पढ्ने अनि चढ्ने

- प्रकृति दाहाल

फाल्गुन १८, २०७६

कर्णालीका अकलबहादुर एडीले सीटीईभिटीमार्फत प्लस टुमा हेल्थ असिस्टेन्ट पूरा गरे । त्यसपछि के पढ्ने ? कहाँ पढ्ने ? उनी अन्योलमा परे । घुम्न, डुल्न रमाउन चाहने एडीलाई एकोहोरिएर डाक्टर पढ्ने इच्छा जागेन । यसैबीचमा उनले जब माउन्टेनेरिङ शिक्षाबारे थाहा पाए, तब आफ्नो बानी–व्यवहारसँग ठ्याक्कै मिल्ने पढाइ माउन्टेनेरिङ नै हो भन्ने एडीलाई लाग्यो । यो विषयमा पढ्नुका साथसाथै घुम्न रिसर्च गर्नुपर्ने भन्ने बुझेपछि त झन् उनले जसरी पनि पढ्ने अड्डी लिए । हाल उनी नेपाल माउन्टेन एकेडेमी, काठमाडौंमा स्नातक तहमा अध्ययनरत छन् । पढाइ छँदै छ, सँगसँगै उनले वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ गरिसकेका छन् । उनले अब हिमाल चढ्ने सपना देखिसकेका छन् । हिमालमा पुगेको कल्पना गर्न थालेका छन् । यो रहर पनि पढाइमार्फत नै पूरा गर्ने उनले अठोट लिएका छन् । 

मनीषा बूढामगर पेसाले ट्रेकिङ गाइड हुन् । बुवाको पथ पछ्याउँदै उनी गाइड बनेकी हुन् । निश्चित तालिम लिएर लाइसेन्स प्राप्त गरे पनि उनी माउन्टेनेरिङ शिक्षाप्रति आकर्षित भइन् । प्लस टुमा व्यवस्थापन अध्ययन गरेकी उनले भने माउन्टेनेरिङमा स्नातक अध्ययन गर्दै छिन् । विषय फरक भए पनि नयाँ अनुभव रहेको उनी बताउँछिन् । टेर्किङ गाइडबारे धेरै कुरा पढाइमार्फत बुझ्ने मौका पाइन्, जुन उनको अनुभवले सिकाएको थिएन । गाइडको लामो अनुभव भए पनि शिक्षाले थप सहयोग पुर्‍याएको उनी बताउँछिन् । अनुभवले गर्नु र शिक्षाले गर्नु धेरै फरक रहेको उनको अनुभव छ । भन्छिन्, ‘अनुभवले आफ्ना लागि गर्न प्रेरित गर्छ शिक्षाले भने सबैलाई समेट्ने रहेछ, यसले गर्दा पढाइले आफ्नो पेसालाई अगाडि बढाउन थप सहयोग पुगेको छ ।’

अन्य क्षेत्रमा भन्दा यस क्षेत्रमा अवसर धेरै भएका कारणले आफ्नो आकर्षण बढेको ललितपुरकी निकिता महर्जन बताउँछिन् । साइन्स पढेर उनी पर्यटन शिक्षा अध्ययन गर्न थालेकी हुन् । यस पढाइले हिमालको चुचुरोमा पुगिन्छ भनेर पनि उनलाई पढ्नलाई हुटहुटी बढेको हो । परिवारको इच्छा भने अन्यत्रै क्षेत्रमा केही गरोस् भन्ने थियो, तर महर्जनलाई हिमालको चुचुरोमा टेक्ने इच्छाले नै जित्यो । परिवारलाई बुझाएर उनी पनि पर्यटन शिक्षा नै रमाइरहेकी छन् । उनलाई पढाइसँगसँगै घुम्न जान पाउने पक्ष भने रमाइलो लाग्छ । उनी भन्छिन्, ‘यस शिक्षाले भने पढाइसँगसँगै नेपालको पर्यटनदेखि संस्कृतिसम्म बुझ्न सकिन्छ ।’ यो विषयले हरेक क्षेत्रमा रोजगारी पाउने अवसर उनी देख्छिन् । गाइड गर्ने, पर्यटन विश्वका हिमालमा आधिकारिक रूपमा आरोहण गर्न पाउने सरकारी सेवामा समेत प्रवेश पाउन सजिलो हुने उनी बताउँछिन् । 

विश्वमा पहिलो पटक पर्वतीय पर्यटन शिक्षाको पढाइ सुरु भएसँगै यस शिक्षाप्रति युवाहरूको आकर्षण बढ्दै गएको पाइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त नेपाल माउन्टेन एकेडेमीमार्फत पहिलो पटक पर्वतीय पर्यटन शिक्षाको सुरुवात भएको हो । त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर एकेडेमीले छुट्टै पाठ्यक्रम निर्माण गरी विगत तीन वर्षदेखि चारवर्षे स्नातक तह (ब्याचलर अफ माउन्टेनेरिङ स्टडिज) र गत माघदेखि दुईवर्षीय स्नातकोत्तर तह (मास्टर अफ एडभेन्चर टुरिजम) कोर्स सञ्चालनमा ल्याएको छ । यस शिक्षामा विद्यार्थीहरूको संख्या दिन–प्रतिदिन बढ्दै गएको एकेडेमीको तथ्यांकले देखाउँछ । स्नातक तहमा पहिलो ब्याचमा १५ जना, दोस्रो ब्याचमा २७ जना र तेस्रो ब्याचमा ३० जना छन् । स्नातक तहमा भने विद्यार्थीको संख्या ३० पुगेको छ । 

अध्ययनका लागि थुप्रै विद्यार्थीको आवेदन आए पनि ३० जनाभन्दा बढी एकेडेमीले लिन नसकिने प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘एकेडेमी विद्यार्थीहरूको धेरै आवेदन आए पनि एकेडेमीको क्षमताअनुसार विद्यार्थीलाई अध्यापन गर्ने गर्छौं ।’ उनका अनुसार आगामी दिनमा विद्यार्थी सिट संख्या बढाउने तयारी भइरहेको छ । नेपाली विद्यार्थीहरू मात्र नभई विदेशी विद्यार्थीहरूको यस शिक्षाप्रति चासो बढ्न थालेको ज्ञवालीको भनाइ छ । विदेशी विद्यार्थी आएर पढ्न सक्ने भए पनि काम गर्ने वातावरण नभएकाले विदेशी विद्यार्थी भित्र्याउन सकिएको छैन । उनका अनुसार विदेशी विद्यार्थीहरूलाई अध्ययनका लागि नेपालमा भित्र्याउने व्यवस्था गर्न सके नेपालको पर्यटन क्षेत्रमा थप विकास हुनेछ । 

किन बढ्दै छ आकर्षण ? 

नेपालमा अत्यधिक पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल सरकारबाट विभिन्न योजनाहरू निर्माण भइरहेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ (भिजिट नेपाल २०२०) सञ्चालन भइरहेको छ । पर्यटनका लागि नेपालको मुख्य आकर्षण नै हिमाल हो । ८ हजारभन्दा अग्ला १४ वटा हिमालसमेत नेपालमा अवस्थित छन् ।

यसकारण हिमाल अवलोकन गर्न, आरोहण गर्न हरेक देशबाट पर्यटक नेपाल आउने गर्छन् । पर्यटकको वृद्धिसँगै पर्यटन क्षेत्रमा आवश्यक जनशक्तिहरूको पनि माग बढेको पाइन्छ । परम्परागत रूपले जनशक्ति उत्पादन भए पनि रुचि हुनेहरूले भने आवश्यक पढाइ गर्न थालेका छन् । यस विषयको अध्ययन पछि सैद्धान्तिक र प्रयोगात्मक रूपमा दक्ष हुने हुनाले पनि सुरक्षित यात्रा गराउन सक्ने हुन्छन् । त्यसकारण उनीहरूको जोखिमरहित यात्रा गराउन सक्छन् भन्ने विश्वास रहेको पाइन्छ । अध्ययनपश्चात् देशमा मात्र नभई विदेशमा समेत अवसर पाउने कारणले पनि माउन्टेनेरिङ शिक्षाले विद्यार्थीलाई तानेको छ । 

के छ पाठ्यक्रममा ?

अरू विषयमा भन्दा पाठ्यक्रमअनुसार पढाइमा प्रयोगात्मक बढी हुने गरेको छ । स्नातक तहमा पढ्नका लागि प्लस टुमा ४५ प्रतिशत वा दुई पीपीए ल्याउनुपर्ने हुन्छ । स्नातक तह पूरा गर्न ८ सेमेस्टरमा अध्ययन सक्नका लागि पढाइसँगसँगै वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ, ट्ेरकिङ, नेपाली हिमालको भौगोलिक अध्ययन, नेपालको पर्यटनसम्बन्धी अध्ययन, हिमालय हेरिटेज र ६ हजारसम्मका साना हिमालहरूको आरोहण गर्नुपर्ने हुन्छ । दुई वर्षको मास्टर्स अध्ययन सक्नका लागि भने पढाइ सँगसँगै हरेक सेमेस्टरमा पैदलयात्रा र ६ हजार फिट हिमालको फिल्ड रिपोर्टिङ गर्नुका साथै पर्यटनसम्बन्धी थेसिस गर्नुपर्ने हुन्छ ।

पोखरामा पनि उस्तै क्रेज 

पर्यटकीय नगरी भनेर चिनिने पोखरामा पनि पर्वतीय पर्यटनसम्बन्धी विषय सञ्चालनमा आएको छ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले २०७२ सालदेखि ब्याचलर अफ माउन्टेन टुरिजम म्यान्जमेन्ट (बीएमएमटी) विषय सञ्चालनमा ल्याएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सेमेस्टर प्रणालीअन्तर्गत पढाइ हुने स्नातक तहमा हरेक सेमेस्टरमा पर्वतीय पर्यटनलाई व्यवस्थापन गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको जनप्रिय क्याम्पसले जनाएको छ । ‘नेपाल विश्वभरि पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । त्यसमाथि पनि पोखरा पर्यटकीय दृष्टिले समृद्ध क्षेत्र हो,’ क्याम्पसका उपप्रधाध्यापक राजेन्द्र पौडेलले भने, ‘हाम्रो उद्देश्य पर्वतीय पर्यटन व्यवस्थापनमा युवाहरूलाई अगाडि बढाउनु छ ।’

पर्वतीय पर्यटन व्यवस्थापनसम्बन्धी विषय सुरु भएपछि त्यसप्रति विद्यार्थीहरूको क्रेज बढ्दै गएको पौडेल बताउँछन् । उनी भन्छन्, ‘पर्यटन क्षेत्रमा युवाहरू रमाउन खोजिरहेका छन्, यस पढाइले उनीहरूलाई थप हौसला प्रदान गर्नेछ ।’ यस शिक्षाले देशको पर्यटकीय क्षेत्रमा युवाहरूलाई अवसर प्रदान गर्नुका साथै बेरोजगार युवाहरू विदेश पलायन हुनबाट रोकिने पौडेलले विश्वास व्यक्त गरे ।

विदेशीको चासो पनि बढ्दो छ 

रोमनाथ ज्ञवाली / कार्यकारी निर्देशक, पर्वतीय प्रशिक्षण प्रतिष्ठान

सगरमाथाको सफल आरोहणदेखि हिमालसँग मानवीय सम्बन्ध जोडिएको हो ।  हिमाललाई आरोहण मात्र होइन, अध्ययन पनि गर्न सकिन्छ भनेर माउन्टेनेरिङ शिक्षा सुरु गरिएको हो । यो विश्वमै पहिलो पटक नेपालबाट सुरुवात भएको हो । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेर त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम निर्माण गरी तीन वर्ष अगाडि ब्याचलर सुरु गरिएको हो ।  आकर्षण देखिएपछि  मास्टर्स सुरु गरिएको छ । अध्ययनपश्चात् विद्यार्थीहरूले विश्वका हिमालमा आधिकारिक रूपमा आरोहण, गाइड, अध्ययन अवलोकनर्को अवसर पाउनेछन् । यसको मुख्य उद्देश्य पर्यटन क्षेत्रमा आकर्षक जनशक्ति उत्पादन गर्नु हो । विदेशी विद्यार्थीहरूको पनि यस शिक्षाप्रति आकर्षण बढेको छ ।

प्रकाशित :फाल्गुन १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×