साप्ताहिक संवाददाता
’
विश्वप्रसिद्ध चलचित्र एवार्ड ‘ओस्कार’का ९२ औं संस्करण गत फेब्रुअरी ९ मा अमेरिकाको लसएन्जल्समा सम्पन्न भइसकेको छ । ओस्कार एवार्डको इतिहासमा यसपालि पहिलोपटक गैर–अंग्रेजी चलचित्र ‘पारासाइट’ले ‘उत्कृष्ट चलचित्र’को एवार्ड पायो । कोरियाली यो चलचित्र ओस्कारमा ‘उत्कृष्ट चलचित्र’को एवार्ड जित्ने पहिलो चलचित्र पनि हो । अवार्डमा चलचित्र ‘जोकर’का लागि जोओकिन फिनिक्सले ‘उत्कृष्ट अभिनेता’ र ‘जुडी’का लागि रेने जेलवेगरले ‘उत्कृष्ट अभिनेत्री’को एवार्ड जितिन् । हलिउडका अभिनेता ब्राड पिटले चलचित्र करियरको ३२ वर्ष पछि पहिलोपटक ‘वान्स अपन टाइम इन हलिउड’का लागि ‘सहअभिनेता’को एवार्ड उचाले ।
चलचित्र ‘जुडी’का लागि रेनेलाई ‘उत्कृष्ट अभिनेत्री’को एवार्ड घोषणा भइरहँदा उनी निकै भावुक भएकी थिइन् । यो वर्षको ‘बाफ्टा’, ‘क्रिटिक्स च्वाइस’, ‘गोल्डेन ग्लोब’ र ‘स्क्रिन एक्टर्स गिल्ड एवार्ड’मा चलचित्र ‘जुडी’कै लागि ‘उत्कृष्ट अभिनेत्री’को एवार्ड जितिसकेकी रेनेका लागि ‘ओस्कार एवार्ड’ अझ महत्वपूर्ण थियो ।
जूडी गारलेण्ड एक चर्चित अमेरिकन नायिका, गायिका र नृत्यांगना थिइन् । जसले ४ दशकभन्दा बढी समय हलिउडमा एकछत्र राज गरिन् । जूडी सन् १९६१ मा आफ्नो लाइभ रेकर्डिङ ‘जुडी एट कार्नेगनी हल’का लागि ‘ग्रामी एवार्ड’ मा ‘एल्बम अफ द इयर’ पाउने पहिलो महिला गायिका हुन् । उनै जूडीको बायोपिक चलचित्र ‘जूडी’मा शीर्ष भूमिकामा ज्वलन्त अभिनय गरेका कारण रेने ओस्कार एवार्डको बिजेता भइन् ।
रेनेले यसअघि सन् २००३ मा पनि एक ‘ओस्कार एवार्ड’ जितिसकेकी छन् । तर, जूडीको बायोपिकबाट एवार्ड पाउनु उनका लागि फरक अनुभव रह्यो । दुई दशकभन्दा लामो करियरमा रेनेले सबै किसिमका उतारचढावलाई पार गर्दै कसरी स्टारडमको नयाँ इतिहास लेखिन् भन्ने कुरा निकै रोचक छ ।
पत्रकारिताको अध्ययन गरेकी रेनेले पत्रकारितालाई नै करियर बनाउने सपना साचेकी थिइन् । तर, कलेजका दिनमा केही नाटकमा अभिनय गरेकी उनलाई त्यही अभिनयले पत्रकारितालाई करियर नबनाउने निर्णय लियो । उनको अभिनत्री यात्रा सहज भने थिएन ।
रेनेका पिता तेल प्रशोधन व्यवसायमा थिए । तर, केही कारणले उनको जागिर गएको थियो । पिताको जागिर नरहेपछि उनको पढाईमा समस्या आयो । कलेजको शुल्क तिर्नकै लागि उनले एक रेस्टुरेन्टमा वेटरको काम सुरु गरिन् । उनी एक क्लबमा कक्कटेल सर्भ गर्ने काम गर्न थालिन् । त्यहाँबाट प्राप्त पारिश्रमिकले उनी कलेजको शुल्क तिर्थिन् । यहाँ काम गरिरहँदा उनले एक विज्ञापनमा काम गर्नका लागि स्क्रीन एक्टर्स गिल्ड कार्ड पनि पाइन् ।
कलेजका पढाई पुरा गरपछि रेनेले सन् १९९२ मा साना ठूला चलचित्रमा काम गर्ने अवसर पाइन् । सन् १९९४ मा उनले एक हरर चलचित्रमा काम गरिन् । चलचित्र बक्स अफिसमा असफल भए पनि उनको कामले पत्रपत्रिकामा चर्चा पायो । सन् १९९६ मा ‘जैरी मेग्वायर’मा एकल आमाको संघर्षशिल भूमिकामा अभिनय गरेपछि उनले स्टारडम पाइन् । चलचित्रमा उनको अपोजिटमा हलिउड स्टार टम क्रुज थिए । यो चलचित्रमा रेनेलाई स्टारडम दिलाउन टमको भूमिका महत्वपूर्ण थियो किनभने टमले नै रेनेको नाम सिफारिस गरेका थिए ।
सन् २००१ मा उनले ‘ब्रिजिट जोन्स डायरी’ मा ह्यूग ग्रान्ट र कोलिन फर्थको अपोजिटमा अभिनय गर्ने ठूलो भूमिका पाइन् । यो चलचित्र बक्सअफिसमा हिट साबित भयो । तर यो चलचित्रमा रेनेलाई कास्ट गर्दा उनको निकै आलोचना भएको थियो । त्यो समयमा उनी निकै पातली थिइन् र चुरोट पनि पिउँदिन थिइन् । तर, चलचित्रको चरित्रमा उनले चुरोट पिउनु पर्ने थियो । त्यहीकारण उनले शरीरको तौल बढाइन्, अंग्रेजी सिकिन र हर्बल चुरोट पिउन पनि थालिन् । यो चलचित्रका लागि उनी ‘गोल्डन ग्लोब’, ‘ओस्कार’ ‘बाफ्टा एवार्ड’को मनोनयनमा परिन् ।
रेनेले चलचित्रमा अलग–अलग भूमिका निभाइन् । करियरले उचाइ लिइरहँदा उनले चलचित्रबाट ६ वर्षको ब्रेक लिइन् । उनको यो निर्णयले उनका फ्यान निराश भए । सन् २०१६ मा चलचित्र पुनरागमन गरेपछि उनको स्टारडमले नयाँ उचाइ लियो । चलचित्रका अलावा रेने सामाजिक काममा पनि सक्रिय छिन् । उनी कैयौं वर्षदेखि एचआइभी पीडितका लागि कार्यरत छिन् । उनी विश्वमै सर्वाधिक कमाई गर्ने अभिनेत्रीमा पनि पर्दछिन् ।
अभिनेता ब्राड पिटको चलचित्र यात्रा पनि कम रोचक छैन् । ३२ वर्षको लामो करियरमा ब्राडले ‘वन्स अपन ए टाइम इन हलिउड’मा गरेको उत्कृष्ट अभिनयका लागि ‘सहअभिनेता’ तर्फको पहिलो एवार्ड जिते । पत्रकारिताका विद्यार्थी ब्राड हलिउडका सफल कलाकारमा पर्छन् । तर, पनि उनको यो यात्रामा कैयौं उतारचढाव व्यहोर्नुपर्यो ।
सन् १९६३ मा जन्मिएका ब्राडले हलिउडमा सन् १९८७ मा चलचित्र ‘नो वे आउट’बाट डेब्यू गरे । उनले सन् १९८८ मा ‘द डार्क साइड अफ सन’ नामक चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने मौका पाए । ब्राडले सन् १९९१ मा चलचित्र ‘थेल्मा एन्ड लुइस’बाट पहिचान पाए । यो चलचित्रपछि ब्राड हलिउडका निर्माताबीच नयाँ अभिनेताका रूपमा चर्चा पाए । सन १९९२ मा ठूलो बजेटको चलचित्र ‘ए रिभर रन्स थ्रु इट’मा अभिनय गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
सन् १९९५ मा रिलिज क्राइम थ्रिलर चलचित्र ‘सेभेन’बाट ब्राड हलिउडमा छाए । यो चलचित्रमा गरेको अभिनयले सबैको मन जित्यो । उनको सबैभन्दा ठूला कमर्सियल हिट चलचित्रमा सन् २००१ मा रिलिज ‘ओसियन्स इलेभेन’ बन्यो । उनले ‘ट्रोय’, ‘मिष्टर एण्ड मिसेस स्मिथ’, ‘वल्र्ड वार जेट’ जस्ता सफल चलचित्र दिए ।
चलचित्रमा आफ्नो अभिनयका कारण दर्शकको मन जितेका ब्राटले निजी जीवनमा भने परिवाको दिल जित्न सकेनन् । सन् २००० मा ब्राडले जेनिफर एनिस्टनसँग विवाह गरे । यसअघि उनले सबै सहअभिनेत्रीहरूसँग रोमान्स गरे । तर, सन् २००५ मा जेनिफरसँगको सम्बन्धलाई औपचारिक रूपमै टुंग्याए । जेनिफरसँग छुट्टिनु अघि ब्राडको एन्जेलिना जोलीसँग नाम जोडिएको थियो । चलचित्र ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङमा सन् २००५ मा भेट भएको ९ वर्ष पछि अर्थात सन् २०१४ मा उनीहरूले विवाह गरे । उनीहरूको सम्बन्ध पनि सन् २०१६ मा टुंगियो ।
ओस्कारमा चलचित्र ‘जोकर’बाट ‘उत्कृष्ट अभिनेता’को एवार्ड जितेका जोओकिनको हलिउडमा संघर्ष पनि उस्तै छ । जोओकिनले ४५ वर्षको उमेरमा स्टारडम र सम्मान पाइसकेका थिए । उनको यो स्टारडम आजको समयमा धेरैेका लागि सपनाजस्तै हुन्छ । जोओकिनले बाल्यकालदेखि नै आर्थिक समस्या झेल्नुपरेको थियो ।
जोओकिनको परिवारमा चार दाजुभाइ र बहिनी थिए । बिहान बेलुकाको छाक टार्न र आर्थिक समस्या सुल्झाउन चारै भाइबहिनी धेरै किसिमका काम गरे । उनले ट्यालेन्ट कन्टेस्टमा सहभागिता जनाउनदेखि लिएर गीत गाउने र वाद्यवादन बजाउने काम पनि गर । लसएन्जल्समा बसिहँदा उनकी आमाले एक एक रेडियो–टेलिभिजन नेटवर्कमा एक्जिक्युटिभ सेक्रेटरीका रूपमा काम शुरु गरिन् ।
एकदिन उनको भेट आइरिस बर्टन नामका एक चिल्ड्रेन एजेन्टसँग भयो । उनी चलचित्र र शोका लागि बालबालिकाको कास्टिङ गर्दथे । आइरिसको नजर विज्ञापन र टेलिभिजन शोमा सानोतिनो भूमिकामा काम गरेर जीविकोपार्जन गर्दै आइरहेका फिनिक्स र उनका चार भाइबहिनीमा पर्यो । आठ वर्षको उमेरमा जाओकिनल आफ्नो भाइ रिवरका साथ ‘सेवन ब्राइड्स फर सेवन ब्रदर्स’ बाट ‘डेब्यू’ गरे । यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । बाल कलाकारका रूपमा स्टारडम हासिल गरेका जोओकिनले अभिनय छोड्ने निर्णय गरे ।
अभिनय छोडेपछि जोओकिन पिताका साथ विभिन्न स्थानमा पुगे । यही यात्रामा उनको भाइको मृत्यु भयो । सन् १९९५ मा जोओकिनले दमदार कमब्याक गरे । कमब्याक गर्दा केही चलचित्र असफल भएपनि उनले हार मानेनन् । सन् २००० देखि २००५ को समयमा ‘ग्लाण्डिएटर’, ‘कुलिस’, ‘बफेलो सोल्जर्स’, ‘इट्स अल अबाउट लभ’, ‘थ्रिलर साइन्स’, ‘द विलेज’ र ‘जोकर’ ले उनलाई ठूलो सफलता दिलायो ।
यी हुन् विजेता
बेस्ट पिक्चर: पारासाइट
बेस्ट एक्ट्रिस: रेने जेलवेगर(जूडी)
बेस्ट एक्टर्स: जोओकिन फोनिक्स(जोकर)
बेस्ट सपोर्टिङ एक्ट्रेस: लाउरा डेर्न(म्यारिज स्टोरी)
बेस्ट सपोर्टिङ एक्टर: ब्राड पिट(वान्स अपन ए टाइम इन हलिउड)
बेस्ट डिरेक्टर: बोङ जोन हु(पारासाइट)
बेस्ट ओरिजिनल स्क्रिनप्ले: बोङ जोन हु र हान जिन वुन(पारासाइट)
बेस्ट एडप्टेड स्क्रिनप्ले: जोजो रेबिट(टाइका वाइटिटी)
बेस्ट एनिमेटेड फिचर: टोय स्टोरी ४
बेस्ट डकुमेन्ट्री फिचर: अमेरिकन फ्याक्ट्री
बेस्ट इन्टरनेसनल फिचर: पारासाइ(दक्षिण कोरिया)
बेस्ट ओरिजिनल सङ: (आइ एम गोन्ना) लभ मी एगेन–रकेटमेन(इल्टन जोन एण्ड बर्नी टाउपिन)
बेस्ट ओरिजिनल स्कोर: जोकर–हिल्ड गुओनाडोटिर
बेस्ट सिनेमाटोग्राफी: १९१७– रोजेर डिकिन्स
बेस्ट भिजुअल इफेक्ट्स: १९१७– गुइलाउमे रोचेरोन, ग्रिग बटलर एण्ड डोमिनिक टुहाइ
बेस्ट फिल्म इडिटिङ: फार्ड भी फेरारी–माइकल म्याककुसके एण्ड एन्ड्रिउ बकलेण्ड
स्रोत: एजेन्सी