साप्ताहिक संवाददाता
अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा गत शुक्रबार साँझ निधन भएको हो । उनको गत आइतबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरियो । रिनादेवी लामो समयदेखि बिरामी थिइन् । गएको महिना ऋचाले प्रेमी दिपेक्षविक्रम राणासँग विवाह गर्दासमेत उनकी आमा बिरामी नै थिइन् । आमाकै दबाबका कारण आफू वैवाहिक जीवनमा बाँधिएको ऋचाले बताएकी थिइन् ।
नयाँ वर्ष २०७७ को अवसर पारेर ठूलो बजेटका तीन नयाँ चलचित्र प्रदर्शन हुने भएका छन् । प्रदीप खड्काको ‘प्रेमगीत–३’ तथा अर्जुन कुमारको ‘चपली हाइट–३’ ले यसअघि नै चैत २८ गतेलाई प्रदर्शन मिति तय गरिसकेका थिए । अहिले आएर गोपीकृष्ण मुभिजले समेत आफ्नो चलचित्र ‘माइकल अधिकारी’ लाई त्यही मितिमा प्रदर्शन गर्ने घोषणा गरेको छ । उक्त चलचित्रमा सौगात मल्ल तथा सृष्टि श्रेष्ठको जोडी मुख्य भूमिकामा छ ।
माघ १० गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कमान्डर’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा अभिनेता अनुप विक्रम शाही तथा रोबिन तामाङबीचको द्वन्द्वलाई चित्रण गरिएको छ । विवेक सापकोटाले उक्त चलचित्र निर्देशन गरेका हुन् ।
माघ २४ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा अभिनेता विराज भट्टको एक्सनलाई प्राथमिकता दिइएको छ । भट्टकै निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्रमा पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनय गरेकी छिन् ।
फागुन ९ गतेदेखि प्रदर्शन हुने धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ ले नयाँ वर्ष २०२० को अवसर पारेर नयाँ पोस्टर सार्वजनिक गरेको छ, जसमा यही जोडीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । यसअघि यही चलचित्रको फनफनी...गीत सार्वजनिक भएको थियो ।
माघ १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । देवकुमार श्रेष्ठद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलरमा नीता ढुंगाना, बुद्धि तामाङ, करण वर्मा, पारमिता आरएल राणालाई प्रस्तुत गरिएको छ ।
दसौं संस्करणको नेफ्टा एवार्डको औपचारिक घोषणा गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहमा नेफ्टा एवार्डको नयाँ लोगोसमेत अनावरण गरियो । यसपटकको नेफ्टा एवार्ड काठमाडौंको टुँडिखेलमा आयोजना गरिने बताइएको छ ।