साप्ताहिक संवाददाता
हलिउड चलचित्रको सर्वाधिक पपुलर एवार्ड ओस्कारमा यो वर्ष दक्षिण कोरियन चलचित्र ‘पारासाइट’ले सर्वोत्कृष्ट चलचित्रको एवार्ड हात पारेको छ । यो चलचित्रलाई बोङ्ग जून–होले निर्देशन गरेका हुन् ।
सर्वोत्कृष्ट चलचित्रका लागि पारासाइट, १९१७, जोकर, वन्स अपन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो -याबिट तथा फोर्ड भर्सेज फरारीको प्रतिस्पर्धा थियो ।
धेरैको अनुमान विपरीत पहिलोपटक अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रले यसपटक सर्वोत्कृष्ट चलचित्रको एवार्ड हात पार्न सफल भएको हो ।
अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा सोमबार बिहान ९२ औँ संस्करण आयोजना भएको थियो । संसारभरबाट सयौं नाम चलेका स्टारहरुको जमघटका बीच उक्त समारोह आयोजना गरिएको थियो ।
सर्वोत्कृष्ट निर्देशकको एवार्ड पारासाइटकै निर्देशक बोङ्गले नै जितेका छन् । जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको एवार्ड जितेका छन् । उनले जोकरकै लागि गोल्डेन ग्लोब र बाफ्टा अवार्ड पनि कब्जा गरेका थिए । उनले ओस्कारमा ‘वन्स अपन अ टाइम इन हलिउड’का लियोनार्डो डिक्याप्रियोसहितलाई पछि पारे ।
सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितेकी छिन् । उनले गोल्डेन ग्लोब एवार्ड पनि जितेकी छिन् । ब्राड पिटले सर्वोत्कृष्ट सह–अभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको एवार्ड हात पारेकी छिन् ।
यस्तै, ओरिजिनल सङ्गमा रकेटम्यानको आइ एम गन लभ मी अगेन, ओरिजिनल स्कोरमा जोकर, मेकअप एण्ड हेयरमा बम्बशेल, भिजुअलइफेक्ट्समा १९१७, चलचित्र सम्पादनमा फोर्ड भर्सेज फरारी, ध्वनी समिश्रणमा १९१७, सर्वोत्कृष्ट ध्वनी सम्पादनमा फोर्ड भर्जेज फरारी, सर्वोत्कृष्ट सिनेटम्याटोग्राफीमा १९१७ र छोटो अवधिको वृत्तचित्रमा लर्निङ्ग टू स्केटबोर्ड इन वारजोन (इफ यू आर ब गर्ल) सर्वोत्कृष्ट भएको छ ।
त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रमा अमेरिकन फ्याक्ट्री, कस्ट्युम डिजाइनमा लिटल वुमन, प्रोडक्सन डिजाइनमा वन्स अपन अ टाइम इन हलिउड चुनिन सफल भए ।
यस्तै, सर्वोत्कृष्ट एनिमेटेड छोटो अवधिको चलचित्रमा हेयर लभ, छोटो चलचित्रको लाइभ एक्सनमा द नेवर्स विन्डो, एडप्टेड स्क्रीनप्लेमा जोजो -याबिट, ओरिजिनल स्क्रीनप्लेमा पारासाइट र एनिमेडेट चलचित्रमा टोइ स्टोरी–४ले एवार्ड हात पारेका छन् ।