साप्ताहिक संवाददाता
विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले नेपाल अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा आफ्नो वचश्र्व राखेको छ । फेस्टिभलमा चलचित्र ‘बुलबुल’ले ६ विधाका अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । ‘बुलबुल’ले नेपाल पानोरमाको फिचरतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड आफ्नो पोल्टामा पारेको हो ।
‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड हात पार्दा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड उचालिन् । जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले प्राप्त गरेका छन् ।
फेस्टिभलमा ‘गोपी’ले तीनवटा अवार्ड उचाल्यो । ‘गोपी’ले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने यहि चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । त्यसैगरि छायांकार शेलेन्द्र डि कार्कीको छायांकनलाई जुरीले उत्कृष्ट अवार्ड प्रदान गर्यो ।
कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठले निर्देशन ‘जुनुको जुत्ता’ले पायो भने इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले हात पार्यो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित ‘कलम’ले जित्यो । प्रविन स्वयं पनि जुरीको नजरमाउत्कृष्ट ठहरिएका थिए । सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको थियो ।
बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर थियो ।
एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर थियो । अन्र्तराष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर थियो ।
समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।