विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् ।
इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।
इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको स्थितीलाई हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।” कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गत फागुन २१ गते देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो ।
गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए । कोरोना सङ्क्रमणको गति यही स्थितिमा बढिरहे युरोपमा रहेका नेपालीहरुमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उनले बताए । आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले जानकारी दिए ।
इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ ।
स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको बताए । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भने । उनका अनुसार उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको छ ।
कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । । सङ्क्रमित नेपालीहरुको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको र तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । “घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भने, “अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।”
फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताए । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको उनले बताए । कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए ।
फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए ।
युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । उनका अनुसार बेलायतमा बस्ने नेपालीको यकिन तथ्याङ्क नभए पनि डेढलाखको हाराहारीमा रहेको अनुमान छ ।
कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ ।
बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् ।
बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी र्दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् ।