साप्ताहिक संवाददाता
स्पेन र पोर्चुगलमा थप ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । पोर्चुगलमा एउटै फल्याटमा बस्ने ८ नेपालीमा कोरोना संक्रमण देखिएको हो ।
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ती नेपालीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि अन्यको पनि परीक्षण गरिएको थियो । परीक्षणबाट सबैमा संक्रमण भएको पुष्टी भएको छ ।
संक्रमितमध्ये एक जना बच्चा र अर्की गर्भवती हुन् । यससँगै हालसम्म पोर्चुगलमा ९ नेपालीमा कोरोना संक्रमण देखिएको छ । अहिले यी सबैको आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैगरी, स्पेनको क्याटालोनिया क्षेत्रका बसोबास गर्दै आएका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै स्पेनमा कोरोना संक्रमण नेपालीको संख्या ७ पुगेको छ । जसमध्ये दुई जना अस्पतालको निगरानीमा सेल्फ क्यारेन्टाइनमा छन् भने अन्य अस्पतालको आइसोलेसनमा छन् ।
पछिल्लो समय स्पेनमा कोरोना संक्रमण बढ्दै गएको छ । यससँगै त्यहाँ बस्ने नेपालीहरुलाई सचेत रहन आग्रह गरिएको छ । हाल स्पेनमा १० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ ।
यसअघि नै विश्वका विभिन्न देशमा रहेका नेपालीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । केही नेपालीको मृत्युसमेत भइसकेको छ । युएईमा हालसम्म ८ नेपालीमा कोरोना संक्रमण देखिएको छ । अस्ष्ट्रेलियामा पनि ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ३ रहेको छ । त्यस्तै, बेलायतमा ३, अमेरिकामा ३, हङकङ र मलेसियामा एक–एक नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट बेलायतमा २ र अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
स्रोतः विदेशस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संचारमाध्यम ।