साप्ताहिक संवाददाता
स्वरशिरोमणि मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस संगीतमय वातावरणमा मनाइयो । बाल्यकालदेखि अभिनयको माध्यमबाट रंगकर्म र गायनका माध्यमबाट संगीतकर्म उर्वर बनाएका रत्नदास प्रकाशका लोकप्रिय गीत प्रस्तुत गरेर उनको स्मृति कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका सभापति रत्नदास प्रकाशका छोरा निर्मलरत्न प्रकाशले आगामी वर्ष बुबाको नाममा प्रतिष्ठान स्थापना गरी कलाकारहरूको सम्मान गर्दै लैजान १ करोड ११ हजार राशिको अक्षयकोषको घोषणासमेत गरेका थिए ।
१९७० सालमा जन्मेका मास्टर रत्नदास प्रकाशले स्वअध्ययनबाट नाटक, गीत र अन्य साहित्यिक विधामा कलम चलाएका थिए ।
उस्ताद भैरवलाल प्रधान, टीएल राणा, उस्ताद रामबहादुरलगायत दिग्गज साधकसँग ज्ञान हासिल गर्ने अवसर पाएका उनले नेपाली ६ वटा, हिन्दी १३ वटा र उर्दू ५ वटा नाटकमा अभिनय गरेका थिए ।
उनका झमझम पानी पर्यो, नेपालको सहर, म माहुरी हुँ राधा बोलका गीत चर्चित छन् । उनको २०४९ साल कात्तिक २६ गते निधन भएको थियो ।