पर्वत– कुश्मा–९, कटुवाचौपारीका रामचन्द्र लामिछानेको पुस्तौनी पेसा कृषि हो । केही गाईभैंसी पालेर जीविका गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाएका थिए ।
‘२०६४ को असोजतिर राहदानी पनि बनाएँ । यहाँजति दु:ख विदेशमा गर्न सके कमाइ राम्रै हुन्छ भन्ने लाग्यो,’ लामिछाने अतीत सम्झन्छन्, ‘भिसाका लागि लड्दालड्दै झन्डै डेढ वर्ष बित्यो ।’ ०६५ फागुनमा घरनजिकैबाट सदरमुकाम कुश्मा जोड्ने पुल बन्यो, बाटो छोटियो । सँगै उनको सोच पनि बदलियो । ‘उकालो–ओरालाको तनाव हराएपछि गाईपालन गर्ने सोच बनाएँ,’ उनले भने, ‘विदेश जान खोजेको ऋणले एकैपटकमा चारवटा दुधालु गाई किनँे ।’
उनी मात्रै होइन, यो पुलले ज्ञाँदी क्षेत्रका धेरैको जीवनमा परिवर्तन ल्याइदियो । ज्ञाँदीको डिलबाट मोदीबेनी झरेर कुश्मासम्म उकालो बाटो चढ्न करिब डेढ घण्टा लाग्थ्यो । पुलले एउटा डिलदेखि अर्को डिलसम्मको यात्रा ४ मिनेटमा छोट्याएपछि कटुवा र आसपासका सयौं परिवारको आर्थिक, शैक्षिक र सामाजिक जीवनमा सहजता आएको छ ।
ज्याला–मजदुरी गर्ने परिवारले एउटा गाई पालेर दूध बिक्री गर्न थालेका छन् । विद्यालय टाढा भएर बीचैमा पढाइ छाड्ने विद्यार्थीहरू बिहानै सदरमुकामको स्कुल–क्याम्पस पढेर खाना खान घरमै फर्किने सक्ने भएका छन् ।
यो पुल बनाउने अवधारणा २०५८ तिर कुश्मा–१२ (तत्कालीन ठूलीपोखरी गाउँ विकास समिति) का सूर्यप्रकाश पौडेलले ल्याएका हुन् । उतिबेला नेपालकै अग्लो भनेर दाबी गरिएको (१ सय ४४ मिटर अग्लो) यो झोलुङ्गे पुलको परिकल्पना सुनाउँदा उनलाई धेरैले विश्वास गरेनन् । ‘त्यति लामो र अग्लो पुल बन्छ भन्दा कसैले पत्याएकै थिएनन्,’ पौडेल भन्छन्, ‘जान्नेबुझ्नेले नै खिल्ली उडाएपछि कसैलाई नभनी आफ्नो ढंगले लागेँ । करिब सात वर्ष खटेपछि पुल बन्ने निश्चित भयो । मेरो सपना साकार भयो ।’
२०६६ फागुनमा यो पुल बनेपछि मोदी र कालीगण्डकीले अँगालो मारेको कुश्मालाई वरपरका गाउँ जोड्ने झोलुङ्गे पुल बनाउने बाटो खुल्यो । लगत्तै मुडिकुवा, बाग्लुङको बलेवालगायतका स्थानीय झोलुङ्गे पुल बनाउन कस्सिए । सम्भव पनि भयो । २०७१ मा बलेवा जोड्ने ३ सय ४७ लामो र १ सय ५१ मिटर अग्लो तथा २०७३ मा मुडिकुवा जोड्ने ३ सय ५९ मिटर लामो र १ सय ५७ मिटर उचाइको पुल बन्यो । यी झोलुङ्गे पुल बनेपछि बलेवा, मुडिकुवा र ज्ञाँदी क्षेत्रका सर्वसाधारणको जनजीविका सहज बन्न थाल्यो ।
‘जीविकोपार्जनका लागि धेरै संघर्ष गरें,’ मुडिकुवाका कमल गौंडेल भन्छन्, ‘पुलले जीवनमा खुसी ल्याइदियो ।’ उनले घरनजिकैको बारीमा अस्थायी टहरो बनाएर होटल चलाएका छन् । होटलबाट मासिक डेढ लाखसम्म आम्दानी हुन्छ । परिवारसँगै बसेर छोराछोरीलाई नजिकैको सदरमुकाममा पढाउन पाउनुलाई उनी जीवनको सबैभन्दा ठूलो खुसी ठान्छन् ।
कटुवाका दया लामिछानेको गोठमा अहिले १४ वटा दुधालु गाई छन् । उनले दैनिक ५० लिटर दूध सदरमुकाममा बिक्री गर्छन् । ‘झमक्क साँझ परेपछि पनि दूध बेचेर घरमै फर्किन सकिन्छ,’ उनले भने, ‘दिनभर गाईको स्याहार गर्न आफैंले भ्याउँछु ।’ पुल नबन्दासम्म मोदीबेनी झरेर जंगल हुँदै उकालो बाटो उक्लिनुपर्दा कुश्मा पुगेर फर्किन मात्रै ३ घण्टा लाग्थ्यो ।
कटुवाका सयौं युवा अहिले पुलको बाटो हुँदै दूध र तरकारी बिक्री गर्न सदरमुकाम आउँछन् । ‘पहिला धेरै दु:ख गरियो,’ व्यावसायिक किसान सुरेन्द्र पराजुलीले भने, ‘अहिले सबै दु:ख यही पुलले बिर्साएको छ ।’ उनले तरकारीबाटै वार्षिक ४–५ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । पुल बनेपछि व्यावसायिक तरकारी खेती सुरु गरेकी विष्णुमाया अधिकारीले अहिले ६–७ लाख आम्दानी गरिसकेको बताइन् ।
पुल बनेपछि पशुपालन र तरकारी मात्रै नभएर अन्य व्यवसायबाट जीविकोपार्जन गर्नेको संख्या पनि बढेको छ । ज्ञाँदी, मुडिकुवा, बलेवा क्षेत्रबाट उच्च शिक्षाका लागि कुश्मा अध्ययन गर्न आउने विद्यार्थी पनि उत्तिकै बढेका छन् । बजारमा डेरा लिएर बस्नुपर्ने बाध्यता हटेपछि विद्यार्थीको परिवारमा आर्थिक भार घटेको छ । ‘एक जनालाई पढाउँदा महिनामै १०–१२ हजार खर्च हुन्थ्यो,’ फलेवास ४ का थानेश्वर भुसालले भने, ‘पुल बनेपछि कुश्माको क्याम्पसमा पढेर घरमै खाना खान आउँछन् । हाइसन्चो छ । घरको काम पनि सघाएकै छन् ।’ बिहान क्याम्पस जाँदा झोलामा तरकारी बोकेर जाने विद्यार्थीहरूले उल्टै आम्दानी बढाएको अभिभावकहरू बताउँछन् । कुश्माका सबैजसो अग्ला पुलहरूमा मोटरसाइकलसमेत वारपार गर्न सकिने भएपछि आसपासका बासिन्दालाई कुश्मा हुँदै अन्यत्र आउजाउ गर्न निकै सहज भएको छ ।
पुल बनेपछि किसान, विद्यार्थी, कर्मचारीलगायतलाई मात्रै नभएर होटल व्यवसाय, कुखुरापालन, फर्निचर उद्योग, घरेलु हस्तकलाका सामग्री उत्पादन, सिलाइकटाइ, होजियारी उद्योगसमेत गाउँमा फस्टाएका छन् । पुल हेर्नकै लागि देश–विदेशबाट आउने पर्यटकको लर्को लाग्छ । विद्यार्थी, विभिन्न संघसंस्था, कर्मचारी तथा विदेशीसमेत गरी दैनिक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पुल बनेपछि कुश्मा र आसपासमा ५० भन्दा बढी स–साना तथा दर्जनको हाराहारीमा सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । पुलको अवलोकन गर्न हरेक दिनजसो ठूला बसदेखि ससाना जिपको लर्को लाग्छ । मुक्तिनाथको प्रवेशद्वार र प्रदेशको राजधानी पोखराको नजिक भएकाले पनि त्यहाँ जाने पर्यटकहरू पुल हेर्न जान छुटाउँदैनन् ।
पर्वतमा बनेका चारवटै पुल मुलुककै अग्ला र लामा पुल हुन् । पर्वतकै फलेवास–६, देवीस्थान र फलेवासकै वडा नम्बर १०, कुर्घा जोड्न २०७१ मा बनेको २ सय ७८ मिटर लामो पुलले दुई गाउँवासीलाई ठूलो राहत मिलेको छ । हाल पर्वतको कुश्मा–१, पाङबाट बाग्लुङ बजार जोड्न ५ सय ४४ मिटर लामो र १ सय ६० मिटर उचाइको पुलको काम अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रका करिब ५ सय व्यवसायीको लगानीमा करिब ५ करोडको लागतमा कुश्मामै निर्मित यान्त्रिक पुलले कुश्मा र बलेवावासीलाई यात्रामा सहज बनाएको छ । व्यावसायिक प्रयोजनका लागि ६ वर्षअघि निर्मित यो केवलकार शैलीको यान्त्रिक पुल बनेपछि कुश्माको व्यावसायिक सफलतामा समेत योगदान पुगेको छ ।
कुश्माकै उपल्लो बजारमा बन्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बनिसकेको छ । स्थानीय युवराज जोशी, नेत्र पराजुली, राजु पौडेल, राजु थापालगायतका व्यवसायीहरूले करिब २० करोडको लगानीमा कुश्मा–बलेवा झोलुङ्गे पुल बनाएका छन् । त्यसमा विश्वकै दोस्रो उचाइको बन्जी र स्काई साइक्लिङ बनाइने भएपछि पर्यटकलाई थप आकर्षण गर्ने देखिन्छ । परीक्षण सफल भइसकेको बन्जीजम्प आउँदो नयाँ वर्षदेखि व्यावसायिक रूपमै सञ्चालनमा आउने नेत्र पराजुलीले बताए ।
सुरुमा कुश्मा–ज्ञाँदी पुलको चर्चा बढी भए पनि हाल कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा, फलेवास–कुर्घा, खरेहा–अधिकारीफाँटलगायतका पुलले पर्यटकीय आकर्षण बढाएका छन् । मोदीखोला, कालीगण्डकी किनार र माछापुछ्रे, अन्नपूर्ण, धौलागिरिसहितका हिमालको रमणिय दृश्यावलोकन एकैसाथ गर्न पाइनु थप आकर्षण हो । पर्यटकहरू कम्तीमा एक दिनको बसाइ कुश्मा आसपासमा गर्छन्, जसका कारण यहाँका होटल–व्यवसायीहरूको आम्दानी र स्तरमा वृद्धि भएको छ । होटल–व्यवसायमा लगानी पनि बढेको छ । कुश्मामा सुविधायुक्त होटलहरूको संख्या दर्जनको हाराहारी पुगेको छ । पहिला सामान्य छाप्रामा व्यवसाय गर्नेहरूले सुविधा बढाएका छन् ।
अग्ला झोलुङ्गे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा–बलेवा बन्जी जम्प, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । व्यवसायी ओम श्रेष्ठले भूगोल सुहाउँदो व्यवसायमा लगानी गरेर सम्भावना खोज्न सके कुश्मा आउने पर्यटकलाई तीन दिनको प्याकेज बिक्री गर्न सकिने बताउँछन् । ‘यहाँका सम्भावनालाई प्रचार गर्न सकेकै छैनौं,’ उनले भने, ‘अग्ला पुलको मात्रै राम्रो प्रचार गर्न सके दैनिक लाखौंको सेवा बेच्न सकिन्छ ।’ कुश्माको प्रचार नहुँदा अग्ला पुल हेर्न दैनिक आउने सयौं पर्यटक सीधै फर्किने गरेको उनले बताए । केही वर्ष पहिलासम्म मुक्तिनाथ जाने, पोखरा आउने पर्यटकहरूले कुश्मा नदेखी फर्किने गरेकोमा अग्ला पुलकै कारण पर्यटकको चाप बढेको स्थानीयहरू बताउँछन् ।
स्थानीय तह पुनर्संरचनापछि कुश्मा र आसपासको बजारकेन्द्रित व्यवसाय खस्किने बहस चलिरहेका बेला व्यवसायीहरू भने हल्लाको पछि लाग्न नहुने तर्क गर्छन् । राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा समावेश कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, कुश्मामा निर्माणाधीन विश्वकै अग्लो साइक्लिङ र बन्जी जम्प, मोदीखोलाका जलविद्युत् तथा कालीगण्डकीको महत्त्वबारे प्रचार गर्न सके अर्बौंको पर्यटन प्याकेज बिक्री गर्न सकिने व्यवसायी विषम श्रेष्ठले बताए । पछिल्लो समय कुश्माको आन्तरिक पर्यटन विस्तार हुँदै जानुमा स्तरीय होटल पनि मुख्य रहेको उनीहरूले बताए । ‘केही वर्षअघिसम्म कुश्मा आएका पर्यटकहरू पनि बास खोज्दै पोखरा फर्किनुपर्ने अवस्था थियो,’ व्यवसायी नेत्र पराजुलीले भने, ‘अहिले त्यो अवस्था छैन ।’ गाउँमा संरचना थपिएपछि कुश्माको आर्थिक विकासको सम्भावना अझ बढेको व्यवसायी कृष्ण श्रेष्ठले बताए ।