माघ १० देखि १५ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ १०, २०७६

माघ ११ गते सोनाम ल्होसार । माघ १२ गते अन्तर्राष्ट्रिय भन्सार दिवस । माघ १३ गते कुष्ठरोग दिवस । माघ १५ गते नेपाल नर्सिङ दिवस । माघ १६ गते वसन्त पञ्चमी, सहिद दिवस । 

 

मेष :

आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गर्दा उचाइमा पुगिनेछ । निजी विचारको झिल्काले प्रेमी/प्रेमिकासँगको भावनामा खटपट आउने सम्भावना छ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउँदा तथ्य कुरा पत्ता लगाउन सकिनेछ । खानपान फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । 

वृष 

रोजगारीका निम्ति अन्तर्वार्ताको बोलावट हुने सभावना छ । कौशल देखाएर तन्नेरीमाझ फरक अनुभूति दिन सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भई ठाकठुकसमेत पर्न सक्छ । परोपकारी कार्यमा वृद्धवृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ । 

मिथुन : 

कार्यक्षेत्रमा अनुशासित भई काम गर्दा षड्यन्त्रकारीलाई परास्त गर्न सकिनेछ । योग तथा शारीरिक व्यायामले मानसिक तनावबाट मुक्त भइनेछ । पर्यटकीय क्षेत्रमा जोसिलो भई सेवा गर्दा बढी आनन्द मिल्नेछ । अनौठो डिजाइनका पहिरनमा लगानी गर्दा बढी मुनाफा हात लाग्न सक्छ । 

कर्कट 

युवायुवतीमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारीबीच मत मिल्नेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन् सचेतनाले आफ्नो हित हुनेछ । मनोरन्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह 

आफूले गरेको कार्य सफल भई प्रेमिकाले बधाई दिँदा थप ऊर्जा मिल्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ । उपहारका साथ भेट्न आउने मित्रसँग सावधानी अपनाए बेसै होला । बोलीमा थप प्रभाव पार्न रातो रंगको अनुसरण लाभदायक मानिनेछ । 

कन्या

भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावधानी रहनु बेस हुनेछ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चनुपर्ला । केही समययता प्रेमिकासँगको खल्लोपनले निराशा छाउनेछ । मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्नेछ । साताको अन्त्यमा भने चर्चित प्रविधिक कम्पनीमा रोजगारीको अवसर हात लाग्न सक्छ  । 

तुला 

घोत्लिएर बसेकी प्रेमिकालाई नौलो रोजगारीको समाचार सुनाउन दंग पर्नेछिन् । फुल करियर बनाउन दैनिकीमा परिवर्तनको खाँचो पर्नेछ । स्मरणीय कार्य सम्पन्न गर्न ठूलाबडा व्यक्तिको सहयोग तथा आशीर्वादको जरुरत पर्नेछ । पहेंलो धातु बिक्री गरी औकातअनुसार सवारी साधन खरिद गर्न सकिनेछ ।      

वृश्चिक 

आफूले गरेका पूर्वकार्ययोजना सफल भई सार्थक परिणाम हात पर्दा स्मरणीय क्षण बन्नेछ । विपरीत लिंगीको प्रस्तावलाई आलटाल गर्नाले एक–अर्कामा दूरी बढ्न सक्छ, जुझारु तथा मार्गप्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्न सक्छ । चिसो वातावरणमा मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।       

धनु 

युवायुवतीमाझ लोकप्रिय कार्य सञ्चालन गर्दा चर्चित भइनेछ । आफैं केही गर्नुपर्छ भन्ने सार्थक उदाहरणको पात्र बन्न सकिनेछ । स्वदेशमा नयाँ अवसरहरू हात लाग्न सक्छन् । प्रेमिकाको स्वप्न महल साकार बनाउन वास्तविकताभन्दा फरक चरित्र चित्रण गर्नुपर्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा सेवा गर्दा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । 

मकर : आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा पनि परिवर्तन आउन सक्छ । राज्यस्तरबाट दिएका जिम्मेवारी बेवास्ता गर्नाले ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्न ऊर्जा मिल्न सक्छ । 

कुम्भ 

बिदेसिएका साथीको सुझाव अपनाए करियर बनाउन गाह्रो पर्नेछैन । आफ्नै मुलुकमा प्रतिस्पर्धा गरी परिणाम हात पार्दा विपरीत लिंगी उपहारसहित भेट्न आउन सक्छन् । मनोरञ्जन तथा जलक्रीडा गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । घरायसी व्यवहारको किचलोबाट टाढै बसे उचित हुनेछ । 

मीन :

भविष्यको चिन्तालाई विदेशी अवसरले परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रबाट मान–सम्मान प्राप्त भई बाधाहरू फुकुवा हुनेछन् । विभिन्न सभा–सेमिनार, प्रतियोगितामा भाग लिँदा आफ्नो भूमिका अग्रणी हुनेछ । मर्यादा पालन नगर्दा विवादमा पर्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमित हुनु नै उचित देखिन्छ । 

प्रकाशित :माघ १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×