काठमाडौंमा किताब जात्रा

- साप्ताहिक संवाददाता

माघ २३, २०७६

किताब यात्रा फाउन्डेसनले गत शनिबार आयोजना गरेको ‘किताब जात्रा–२०२०’ मा साहित्यकार सरुभक्तलाई सम्मान गरेको छ । उनले नेपाली साहित्यमा गरेको अहम्वाद र पूर्णताउन्मुख शून्यतावादको सफल प्रयोगलाई सम्मान गर्दै ५५ हजार ५ सय ५५ नगद राशिसहितको प्रेम साहित्य सम्मान–२०२० प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए । 

कार्यक्रममा आख्यानकार अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ लाई बेस्ट सेलर एवार्ड प्रदान गरिएको थियो । जात्राको स्वरूप दिन लाखे नाचबाट सुरु गरिएको कार्यक्रममा विशेष अतिथिका रूपमा कलाकार हरिवंश आचार्य उपस्थित थिए । उनले नेपालमा हुने जात्राहरूमध्ये किताब जात्राले नयाँपन भित्र्याएको भन्दै खुसी व्यक्त गरे । 

कार्यक्रममा पठन संस्कृति तथा सान्दर्भिक विषयहरूमाथि चार सेसनमा बहस गरिएको थियो । जसमा पत्रकार तथा लेखक नारायण वाग्ले, आख्यानकार नयनराज पाण्डे, आख्यानकार तथा कवि सरस्वती प्रतीक्षा, कवि मनु मञ्जिल, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, लेखक अर्चना थापा, लेखक तथा चिन्तक आहुति, कलाकार दयाहाङ राई, नबिल बैंकका सीईओ अनिलकेशरी शाह, युवा नेतृ मानुषी भट्टराई, सञ्चारकर्मी दिलभूषण पाठक, टीकाराम यात्री र विनोद चौधरी सहभागी भए । 

कार्यक्रममा कवि शकुन्तला जोशी र नवराज पराजुलीले कविता तथा गजलकार बाबु त्रिपाठीले गजल वाचन गरेका थिए । पठन संस्कृति विकास गर्ने उद्देश्यले सञ्चालन गरेको किताब जात्राका अब प्रदेश संस्करणहरू हुने फाउन्डेसनका अध्यक्ष ऋषि अधिकारीले जानकारी दिए । उनले भने, ‘तयारी भइरहेको छ, छिट्टै ठाउँ र समय सार्वजनिक गर्नेछौं ।’

 

प्रकाशित :माघ २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×