पुष्प खड्का नेपाली चलचित्र उद्योगमा पछिल्लो समयको लोकप्रिय नाम हो । थोरै चलचित्र खेलेका छन्, त्यसमध्ये धेरै हिट छन् । सोहि कारण उनलाई फुर्सदको समय भेट्न मुस्किल पर्छ ।
हाल पुष्प सिक्कममा छन् । चलचित्र ‘चालवाज’को सुटिङ भैरहेको छ । यो चलचित्रबारे उनी भन्छन्, ‘ एउटा राम्रो स्क्रिप्ट र राम्रो टिमसँग आबद्ध हुँदा खुशी लगेको छ । यो चलचित्र र मेरो भुमिकालाई दर्शकले राम्रैसँग एसेप्ट गर्ने मैले आशा राखेको छु ।’
यसअघि उनी अभिनित चलचित्र ‘मारुनी’ प्रदर्शन भयो । अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी र उनको जोडी रुचाइयो । चलचित्र ठिकै चल्यो, पुष्पको अभिनयलाई धेरैले तारिफ गरे । त्यसअघि प्रदर्शन भएका चलचित्र दाल भात तरकारी, मंगलम, दर्पण छाँया २ र अझैपनिका अभिनय पनि दर्शकका लागी सम्झन लायक छन् ।
एकपछि अर्को चलचित्र र फरक फरक भुमिकामा फिट भएपछि पुष्पको माग चलचित्र उद्योगमा बढिरहेको छ । अभिनय क्षमताका कारण समेत निर्माताहरुको नजरमा पुष्प सुरुमै भेटिने नाम बनेको छ । फ्यानहरु समेत बढिरहेका छन् । साथै, राम्रै नाम र दाम कमाइरहेका छन् । यति भएपछि के चाहियो ? थपे, ‘अब निरन्तर राम्रा–राम्रा चलचित्रमा काम गर्ने मन छ ।’
चलचित्र पेशा हो, बिहे व्यक्तिगत जिवन । पुष्पको मनमा बिहेबारे के कुरा खेल्छ ? हालै भएको एक कफी भेटमा पुष्प यस विषयमा राम्रैसँग गफिए । उनी भन्छन्, ‘अब उमेर भयो, घर परिवार र आफन्तहरुले बिहेका लागी संकेत गर्न थाले । साथीभाईहरुले समेत बिहे गर्नुपर्छ, मोज गर्ने भन्दै दबाब दिन थालेका छन् ।’ चौतर्फी दबाब बढेपछि उनलाई पनि अब बिहे गरेर घरजम गर्नुपर्छ भन्ने लागेको छ । तर, सहि समय कुरिरहेका छन् । अहिले एकपछि अर्को चलचित्र हातमा आएको छ, केहि चलचित्रको स्क्रिप्ट समेत पढिरहेको छु, उनी थप्छन्, ‘केहि महिना पुर्ण रुपमा खाली समय भेट्टियो भने झ्याप्पै बिहे गर्नुपर्छ ।’ बिहे गर्नुपर्छ भन्ने त उनलाई लागेको छ । परिवारले समेत बिहेका लागी सहि समय हो भन्दै पुष्पलाई बिहेबारे सोच्न बाध्य पारिरहेको छ । आफन्तहरु, साथिभाईहरुले जन्ती जान पाइन्छ भन्दै उनलाई थप उचाल्ने काम गरिरहेका छन् । ठट्यौली पारामा पुष्प भन्छन्, ‘बिहे गर्ने त मैले हो, मलाई भन्दा धेरै चिन्ता अरुलाई भैरहेको छ । सोहि कारण अब यस विषयमा गम्भिर हुनुपर्ने बेला आएको मैले महशुस गरेको छु ।’
बिहे गर्नका लागी बेहुली खोज्नुपर्ने हो या तयार हुनुहुन्छ ? यो प्रश्नमा उनी हच्किए । केहि क्षणमै उनी बोल्न तयार भए । जिवन सफल गराउन कतिपय अवस्थामा महिलाको निकै ठुलो भुमिका हुन्छ । यसअघि मेरो करिअरमा महिलाहरुको कारण धेरै काममा सफल भएको छु, उनले थपे, ‘हाललाई एकजना युवती असाध्यै नजिक छु । उहाँसँग कुरा मिल्छ । गफ मिलिरहेको छ । सबै कुरा मिल्दै गयो भने बिहे हुन सक्ने सम्भावना धेरै छ ।’ तर, उनले ति युवतीको नाम खुलाएनन् । उनी प्रेमिका हुन् अथवा हुनेवाली श्रीमती, त्यो उनले खुलाएनन् । तर, उनको भाषामा ति युवती आमापछिको सबैभन्दा नजिकको महिला साथि हुन् । अचम्मको कुरा, विगतमा प्रियंका चोपडा सपनामा आएर हैरान भएको थिएँ, अहिले ती युवती आइरहेकी छिन्, उनले थपे, ‘सायद मनमा बसेको भएर होला, सपनामा आएर हैरान पारेको छ ।’
उनी असाध्यै क्युट छिन् । सबैसँग मिल्ने स्वभाव छ । थप्छन्, ‘त्यत्तिको विश्वास गर्न लायक युवती अहिलेसम्म भेटेको छैन ।’ पुष्पले छिट्टै बिहे हुने संकेत गरेपनि मिति भने उल्लेख गर्न मानेनन् । ६ बर्षदेखि ति युवतीसँगको सम्बन्धमा रहेको पुष्पले बताए । अन्तिममा थपे, ‘बिहे भन्ने कुरा एकपटक गर्ने हो, मेरो हुनेवाली श्रीमतीले मेरो पेशा, मलाई र मेरो परिवारलाई माया गरोस्, आफु पनि जन्मघर जस्तै बस्न सके भैहाल्छ ।’