साप्ताहिक संवाददाता
विरोध खतिवडा प्रतिनिधिसभा, सांसद
अमेरिका लगायतका केही मुलुकले गाँजालाई लागू औषधका रूपमा दर्ज गरेका कारण त्यसको प्रभावमा नेपालजस्ता साना मुलुकहरू पनि गरे । त्यसो गरेबापत त्यतिबेला कसैले केही लाख डलर पाएको हुन सक्छन् । हजारौं वर्षदेखि धार्मिक, आयुर्वेदिक पक्षसँग जोडिएको वनस्पतिमा प्रतिबन्ध लाग्नु त्यतिबेलाको कुरा थियो । विश्वभर प्रतिबन्ध लागेको चिज हामीजस्तो मुलुकले खोल्ने कुरा पनि थिएन । तर, अहिले अमेरिका, क्यानाडा र जर्मनीलगायतका मुलुकले आफ्ना किसानलाई मकै, कपास खेती बन्द गरेर गाँजा खेती गर्न प्रोत्साहन गरिरहेका छन् । गाँजा उत्पादन गर्ने यस्ता मुलुक ६५ पुगिसकेका छन् ।
उनीहरूले गाँजाको खेती गरेर आर्थिक उपार्जन गरिरहेका छन् भने हामीलाई त यो कुरा प्रकृतिले नै दिएको छ । मेचीदेखि महाकालीसम्म तराई, हिमाल र पहाडमा गाँजा उत्पादन हुन्छ । प्रतिबन्धमा अगुवाइ गर्ने देशले यसलाई आम्दानीको स्रोत बनाइरहेको सन्दर्भमा हामीले पनि त्यही नियम, त्यही कानुन, त्यही सम्झौता र त्यही विधि प्रयोग गरेर हाम्रा गरिब किसानको आम्दानीको स्रोत किन नबनाउने ? गाँजाको उत्पादन गर्दा अब हामी एन्टी करेन्ट हुँदैनौं ।
अहिले सम्पन्न मुलुक र हामीजस्ता विकासोन्मुक मुलुकबीच ठूलो विभेद छ । सम्पन्नले हिजो प्रतिबन्ध लगाएर अहिले खेतीमार्फत डलर कमाइरहेका छन् भने हाम्रा किसान जेल जानु परिरहेको छ । शिक्षा, स्वाथ्य, मानव अधिकारको चिन्ता गर्ने मुलुकहरूले आफ्नो कानुन र नियमभित्र रहेर खाँजा खुला गरिरहेका छन् । हामीचाहिँ विकृति ल्याउँछ कि भनेर पछि हट्न त भएन नि । मान्छे लड्छ भनेर हिँड्दै नहिँड्ने भन्ने कहिँ हुन्छ !
सरकारको नियमन र निगरानीमा तोकिएको क्षेत्रमा उत्पादन गर्ने गरी गाँजा फुकुवा गरेर हामीले आर्थिक लाभ लिनुपर्छ । यसबाट आयुर्वेदिक तेल बन्छ । बोक्राबाट कपडा बन्छ । स्टिलभन्दा बलियो र कीराले नखाने घरको भित्ता बन्छ, झोलालगायतमा सामग्री बन्छन् । विश्व स्वास्थ्य संगठनले बनाएको समितिले हिरोइनले मानव शरीरलाई ९० प्रतिशत असर गर्छ भनेको छ, कोकिनले ७० प्रतिशत र चुरोट–रक्सीले ३५ प्रतिशत असर गर्छ भनेको छ । तर, गाँजालाई ९२ प्रतिशत औषधिजन्य वनस्पतिका रूपमा लिएको छ । २ प्रतिशत यसको लठ्याउने पक्षलाई पनि मानव शरीरलाई कुनै हानी गर्दैन । त्यसैले गाँजा प्रतिबन्ध नफुकाउनुपर्ने कुनै कारण छैन । यसले विकृति निम्त्याउँछ भने त्यस्तो विकृति रोक्ने काम राज्यको हो ।
अहिले पनि गाँजा प्रतिबन्ध छ । तर, कुन गाउँ र सहर छ जहाँ गाँजा पाइँदैन ? कुनै छैन । प्रतिबन्ध लगाइएका हरेक चीजको उल्लंघन गर्ने मान्छे पनि हुन्छन् । भ्रष्टाचार गर्न पाइँदैन भन्ने कानुन छ । तर, भ्रष्टाचार भइरहेको छ । त्यसलाई रोक्ने काम राज्यको हो ।
गाँजालाई व्यावसायिक रूपमा खेती गर्ने हो भने यसमा युवा आकर्षित भएर वैदेशिक रोजगारीलाई रोक्ने देखिन्छ । वैदेशिक रोजगारीमा गएको मानिसको गाउँ घरमा प्रसस्त जग्गा जमिन खाली छ । ४ रोपनी जग्गामा गाँजा खेती गर्ने हो भने उसले विदेशमा १० वर्षमा कमाउने पैसा यहाँ एक वर्षमा कमाउँछ । हामी हाइड्रोपावरबाट कमाउने भनिरहेका छौं । त्यसका लागि २० वर्ष लाग्छ । त्यो पनि प्रतिव्यक्तिमा पुग्दैन । तर, गाँजा प्रत्येक व्यक्तिको घर–घरमा मात्र नभएर हात–हातमा पैसा पुग्छ । त्यो पनि बिना लगानी ।
तेल हुनेले तेल बेच्छ, हीरा हुनेले हीरा बेच्छ, खानी हुनेले कोइला बेच्छ । जसलाई प्रकृतिले जे दिएको छ, त्यही बेच्ने हो । हामीलाई गाँजा दिएको छ भने बेच्न किन नपाउने ? अहिले चोरी–चकारीका माध्यमले हामीकहाँ गाँजाको कारोबार भइरहेको छ । किसानले प्रतिकिलोग्राम ४–५ हजार रुपैयाँमा बेचिरहेका छन् । बिचौलियाले २५ हजारसम्म लिएको सुनिन्छ । तर, यही गाँजा डिल्ली र बम्बईमा प्रतिकिलोग्राम ४ देखि ५ लाखसम्म बिक्री भइरहेको छ । ल हेर्नुस् त हाम्रोमा हजार उता लाख !
हाम्रोमा वैध भयो भने ४ लाख नपाए पनि कम्तीमा ३ लाख त पाउलान् । भारतमा ५ लाखमा बिक्री हुन्छ भने नेपालबाट ३ लाखमा कसो नलग्लान् ! अझ युरोप, अमेरिका पुर्याउन सक्ने हो भने ३०–४० लाख पर्न सक्छ । घरमा सुतेर बस्नेले वार्षिक २ लाख कमाउन सक्छ, जाँगर गर्नेले १० लाख कमाउन सक्छ । देशको समृद्धिको आधार गाँजा खेती बन्न सक्छ । यस्तो चिजमा हामीले अब ढिला गर्नै हुँदैन ।