम्रो प्रतिक्रिया दिन मन छैन ।’
अतिथिको रुपमा प्रिमियरमा पुग्नेहरुले कफी र खाजाको स्वादमा चलचित्रको नकारात्मक पाटो समेत बिर्सने गरेका छन् । असाध्यै ‘झुर’ चलचित्रलाई पनि राम्रो भन्ने र राम्रो चलचित्रलाई पनि राम्रो भनिदिएपछि दर्शक अल्लमल्लमा पर्ने गरेका छन् । तर, निर्देशक दिनेश राउतले आफुले भने कहिल्यै मिठो बोलिदिन अतिथीहरुलाई आग्रह नगरेको बताउँछन् । हो, सबैजसो प्रिमियरमा अतिथीहरुले राम्रो भनेपछि चलचित्र चल्छ भन्ने मानसिकता छ । तर, मैले यो मानसिकता पहिल्यै त्यागेको हुँ ।’ उनले चलचित्रकर्मीहरुले जे हो त्यो बोलिदिनेहो भने दर्शकमा भ्रम सिर्जन नहुने बताए । तर, उनले एउटा कुरा स्विकारे, ‘नजिकै उहि चलचित्रको व्यक्ति हुन्छ, कसरी नराम्रो भन्न सकिन्छ र ?’
चलचित्र नचलेर अहिले धेरै निर्माताहरु तनावमा छन् । यो बर्षको आधा समय बितिसक्यो । फ्लप चलचित्रको श्रृंखला रोकिएको छैन । तर, अधिकांश चलचित्रका प्रिमियरमा भने अतिथीहरु बढाईचढाई बोलिदिने गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिइएका अधिकांश प्रिमियरका सदावहार अतिथीहरुले आफुहरु बाध्यताकै कारण बोली फेर्नुपरेको स्विकारेका छन् । एक चलचित्रकर्मी नाम नखुलाउने सर्तमा थप्छन्, ‘चलचित्र राम्रो बनाउनेहो भने प्रिमियर गर्नु पर्दैन । दर्शक तान्न अब गलत बोल्ने संस्कार फेर्नुपर्छ ।’