
तीज’ उल्टो भयो भने ‘जति’ हुन्छ । ‘जति’ भएपछि जे गरे पनि चल्छ । आजकालको तीज शैली देख्दा यस्तो लाग्छ, अब तीज तीज रहेन, यो ‘जति’ भैसक्यो । जति भएपछि तीजको व्रत पार्टीमा परिवर्तन हुँदो रहेछ । मन्दिर नगएर डिस्को जान मन लाग्दो रहेछ । चेली/माइती नभएर प्रेमी/प्रेमिका मिलन हुँदो रहेछ । साडी/चोलो छोडेर मिनिस्कर्टको चलन आउँदो रहेछ । माइतीघर जानुभन्दा सिनेमा घरतिर ध्यान जाँदो रहेछ । दर खानतिरभन्दा तर चाख्न मन लाग्दो रहेछ । पारिवारिक भेटमा भन्दा फेसबुक अपडेटमा मच्चिन मन लाग्दो रहेछ भन्ने गजुरियल दृष्टिकोण छ ।
तै पनि यो साल तीज र जति आउँछन् कि आउँदैनन्, दुवै अन्यौलमा छन् । आउँदैनन् भनौं भने भित्तेपात्रोमा भनिएको छ, भदौ ३० गते तीज हरितालिका । आउँछ भनौं भने नेपालबन्द क्यालेन्डरमा देखिएको छ, भदौ र असोजभरि बन्द हडताल † आयो भने जतिले कति गर्ने हो ? आएन भने तीजको पीडा के हुने हो ? बन्द–हड्ताल जारी रह्यो भने न मधेसकी चेली पहाड माइत आउन सक्छिन्, न त पहाडबाट माइती मधेस पुग्न सक्छन् † त्यसमाथि कुनै चेली विदेशमा छन्, कसैका माइती परदेशमा होलान् । गजुरियल विश्लेषण भन्छ, तीज वा जति, जे भए पनि गएको भन्दा आएकै राम्रो हो । विश्वास गरौं, यस पटक पनि यिनीहरू पक्का आउनेछन् ।
ती जति लिएर आउँछन् कि तीज लिएर आउँछन्, त्योचाहिँ प्रतीक्षाकै विषय हो । तीजलाई संस्कृति मान्नेहरूको तर्क छ, ‘जति’ ले तीजको मान–मर्दन गरेको छ । ‘जति’लाई समयको माग मान्नेहरूको भनाइ छ, तीजले परिवर्तनको माग गरेको छ । यी दुईवटा विपरीत विचारको बीचबाट आजको गजुरियल विश्लेषण अघि बढ्छ ।
विश्लेषण भन्छ, उहिलेको तीज यस्तो थियो, अहिले उस्तो भयो भनेर बस्ने बेला यो होइन । भविष्यमा तीज आफ्नो असली स्वरूपमा फर्किएला नि त भनेर कुर्ने बेला पनि होइन यो ।
हिजो हिजै हो, जुन गैसक्यो । भोलि भोलि नै हो, त्यो आएकै छैन । अहिले हामीले तीजलाई कति शिष्ट, सामाजिक र समयसापेक्ष बनाउन सक्छौं, यो मुख्य कुरा हो । जुनसुकै चाडपर्वमा विकृति पसेको छ, तर त्यसलाई हिजोसँग तुलना गर्दैमा राम्रो हुने होइन । भोलिसँग अपेक्षा राखेर पनि हुँदैन । त्यसैले अहिले हामी कति जिम्मेवार भएर चाडपर्वलाई मनाउँछौं, त्यसैअनुसार यसले भोलि आफ्नो रूप धारण गर्ने हो भन्ने गजुरियल ठम्याइ छ ।
समस्या के हो भने हामी वर्तमानमा बाँच्नै सक्दैनौं । कि त बितेका कुरा सम्झेर दु:खी हुन्छौं कि त भविष्य सोचेर खुसी । यद्यपि यी दुवै कुरा हाम्रो वशमा छैनन् । हाम्रो वशमा भएको भनेको त वर्तमान हो । वर्तमानलाई चाहिं ध्यान नदिने अनि विगत र आगतलाई हेरेर रुने वा हाँस्ने प्रवृत्ति नै हाम्रो मूल समस्या हो । वास्तवमा कुनै कुराको तुलना हुनै सक्दैन । त्यो युगलाई यो युगसँग, यस घटनालाई त्यस परिघटनासँग, यो व्यक्तिलाई त्यो व्यक्तिसँग, यो समयलाई त्यो समयसँग वा यो रीतिलाई त्यो रीतिसँग तुलना गर्दा तनावबाहेक केही पनि हुँदैन । प्रत्येकको आ–आफ्नै महत्व, क्षमता तथा योग्यता हुन्छ । सोही अनुसार तीज र जतिलाई बुझ्नुपर्छ भन्ने गजुरीयल ठम्याइ छ ।
उहिले श्रीमान्को दीर्घायुको कामना गर्न व्रत बस्थे, अहिले आफ्नै स्लिमको कामनासहित व्रत बस्छन् । यसलाई तीज उल्टो भएर जति भएको हो भन्न मिल्दैन, यो पनि समयकै माग हो । उहिले फोन थिएन, साथीभाइ थिएनन् । फेसबुक थिएन । माने पनि, नमाने पनि श्रीमान्प्रति त्वम् शरणम् गर्नुपथ्र्यो । अहिले मोबाइल छ, इमेल छ, जिमेल छ, फिमेल छ । फ्रेन्डहरू छन् । आफू तन्दुरुस्त बन्न पनि स्लिम बन्नुपर्यो । मित्रहरूलाई देखाउन पनि फिटफाट बस्नुपर्यो । श्रीमतीले आफ्ना लागि व्रत बस्न छोडे भनेर अहिलेको तीजलाई जति भयो भन्नुको साटो श्रीमतीको दीर्घायुका लागि आफूले कति छाक छोडें भनेर श्रीमान्हरूले सोच्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।