पुरानो प्रविधिमा नयाँ कला 

- समपर्ण श्री

चैत्र १२, २०७६

मानिआएको शान्तिको प्रतीक– जून । त्यसलाई कलाकार सुजिता महर्जन बुद्धसँग जोड्छिन् । त्यसलाई उनले चित्रमा उतारेकी छिन् र नाम दिएकी छिन्– जूनको एक टुक्रा । यसलाई अर्थ दिन उनले पीपलका पात, च्याउ, पञ्च रङ र बुद्धका विभिन्न मुद्रा चित्रमा उतारेकी छन् । 

माइतीघरस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भएको ‘प्रिन्ट मेकिङ’ कला प्रदर्शनीमा यो चित्र राखिएको छ । ‘बुद्ध उज्यालो अर्थात् शान्तिका प्रतीक हुन्,’ सुजिता भन्छिन्, ‘उनलाई जूनसँग दाँजेर शान्तिको सन्देश दिने मेरो प्रयास हो ।’ उनले ७ दिनमा यो प्रिन्ट तयार गरेकी हुन् । 

प्रदर्शनीमा उनका जस्तै डेढ सयभन्दा बढी चित्र छन् । जसमा प्रिन्ट मेकिङ कलाका तीन विधि प्रयोग गरिएको छ– इचिङ, उडकट र लिथोग्राफी । सुजिताका इचिङ विधिद्वारा तयार पारिएका तीनवटा कलाकृति प्रदर्शनीमा छन् । उनी प्रिन्ट मेकिङअन्तर्गत इचिङ विधि प्रयोग गर्छिन् । ‘इचिङ प्रविधि प्रिन्ट मेकिङ कलाको एक विधि हो, जसको प्रचार नेपालमा सुरु भएको केही वर्षमात्रै भएको छ’, उनले सुनाइन् ‘यो विधिमा हामी जिंक प्लेटमा पेन्टिङ गर्छौं र त्यसलाई प्रेसबाट निकाल्छौं ।’ 

फाइन आर्टमा मास्टर्स गरिसकेकी सुजिता इचिङ विधिका पेन्टिङलाई व्यावसायिक ढंगले अगाडि बढाउने सोचमा समेत छिन् । फाइन आर्टस्मा मास्टर्स गरिरहेकी सोनी राईको प्रदर्शनीमा दुइटा कलाकृति राखिएको छ । इचिङ प्रविधिमार्फत उनले विश्वव्यापीकरणले विस्थापित गरेको स्थानीयताबारे बिम्बात्मक अभिव्यक्ति दिएकी छिन् । ‘लोकल रक्सीलाई अन्तर्राष्ट्रिय मार्काका रक्सीले कसरी विस्थापित गरे ?’ उनको पेन्टिङले प्रस्ट पार्छ । 

उडकट विधिद्वारा तयार पारिएको आफ्ना पे्रन्टिङ प्रदर्शनमा राखेकी छन् कलाकार सम्झना राजभण्डारीले । यसमा काठमा डिजाइन खोपेर ब्लक बनाइन्छ । ब्लकमा रङ लगाएर प्रिन्ट गरिन्छ । एउटा ब्लक बनाइसकेपछि यसका धेरै एडिसन निकाल्न सकिने सम्झना बताउँछिन् । उनी भन्छिन्, ‘उडकटको छुट्टै खाले छापखाना हुन्छ । जुन ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टमा छ । यद्यपि, मेसिनबिना पनि उडकट विधिद्वारा काम गर्न सकिन्छ ।’

फाइन आर्टस्मै मास्टर्स गरिरहेका विद्यामान तामाङचाहिँ लिथोग्राफी विधिमा  काम गर्छन् । उनका चित्रमा गाउँ घरको लालपुर्जामाथि घरपालुवा जनावर गाई, बाख्रा छन् । गाउँमा हराइरहेको मौलिकता र साँघुरिँदै गएको जमिनलाई उनले चित्रमा उतारेका छन् । उनको कला हेर्ने जो कोहीलाई गाउँले परिवेश र बाल्यस्मृतितर्फ तान्छ । हेर्दा रोमाञ्चक बनाउने यो कला तयार गर्न भने कठिन रहेको उनी बताउँछन् । ‘विशेष खालको ढुंगामा ड्रइङ गर्ने विधि लिथोग्राफी हो,’ उनी प्रस्ट्याउँछन्, ‘सुरुमा ढुंगालाई घोटेर चिप्लो बनाएपछि ग्लासमार्करले ड्रइङ गर्ने उनी बताउँछन् ।’ 

उनका अनुसार यस्तो खालको ढुंगा एकदमै महँगो छ, सहजै उपलब्ध पनि हुँदैन । त्यसो त उनी इचिङ विधिमा पनि काम गर्छन् । तीन दिनको वर्कसपमा बनाएको मौरीको पेन्टिङबारे उनी भन्छन्, ‘बाल्यकालमा मौरीहरूको आवाज सुनिन्थ्यो, अहिले पाइन्न । त्यसैले मैले यसैको पेन्टिङ बनाएँ,’ विद्यामान भन्छन् । 

कलाकार सम्झना राजभण्डारी भन्छिन्, ‘पछिल्ला तीन वर्षदेखि प्रिन्ट मेकिङ कलाका प्रदर्शनी हरेक वर्ष हुने गरेको छ ।’

नेपालमा प्रिन्ट मेकिङ

प्रिन्ट मेकिङ १५ औं शताब्दीतिर चाइनाबाट विकास भएको विधि हो । तर, नेपालमा केही वर्षअघि मात्रै यो प्रचारमा आएको हो । नेपालमा सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयको कलाकार उमाशंकर शाहको पहलमा प्रिन्ट मेकिङको पढाइ हुन थालेपछि यसको लोकप्रियता बढ्दै गयो । 

कलाकार तथा प्राध्यापक शाहका अनुसार एकेडेमिक पाठ्यक्रम सुरु हुनुअघि यसका कलाकार नेपालमा २/३ जनामात्र थिए । ‘हामी विश्वविद्यालय पुगेपछि यो पनि लागू गरौं भनेर सुरुवात ग¥यौं । त्रिभुवन विश्वविद्यालयमा लागू भएपछि अन्य प्राइभेट कलेजमा पनि सुरु भयो,’ शाहले जानकारी दिए । 

प्रिन्ट मेकिङका पछिल्ला कलाकार यही विद्यार्थी पुस्ता हो । ‘अहिले यही विधामार्फत पेन्टिङ गरेर जीवन धान्ने कलाकार पनि छन् । यसर्थ नेपालमा व्यावसायिक प्रिन्ट मेकिङका काम सुरु भइसकेका छन्,’ उनी भन्छन् । कलाकार शाहकै नेतृत्वमा ४ वर्षअघि प्रिन्ट मेकिङ नेपाल संस्थाको स्थापना भयो । प्रिन्ट मेकरले बाहिर अवसर पाउन कठिन देखिएपछि अवसर प्रदान गर्ने उद्देश्यले उक्त संस्थाको स्थापना गरेको उनी बताउँछन् । 

प्रिन्ट मेकिङ नेपालमा मास्टर्स गरेका प्रिन्ट मेकर्सहरू आवद्ध हुन्छन् । ‘मास्टर्स गरिसकेपछि सदस्यता लिन पाउँछौं । हरेक वर्ष प्रिन्ट मेकिङ नेपालको प्रदर्शन र वर्कसप हुन्छ । 

 

प्रकाशित :चैत्र १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×