साप्ताहिक संवाददाता
‘सिर्जनाको मूल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक एवार्डको तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।
अघिल्लो साता राष्ट्रिय नाचघरमा सम्पन्न एवार्ड वितरण समारोहमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र तथा म्युजिक भिडियो विधामा पुरस्कारहरू वितरण गरिएको थियो । समारोहमा गायक यश कुमारले सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक तथा गायिका दीपा लामाले पाश्र्व गायिकाको एवार्ड जिते । गायक दुर्गेश थापाले राष्ट्रिय भावना बोकेको गीतबाट एवार्ड पाए भने गायक आशुषेन लामाले वर्षको चर्चित गीतको एवार्ड जिते ।
आधुनिक विधातर्फ कर्णराज गिरीले आधुनिक गीत गायनको एवार्ड जिते भने सबिन लामाले पप गायकको एवार्ड जित्न सफल भए । गायक शसान कँडेलले पप गायनतर्फको पब्लिक च्वाइस एवार्ड जित्न सफल भए ।
यसअघि सन् २०१८ मा मलेसिया र २०१९ मा कतारमा उक्त एवार्ड वितरण भएको थियो । यसपटक दुबईमा गर्ने तय भएको कार्यक्रम कोरोना भाइरस आतंकका कारण काठमाडौंमै गरिएको आयोजक संस्थाले जनाएको छ ।