बेलायती राजपरिवारको जिम्मेवारीबाट अलग्गिने राजकुमार जोडीको घोषणालाई दरबारभित्र र बाहिर पनि चासोका साथ हेरिएको छ ।
यतिखेर पारिवारिक संकटमा छ, बेलायती राजपरिवार । राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफूहरू जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि यो विषय अहिले दरबारभित्र मात्र होइन, अन्तर्राष्ट्रिय चासो बनेको छ ।
बेलायतबाट प्रकाशित हुने सबैजसो अखबारका पानामा छाइरहेका छन्, ह्यारी दम्पती । ड्युक तथा डचेस अफ ससेक्सको उपाधिसमेत पाएका दम्पतीले आफ्नो समय बेलायत र उत्तरी अमेरिकामा बिताउने घोषणा गरेका थिए ।
बकिङ्घम राजदरबारसँग सरसल्लाह नगरीकनै उक्त घोषणा भएपछि राजपरिवारका वरिष्ठ सदस्यहरूसमेत दु:खी भएको समाचार आए । ह्यारी दम्पतीले शाही भूमिका परित्याग गर्नेबारे सोमबार छलफल भएको छ । महारानी एलिजावेथ द्वितीयाले राजपरिवारका वरिष्ठ सदस्यहरूसँग छलफल गरेकी हुन् । उक्त छलफलमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगन मर्केलले संक्रमणको अवधिभर युके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी बताइएको छ ।
बेलायती महारानीद्वारा सोमबार जारी वक्तव्यमा त्यस्तो उल्लेख गरिएको छ, तर संक्रमणको अवधि कहिलेसम्म हुने हो भन्नेचाहिँ खुलाइएको छैन । बेलायती महारानीले नयाँ भूमिका निर्वाह गर्ने राजकुमार ह्यारी तथा उनकी श्रीमतीको चाहनाप्रति आफ्नो पूर्ण सह्योग रहने बताएकी छन्, तर उनीहरू दुवै जना पूर्णकालीन रूपमा शाही परिवारको सदस्यका रूपमा रहेको भए राम्रो हुने आफ्नो धारणा रहेको पनि उनले बताएको बीबीसीले जनाएको छ ।
बेलायती महारानीले स्यान्ड्रिङ्गम दरबारमा आफ्ना परिवारका वरिष्ठ सदस्यहरूसँग भएको कुराकानी निकै रचनात्मक भएको पनि बताइन् ।
राजकुमार ह्यारी, ड्युक अफ क्याम्ब्रिज राजकुमार विलियम र प्रिन्स अफ वेल्स राजकुमार चाल्र्स उक्त छलफलमा सहभागी भए पनि राजकुमार ह्यारीकी पत्नी मेगन भने क्यानडामा छिन् । गत साता जिम्मेवारीबाट अलग्गिने घोषणा गरेपछि मेगन क्यानडा गएकी हुन् । महारानीको नोर्फकस्थित दरबारमा भएको उक्त बैठकलाई ‘स्यान्ड्रिङ्गम समिट’ नाम दिइएको थियो ।
राजकुमार ह्यारी र मेगन क्यानडामा बस्ने भनिए पनि यसबारे आफूसँग कुनै छलफल नभएको क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । विशेष गरी शाही दम्पतीको सुरक्षा र क्यानडावासी करदातामाथि पर्ने असर प्रमुख मुद्दा हुन सक्छ । ह्यारी र मेगनले कति कोष प्राप्त गर्ने, उनीहरूको शाही उपाधि रहने कि नरहने र उनीहरूका कस्ता शाही जिम्मेवारीलाई निरन्तरता दिने भन्ने विषय अनुत्तरित छन् । राजकुमार ह्यारी राजगद्दी उत्तराधिकारीको छैटौं वरियतामा छन् । ह्यारी मेगन विवाहलगत्तै उनीहरूलाई १९ मे २०१८ मा ड्युक एन्ड डचेस अफ ससेक्स उपाधि प्रदान गरिएको थियो ।
ती दम्पतीले कैयौं महिनाको आन्तरिक छलफलपछि शाही भूमिका परित्यागको निर्णयमा पुगेको बताएका थिए । आफ्नो छोराको पठनपाठन तथा नयाँ कल्याणकारी काम सुरु गर्न पछिल्लो निर्णयले सह्योग पुग्ने आशा उनीहरूको छ । उनीहरूको पहिलो सन्तान आर्ची ह्यारिसन जन्मेको नौ महिना मात्रै भएको छ ।
के हुन सक्छ कारण ?
राजकुमार ह्यारी (३५) र मेगन (३८) को सम्बन्ध राजपरिवारका अन्य सदस्यहरूसँग चिसिंदै गएको खबर बेला–बेला आउने गरेका थिए । केही बेलायती मिडियामा ह्यारी र दाई विलियमबीच सम्बन्ध बिग्रिएको समाचार आएपछि दाजुभाइले संयुक्त वक्तव्य जारी गरी समाचारको खन्डन गरेका थिए । यद्यपि त्यो दम्पतीले ह्यारी दाजु–भाउजूद्वारा सञ्चालित ‘ड्युक एन्ड डचेस अफ क्याम्ब्रिज फाउन्डेसन’ सँग गत जुनमा मनमुटाव भएपछि आफ्नै ‘ससेक्स रोयल च्यारिटी’ खोल्ने तयारी गरेका थिए । गत डिसेम्बरमा ह्यारी मेगनले ससेक्स रोयल ब्रान्ड ट्रेडमार्कका लागि निवेदन समेत दिएका बताइन्छ ।
उनीहरू मिडियाबाट पनि सताइएको खबर आएका थिए । गत अक्टोबरमा ह्यारी मेगनले लगातार सञ्चारमाध्यमहरूको ध्यान आफूहरूमाथि केन्द्रित भइरहँदा जीवनमाथि परेको दबाब र तनावबारे चर्चा गरेका थिए ।
त्यसलगत्तै ह्यारीले केही मिडियाले गैरकानुनी रूपमा आफ्नो ‘भ्वाइस मेसेज’ सुनेको आरोप लगाउँदै बेलायतबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानुनी कारबाही सुरु गरेका थिए । १० हरफ लामो वक्तव्य लेख्दै ह्यारीले ट्याबलोइड पत्रिकाहरूले आफ्नी आमा स्वर्गीय डायनाले भोगेजस्तो पीडा दोहोर्याउन खोजेको आरोप लगाएका थिए ।
उनकी श्रीमती मेगनले पनि मेल अखबारविरुद्ध आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।
ह्यारीको नेपाल कनेक्सन
प्रिन्स ह्यारीको साइनो नेपाल र गोर्खा सैनिकहरूसँग निकट छ । महाभूकम्पलगत्तै नेपाल भ्रमण गरेका राजकुमार ह्यारीले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए । उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।
कुनै बेला अफगानिस्तान युद्धमा सँगै रहेका ह्यारीले गोर्खा सैनिकहरूसँगको सम्बन्धबाट खुसी र गर्व महसुस गर्ने गरेको उनी बताउँछन् । राजकुमार ह्यारीले गोर्खालीहरूको साहस, नि:स्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।
बेलायती राजपरिवारको लोकप्रियता विश्वमै उच्च छ । बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न बर्सेनि करिब डेढ करोड पर्यटक दरबार पुग्ने गरेका छन् ।
भिजिट ब्रिटेनका अनुसार बेलायती पर्यटनको प्रमुख आधार शाही आवास गृह बकिङहम प्यालेस र विन्डसोर क्यासल हुन् । कन्सल्टेन्सी ब्रान्ड फाइनान्सको तथ्यांकमा सन् २०१७ मा बेलायती राजतन्त्रले अर्थतन्त्रमा १ दशमलव ८ बिलियन पाउन्ड योगदान गरेको थियो । यसमध्ये ५ सय ५० मिलियन पाउन्ड शाही पर्यटनबाट भएको थियो ।