लकडाउनका कारण घरभित्रै बसिरहेका चलचित्र अभिनेता तथा नाट्यनिर्देशक दयाहाङ राई अहिले आफ्नै करिअरलाई पछाडि फर्केर हेरिरहेको बताउँछन् । कोरोना–महामारीपछि नेपालमा सिनेमा निर्माणमा कमी आउने तर राम्रा सिनेमा बन्ने उनको अनुमान छ । राईसँग अनिल यादवले गरेको कुराकानी:
लकडाउन दैनिकी कति सहज भइरहेको छ ?
अभिनेता भन्नु नै सहज प्राणी हो किजस्तो महसुस हुन्छ कहिलेकाहीँ । जीवनका हरेक भोगाइलाई उसले अनुभवकै रूपमा ग्रहण गर्ने रहेछ । लकडाउनलाई पनि मैले जीवनको अनौठो र फरक अनुभवका रूपमा सकरात्मक हिसाबले लिइरहेको छु ।
सधैं सुटिङको धपेडीमा हुनुहुन्थ्यो । घरमै रहनुपर्दा क्यामेरा खुब मिस भइरहेको होला नि ?
यो त स्वाभाविक नै भयो । हरेक मान्छेलाई यतिखेर आफ्नो पेसा र दैनिकी मिस हुन्छ । मलाई अहिले खास मिस भइरहेको आफ्नो नियमित जीवन हो । जीवन छिट्टै सामान्य भइदिए हुन्थ्यो भन्ने लाग्छ । मेरो पनि अरू आममान्छेको जस्तै छ दैनिकी छ । आधा परिवार गाउँमा हुनुहुन्छ, आधा यता हामीसँगै छौं ।
लकडाउनको समय कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?
सुरुको एक साता त मैले आरामकै हिसाबले लिएँ । जब लकडाउन लम्बियो, अनि समय कटाउने बहाना त चाहियो । कलाकार भइसकेपछि स्वाभाविक रूपमा सिनेमा हेर्ने नै भइयो । यो बीचमा मैले खासगरी पुराना हिन्दी सिनेमा हेरेँ । जुन पहिल्यै हेरिसकेको थियो । पहिले अर्कै हिसाबले हेरेको सिनेमा, अहिले हेर्दा कसरी ग्रहण गर्ने रहेछु, त्यो बुझ्न पनि मैले ती सिनेमा दोर्याएर हेर्न जरुरी ठानेँ ।
नयाँ नाटक वा सिनेमाको तयारीमा पनि हुनुहुन्छ कि ?
त्यस्तो तयारी नै त छैन । नयाँ नाटक गरौँ कि भनेर साथीभाइसँग सल्लाह गरिरहेको छु ।
नेपाली सिनेमा कोरोना महामारीका थला पर्ने देखिन्छ । यो महामारीपछि नेपाली सिनेमा सामान्य अवस्थामा फर्किन कति समय लाग्ला ? यसले पार्ने प्रभाव के–के होलान् ?
सिनेमा पनि अर्थतन्त्रसँगै जोडिने भएकाले आर्थिक नोक्सान हुने नै भयो । नेपाली सिनेमा पुरानै लयमा फर्किन कम्तीमा एक वर्ष लाग्छ होला । यद्यपी महामारीपछि हामीकहाँ राम्रा सिनेमा बन्लान् कि भन्ने मलाई लागेको छ । हिजो बजारमा पहुँच भएका बजारमुखी सिनेमा बढी बने । अब चाहिँ समाजलाई नजिकबाट चिहाउने खास सिनेमाहरू बन्छन् कि भन्ने मलाई लागेको छ । यहाँनेर म अर्को कुरा के जोड्न चाहन्छु भने लकडाउनमा सम्पूर्ण मान्छेहरूलाई आफूले विगतमा गरेका कामहरूको आत्मसमीक्षा र आत्मबोध गर्ने मौका दिएको छ । अझ सिर्जना गर्ने मान्छेहरूले म कहाँ चुकेको रै’छु र मैले समाजलाई कसरी बुझेको रै’छु भनेर आत्मसमीक्षा गरिरहेका होलान् । कतिपय फिल्ममेकरहरू राम्रो सिनेमा बनाउने प्रयत्न गर्दागर्दै बजारको हाउगुजीका कारण चुकेको अवस्था थियो । त्यसकारण अब कोरोनापछि संख्यात्मक हिसाबले एकदमै कम सिनेमा बन्छन् तर खास सिनेमा बन्छन् भन्ने मेरो विश्वास छ । सारा संसारलाई अहिले कोरोनाले एक ठाउँमा ल्याएर उभ्याइदिएको छ । सारा संसार अहिले अरू कुरा बिर्सेर कोरोनाविरुद्ध लडिरहेको छ । त्यसैले यो महामारीले फिल्ममेकरहरूमा पनि पक्कै जीवनप्रति हेर्ने फरक दृष्टिकोर्ण निर्माण भएको हुनुपर्छ । घरमा लामो समय परिवारसँग बिताइरहँदा सम्बन्धलाई राम्रोसँग अनुभूत गरेको हुनुपर्छ । यी सबै कुरा कतै न कतै अब बन्ने सिनेमामा झल्किएलान् भन्ने मलाई लागेको छ ।
नेपाली फिल्मको अन्तरवस्तु (कन्टेन्ट)मै परिवर्तन आउला ?
जीवन र सम्बन्धको दृष्टिकोणमा अहिलेका केही अनुभवहरू झल्किएलान् भन्न खोजेको हो । तर, हामीकहाँ समाजका विविध संरचनालाई गहिराईमा बुझेर सिनेमा बनाउनेहरू एकदमै कम छन् । हामी सतही बुझाइमै रमाएको अवस्था छ । हामीले कन्टेन्ट भनेर उठाएका विषयमा पनि त्यही कारण बिग्रिएका प्रशस्तै उदाहरण छन् । त्यसैले धेरै ठूलो अपेक्षा राख्नु बेकार हो । तर, सूक्ष्म हिसाबले खोज्ने हो भने यो कोरोनाले हामीलाई धेरै कन्टेन्ट दिएर जाँदैछ ।
कोरोनाले निम्त्याउने आर्थिक संकटका कारण सिनेमा निर्माणमा कमी आउने, कति कलाकारले काम नपाउने र कतिको पारिश्रमिक घट्ने परिस्थिति पनि आउन सक्छ । यसलाई कसरी लिनुभएको छ ?
यसमा मेरो प्रष्ट धारणा छ– जुन उद्देश्य वा स्वार्थमा फिल्म बनाइन्छ, म त्यहीअनुसार पारिश्रमिक लिन्छु । मेरो पारिश्रमिक ठ्याक्कै यति भन्ने छैन । म मेकरलाई स्पष्ट भन्छु, तपाईं पैसा कमाउन फिल्म बनाउँदै हुनुहुन्छ भने मलाई पनि पैसा दिनुस्, मैले पनि पैसा कमाउनै पर्यो । यदि कसैले पैसाका लागि मात्रै नभएर समाजका लागि वा कुनै कथा भन्नका लागि सिनेमा बनाइरहेको छ भने मैले तपाईंको बजेट जति हो, त्यति दिनुस् भन्छु । त्यसैले पारिश्रमिकका मामिलामा कोरोनाको संकट र मेकरको स्वार्थ दुवै कुरालाई ध्यानमा राखेर सहमतीमा पारिश्रमिकको निर्णय गर्न सकिन्छ ।
तपाईंका सम्झौता गरिसकेका सिनेमाकै सुटिङ हुन बाँकी छ, त्यसैले यो साल फुर्सदिलो बस्नु नपर्ला । तर, अरू कलाकारहरूमा काम नपाउने भय छ नि ?
काम नपाउने भय त छ । तर, यसको सकारात्मक पक्ष पनि छ । आफूलाई अझ बलियोसँग तयार गर्न पर्याप्त समय पाइन्छ । कलाकारले आफू निखार्न यो समय सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । यद्यपि रोजीरोटीको कुरा पनि आउँछ । जुन समस्या हामीले मात्रै होइन, हरेक क्षेत्रका मान्छेले सामना गर्नुपर्नेछ ।
आफूले गरेका यसअघिका काम र कमजोरीबारे तपाईंले पनि केही आत्मबोध गर्नुभयो ?
म धेरै कुरामा हतारिएजस्तो महसुस भएको छ । नाटकमा पनि हतारिएर काम गरेको छु । सिनेमा पनि हतारिएर गरेको छु । कुनै बेला सिनेमा गर्दै नाटक पनि गरेको छु । मान्छेलाई पुग्नु त कहीँ पनि छैन । सबैसँग राम्रो सम्बन्ध राख्नका लागि म अलि धेरै दौडिएँ कि भन्ने महसुस भएको छ ।
कोरोनापछिको दयाहाङ राईमा के परिवर्तन पाइएला त ?
यो त म भन्न सक्दिनँ । यी मैले महसुस गरेका कुरा मात्रै हुन् । अहिले आएर विगतमा मैले गल्ती गरेँ भन्नु पनि बेकार हो । किनभने त्यतिबेला समय नै त्यसरी चलिरहेको थियो । अर्को केही कुरा मेरा आदत भइसकेका छन् । आदत तोड्न मलाई पक्कै सजिलो हुँदैन । तर, मैले आज गरेको आत्मसमीक्षा र आत्मबोधले भोलि मेरो कामलाई अझै बलियो बनाउन मद्दत गर्ला भन्ने अपेक्षा छ । अभिनयप्रतिको लगाव झन् बढ्ला भन्ने लागेको छ ।
पछिल्लो समय तपाईंले सिनेमाको स्तरभन्दा संख्या बढाउनेमा ध्यान दिनुभयो भन्ने आलोचना हुन थालेको थियो । अब त्यता ध्यान दिन्छु भन्न खोज्नुभएको हो ?
कोसिस त पहिले पनि स्तरमै ध्यान दिने भन्ने हो । अब म सबै मेकरहरूलाई भन्दैछु, कोरोनाका कारण हामीसँग प्रशस्त समय छ, त्यसैले स्क्रिप्टमा पर्याप्त तयारी गरेर मात्रै सुटिङमा जाऔं ।
यो पनि पढ्नुहोला ।