मिस नेपाल २०२० को खोजी सुरु

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७६

मिस नेपाल सौन्दर्य प्रतियोगिता आयोजना भएको २५ औं बर्ष यसपटक परेको हुनाले आयोजक द हिडेन ट्रेजरले बिशेष ढंगले यसपटकको प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मलेन आयोजना गरेर मिस नेपाल २०२० को खोजी कार्य विधिवत् रुपमा प्रारम्भ भएको घोषणा गरियो । 

मिस नेपाल २०२० मा सहभागिता हुनका लागि इच्छुक युवती १८ देखि २६ वर्ष उमेर पार नगरेको हुनु पर्ने, नेपाली नागरिकता र पासपोर्ट भएको, कम्तीमा पाँच फिट चार इन्च उचाई, शरिरमा ट्याटु नखोपिएको, अविवाहित युवतीले मिस नेपाल २०२० का लागि आवेदन दिन सक्नेछन् । साथै यो प्रावधान पूरा भएका एनआरएन युवतीले पनि मिस नेपाल २०२० मा सहभागिता जनाउन सक्नेछन् । 

द हिडेन ट्रेजरले मिस नेपाल २०२० मा सहभागि हुने सुन्दरीहरु मध्ये मिस नेपाल असिनिया र मिस नेपाल युरोपका विजेतालाई सोझै फाइनल चरणमा प्रवेश गराउने छ भने मिस पुर्वाञ्चल, मिस पोखरा, मिस सुदरपश्चिमाञ्चल, मिस चितवन र मिस इटहरी भएका सुन्दरीले पनि सोझै फाइनल चरणमा प्रवेश गर्न पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । 

यो वाहेक आयोजकले सुन्दरीहरुको खोजी गर्न आगामी फागुन २५ देखि चैत्र ११ गतेसम्म धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा अडिसन गरिने जनाएको छ । काठमाडौंमा भने चैत्र १५ गते अन्तिम अडिसन हुने जनाइएको छ । 

अडिसनमा छनोट भएका २० देखि २५ जना प्रतिस्पर्धीलाई काठमाडौंमा सात हप्तासम्मको गु्रमिङ र प्रशिक्षण दिइने छ । प्रशिक्षणमा रहेका सुन्दरीहरु विच जेठ २ गते शुक्रवारका दिन ग्राण्ड फिनाले आयोजना गरेर नयाँ मिस नेपाल चयन गरिने छ । 

प्रकाशित :फाल्गुन १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×