डिसेम्बर १० तारिखका दिन, ५७ वर्षीया वेई गुझियान चीनको हुनानको एक समुन्द्री माछा बजारमा झिंगे माछा बेचिरहेकी थिइन् । त्यति नै बेला उनलाई चिसोले समाएको जस्तो महसुस भयो । उनी स्थानीय क्लिनीकमा गइन् । सामान्य ज्वरो आएको भन्दै क्लिनीकमा एउटा सुई लगाइयो र उनी घर फर्किइन् ।
तर, उनले आफूलाई झन् कमजोर भएको महसुस गर्न थालिन् र अर्को दिन वुहानको इलेवेन्थ अस्पताल पुगिन् । केही औषधि लिइन् र आराम गरिन् । तर, अवस्थामा कुनै सुधार नआएपछि डिसेम्बर १६ मा उनी वुहानकै सबैभन्दा ठूलो वुहान युनियन अस्पताल पुगिन् । त्यतिबेलासम्म हुनान बजारका धेरैलाई वेईलाई जस्तै समस्या देखा परिसकेको थियो । उनले अस्पतालमा यो कुरा पनि भनिन् । उनलाई भर्ना गरेर उपचार थालियो । जनवरीमा उनी निको भइन् ।
जब चिनियाँ मिडियाले कोरोना भाइरसबारे समाचार लेख्यो तत्काल वेईलाई क्यारेन्टाइनमा राखियो । त्यतिबेलासम्म चीनमा कोरोनाबारे हल्ला फैलिसकेको थियो । तत्काल समुन्द्र किनारको माछा बजार बन्द भयो ।
वेईले सो माछा बजारमा प्रयोग गरिने सामूहिक शौचालयका कारण रोग सरेको बताएकी छन् । उनी विश्वकै सबैभन्दा पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको विश्वास गरिएको छ । अर्थात, उनलाई पेसेन्ट जिरो’ नाम दिइएको छ ।
चिनियाँ सरकारले आधिकारीक रुपमा नाम सार्वजनिक नगरेको भए तापनि चीनको अनालाईन साइट ‘द पेपर’ ले उनी नै ‘पेसेन्ट जिरो’ भएको उल्लेख गरेको छ । चीनसँगै विश्वका अन्य चर्चित संचारमाध्यमले पनि ती महिलालाई नै सो उपनाम दिएका छन् ।
वेई चीनमा पहिलो चरणमा कोरोना संक्रमण पक्का भएका २७ जनामध्येकी एक थिइन् । तर, कतिपय संचारमाध्यमले कोरोनाको पहिलो संक्रमण डिसेम्बर १ मै देखिएको बताइरहेका छन् । उनी को हुन् र कहाँ उपचार भएको हो भन्नेबारे भने कुनै जानकारी आएको छैन ।