वैज्ञानिकहरूको कथामा विश्वास गर्ने हो भने हामी अर्बौँ वर्षअघि पृथ्वीमा भाइरस नै थियौं । आज हामी मनुष्य छौं । हामी भोलिका बुद्ध हौं ।
परजीवी र जीवाणुसँग मनुष्यको लामो सहअस्तित्व
पृथ्वीका सबै प्राणी माछा, रूख, सर्प, गुलावको फूल, हात्ती, नरिबल, ब्याक्टेरिया वा मानिसभित्र आ–आफ्नै परजीवी (प्यारासाइट) हुन्छन् र तिनीहरूबाट मुक्ति पाउन असंभव नै छ । मानिसको विकासको यात्राक्रममा मानिसले उसका प्रतियोगी सबै प्राणीमाथि विजय पाए पनि परजीवीसँग भने यसो हुन सकेन । यिनैको कारणले हामीलाई रोग लाग्छ । हाम्रो शरीरमा करिब १५ सय किसिमका जीवाणुहरू (माइक्रोब) पाइन्छन् । यिनीहरू हाम्रो शरीरमा आफ्नो संख्या बढाए पनि होसियारपूर्वक बस्छन् र आफ्नो सीमामा रहेर काम गर्छन् । यिनीहरूले हाम्रो शरीरभित्र विध्वंस मच्चाउन थाले भने तिनीको अस्तित्वमाथि नै खतरा हुने भएकाले तिनीहरू खासै नोक्सान नपुर्याउनेमा सचेत रहन्छन् । त्यसमध्ये १ सय जति अलिक खतरनाक खालका हुन्छन्, जसको प्रवासले हामीमा सानोतिनो बिमारीदेखि जीवनलाई नै क्षति पुर्याउने खेलको सुरुआत हुन्छ ।
छालामा दाग, रुघाखोकी लगाउने भाइरसदेखि हाम्रो मुख र पेटमा रहने जीवाणुसम्मले खासै हानी पुर्याउँदैनन् । रुघा र दादुराले बिरामी पार्न पार्छन् भने एचआईभी र रेबिजले मृत्यु नै निम्त्याउँछन् ।
साधारणत: भाइरसले जीवित रही रहन निम्न जीवन चक्र पूरा गर्नुपर्छ । शरीरभित्र कुनै माध्यमद्वारा वा सिधै प्रवेश गर्ने, भित्रको प्रतिरक्षालाई छल्दैबचेर आवश्यकताअनुसार संख्या बढाउने, त्यसपछि प्रतिरोधक क्षमतालाई कमजोर पार्ने र संख्या बढाउँदै आफ्नो साम्राज्य स्थापित गर्ने, त्यसपछि अझ फैलिन ठूलो संख्यामा त्यो शरीरको उपयुक्त भागबाट ठूलो संख्यामा बाहिर निस्कँदै अर्को नयाँ शरीरमा प्रवेश गर्ने । आज कोरोना भाइरसको महामारीमा २० सेकेन्डसम्म हात धोइरहने, आफ्नो अनुहार नछुने, कुहिनो उठाएर छेउतिर हाछ्युँ गर्ने, एक मिटरको दूरी कायम गर्ने वा कसैलाई भेट्दै नभेट्ने जस्ता नियमहरूका पछाडि भाइरसको प्रवेशलाई स्थानै नदिने रणनीति छ ।
हाम्रो शरीरको आधारभूत सुरक्षा प्रणालीमा पहिलो पंक्तिको सुरक्षा शरीरमा घुमिरहने न्युट्रोफिल्स् नामक स्वेत रक्तकोषले आक्रमणकारीहरूलाई निलेर, घातक रसायन छोडेर वा पक्डेर आरोग्यता कायम गर्छन् । मनुष्यको विकासक्रममा अनेक वातावरण र परिस्थितिलाई पार गर्दै बलियो सुरक्षा प्रणालीको विकास भयो, त्यसलाई प्रतिरोधक क्षमता भनिन्छ । यो प्रणालीले धेरै बुद्धिमान, प्रभावकारी र आक्रमणकारी परजीवीको अणुहरूको अध्ययन, सूक्ष्म वर्गीकरण गर्दै फरक–फरक रणनीतिले त्यसलाई निष्क्रिय गर्ने कौशलता हासिल गरेको छ । अति खतरनाक जीवाणुहरूको आक्रमण हाम्रो प्रतिरोधक क्षमता भएको कमजोर भएको क्षणमा खासै खतरनाक नमानिएका परजीवीहरू पनि प्राणघातक हुन सक्छन् ।
भाइरसको आफ्नै जीवन हुँदैन । जीवित कोषमा पुगेपछि मात्र यसले आफ्नो कार्य थाल्छ । ब्याक्टोरियाहरू भने आफ्नै वशांणु प्रक्रियालाई सक्रिय गरेर वा जीवित कोषमा पुगेर वंशवृद्धि गरेर अस्तित्वमा रहन्छन् । शरीरको सतहमा पहिलो सुरक्षा घेरा हुन्छ । मुख, नाक, फोक्सो, आँखा छाला जस्ता अंगहरूको आ–आफ्नै किसिमको सुरक्षा व्यवस्था हुन्छ । खास गरी र्याल, सिगान, श्लेष्मा, आँसु, ओसिलो बनाइराख्ने उपायहरूबाट हामीलाई बचाउने प्रारम्भिक सुरक्षा व्यवस्था कार्यान्वयन हुन्छ । चोटपटक लाग्दा दुख्ने पोल्ने कार्य पनि हाम्रो प्रतिरोधक क्षमताले बाहिरबाट आक्रमणकारी जीवाणुहरू प्रवेश गर्न नदिने रणनीति हो ।
आयुको नयाँ मापन : प्रतिरोध आयु
जीन प्रविधिको विकासले आयुलाई असर गर्ने जीनमा भएको रसायनिक संयोजनको मापन गर्न सकिन्छ । जीनको अवस्थाबाट मापन गरिने प्रतिरोधक आयु र जन्मिएको समयबाट गनिने शारीरिक आयु फरक हुन सक्छन् । मानिसको प्रतिरोधक क्षमताको अध्ययन जटिल छ । यो हाम्रो मस्तिष्क पछिको दोस्रो कठिन अध्ययनको विषय मानिन्छ । करिब ८ हजार जीनहरूले नियन्त्रण गर्ने तथा सयौं प्रकारका कोषिकाहरू तथा सन्देशवाहक अणुहरूले भाग लिने अति जटिल हाम्रो प्रतिरोधक प्रणाली विष्मय र रहस्यले घेरिएको छ । मानिसको जीवन र विभिन्न प्राणघात भाइरस बीचमा रहेको महत्वपूर्ण प्रणाली हाम्रो प्रतिरोधक क्षमता हो । आयु बढ्दै गएपछि यो क्षमतामा पनि ह्रास आउँछ । ६५–७० वर्ष नाघे पनि यो क्षमतामा एक्कासि ह्रास आउँछ । कसैको शारीरिक आयु ६५ को हुनसक्छ तर प्रतिरोधक आयु ३५ वर्षको व्यक्तिको जस्तो हुनसक्छ भने कसैको ७५ वर्षको जस्तो पनि हुनसक्छ । स्वास्थ्यसम्बन्धी नयाँ खोज, पुरातन आरोग्य विज्ञानले पत्ता लगाएका तथ्यहरूको व्यावहारिक उपयोगले यो प्रतिरोधक क्षमतामा आधारित आयुलाई पुन:नियोजन गर्न सकिन्छ ।
खराब जीवनशैली : प्रतिरोधक क्षमता ह्रासको मुख्य कारक
जीवनको अस्वस्थकर आनीबानी र जीवनशैलीले हाम्रो प्रतिरोध आयुलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । आयुसँगै हाम्रो प्रतिरोध जीर्णता पनि बढ्छ । वर्मिंगम विश्वविद्यालयका प्राध्यापक जेनेट लर्डको अध्ययनको नतिजा छ– ‘६० वर्षपछि प्रतिरोध जीर्णताले मानिसको स्वास्थ्यलाई प्रतिकूल असर पार्न थाल्छ र जति आयु बढ्दै जान्छ, त्यति नै प्रतिरोध क्षमता कमजोर हुनथाल्छ र कमजोरी बढ्यो भने त्यो मृत्युको कारण नै बन्छ । ७५ वर्ष कटेका मानिसहरूमध्ये ३०–४० प्रतिशतको साधारण रुघाखोकीले मृत्यु हुन्छ ।’ आयु बढ्दै गएपछि प्रतिरोधक न्युट्रोफिल्स्को लापरवाही बढ्छ र गलत कार्य गर्न थाल्छन् वा प्रतिरोधको रणनीति नै कमजोर हुन थाल्छ । यसले परजीवी, भाइरस या ब्याक्टेरियालाई सबल हुने समय मिल्छ र यसले शरीरमा दुख्ने, पोल्ने हुन थाल्छ ।
वास्तवमा प्रतिरोधको ह्रास युवावस्था मै सुरु हुन्छ । यो ह्रासको गति हाम्रो जीवन शैलीमा भर गर्छ । धूमपान गर्ने र मोटोपन भएका व्यक्तिहरूको प्रतिरोध क्षमता उनीहरूको शारीरिक आयुको तुलनामा कम हुन्छ । यस्तो अवस्थामा शरीरलाई न्यूनतम रूपले चलाउन ठूलो भार पर्छ । यो खराब इन्धन हालेर वा खराब बाटोमा गाडी कुदाए झै हो । औसत गतिमा मात्रै गाडीलाई कुदाउनलाई पनि ठूलो भार परिरहेको हुन्छ । मानिसको प्रतिरोध क्षमतालाई सावधानिकपूर्ण रूपले विचारपूर्वक अपनाइएको स्वस्थ जीवनशैलीले सबल पार्न सकिन्छ । उचित व्यायाम, भोजन, निद्रा, श्वास–प्रश्वास, प्रेमपूर्ण साहचर्य र संगत, प्रकृतिको सांन्निध्य, हल्कापन, मानसिक समरसता नै वास्तवमा स्वस्थ जीवनका आधार स्तम्भहरू हुन् ।
शारीरिक व्यायाम : प्रतिरोधक क्षमतावृद्धिको पहिलो कदम
बाँदर प्रजातिहरू ओरंगओटंग, गोरिल्ला, चिम्पान्जे र बोनोबोहरूका ९७ प्रतिशत जीनहरू हामीसँग मिल्छन् । तर, तिनीहरू अल्छी हुन्छन् । यिनीहरू प्राय: सुतेरै बस्छन् । तर, मनुष्यलाई आधुनिक विज्ञानले घटिमा १० हजार पाइला हिँडेमात्र मुटु स्वस्थ हुने र अन्य रस प्रक्रिया स्वस्थ हुने बताएको छ । मनुष्यमा यस्तो के भयो जसले गर्दा उसले व्यायाम गर्नै पर्छ ? मानव विकासको क्रममा करिब २० लाख वर्षअघि पर्यावरणीय परिवर्तनले मानिसको शारीरिक संरचनामा ठूलो परिवर्तन ल्यायो, जटिल हतियारको प्रयोग सुरु भयो र मनुष्यको मस्तिष्क र शरीरको आकार बढ्यो । मनुष्यको शारीरिक संरचनाको परिवर्तनले मानिसको ढाड सिधा भयो जसले कम ऊर्जा खर्चेर ठूलो दूरी पार गर्न सहयोग गर्यो जसले गर्दा मनुष्यलाई नयाँ जमिन, वातावरण र बसोबासमा फैलिने अवसर प्रदान गर्यो । शिकारका जटिल र विकासित औजारहरूको प्रयोगको कुशलताले गर्दा भोजनको खोजको दायरा पनि बढ्यो, यसले मनुष्यको शारीरिक गतिको अनिवार्यतालाई बढायो, जुन आजसम्म जारी छ ।
हाम्रा नजिकका नातेदार बाँदरभन्दा फरक किसिमको विकास मनुष्यको भयो जसमा दैनिक शारीरिक श्रम, क्रियाकलाप र व्यायाम बाँच्नका लागि अपरिहार्य भए । शारीरिक व्यायाम गरेको शरीरको बहुआयामिक कार्यदक्षता राम्रो हुन्छ । सम्यक योगाभ्यासपछि शरीरमा रगतको रसायनिक परिवर्तन नाप्दा आत्मविश्वास हार्मोन भनिने टेस्टोस्टोरन हार्मोन २५ प्रतिशतले बढेको अध्ययनहरूले देखाएका छन् । हाम्रो प्रतिरोध क्षमताको वृद्धिमा महत्वपूर्ण भूमिका निभाउने टी–कोषिकाहरू निर्माण हुने छातीको भित्रपट्टि बसेको थाइमस ग्लाण्ड शारीरिक व्यायाम गर्ने व्यक्तिहरूमा जवानै अवस्थामा रहने र आयु बढ्दै जाँदा खुम्चिने भए पनि स्वस्थ जीवनशैलीका उपायहरू अपनाउने व्यक्तिहरूमा थाइमस पुनर्जीवित हुने तथ्य पत्ता लागेको छ । मांसपेशी र हड्डीको उचित गतिले झम्झमाउने, पोल्ने जस्ता शारीरिक लक्षणहरूमा धेरै कमी आउँछ ।
आजको मनुष्यको जीवनशैलीमा शारीरिक गति, श्रम र व्यायामको खासै स्थान छैन । प्रकृतिमा सबै स्रोतलाई कब्जा गरेर प्रकृतिबाट टाढा सुविधाले घेरिएर शारीरिक आलस्यता र निष्क्रियता डुबेको मनुष्यले यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । भोजन, काम र भयबाट बच्न मात्र सक्रिय हुने विकासक्रममा पछि छोडेर आएको बाँदर प्रजातिको अल्छी भूतले मनुष्यलाई आज सताइरहेको छ । धेरै ऊर्जा ग्रहण गर्न सक्ने र छोटो समयमा तीव्र रूपले ऊर्जा खर्च गर्न सक्ने मुनष्यको क्षमता अनुपम छ । यसको उपयोग हुनुपर्छ । अस्ट्रेलियाको एक अध्ययनले के देखाएको छ भने गेम अफ थ्रोनको ६३.५ घण्टाको सबै शृंखला एकैपटक हेर्ने हो भने यसले मनुष्यको एक दिनको आयु घटाउँछ । व्यायाम आज चुनाव होइन, अनिवार्यता हो ।
प्रेमपूर्ण जीवन: प्रतिरोध क्षमताको इन्जिन
विकासक्रमको सिंढीमा मनुष्य सबैभन्दा माथि हुनुको कारण प्रेम र भावनात्मक सामनजस्यलाई व्यावहारिक रूपले व्यक्त र ग्रहण गर्न सक्ने ठूलो संभावना भएकाले हो । प्रेम मनुष्यको नैसर्गिक भोजन हो । प्रेमले अवस्थामा मनुष्यका उद्धतभावहरूले उच्च स्थिति प्राप्त गर्छन् । यो अवस्थामा उसभित्र सम्पूर्ण रसायनस्रावको मुहान फुट्छ । बच्चा, बालक, युवा, वस्यक, प्रौढजस्ता जीवनका अनेक अवस्थामा प्रेमका अनेकरूप हुन्छ । यी सबै अवस्थामा सुखबोध र तृप्तिको अनुभूतिले हृदयलाई छोइरहेको हुन्छ । हामीभित्र ऊर्जाको एकीकृत आभाले हामीलाई सुरक्षा दिइरहेको हुन्छ जसको असर हाम्रो आरोग्यमा देखिन्छ ।
हामीलाई रोग लाग्छ, हामी वृद्ध हुन्छौं र एकदिन हामीले मर्नै पर्छ । यो जीवनको धु्रवसत्य हो तर यसबाट सधैं डराएर बस्न सकिँदैन र यसलाई नजरअन्दाज पनि गर्न मिल्दैन । आजको युगमा विश्वव्यापी महामारीका रूपमा रहेको भय, लोभ, कपट र मोहको जीवन आफैंभित्रको रिक्ततालाई भर्ने असफल प्रयास मात्र हो । प्रेमले हामीभित्रको रिक्ततालाई भर्छ । त्यसपछि हामीमा हाँसो, हल्कापन, दयाको भाव स्वत: उत्पन्न हुन्छ । हामी स्वस्थ हुनलाई हामी भित्रको सकारात्मक पक्षहरूको बहुआयामित समायोजन चाहिन्छ जुन प्रेमपूर्ण अवस्थामा मात्र संभव छ ।
ध्यान : परम् स्वस्थको साँचो
सपना देखिरहने बाँदर मनुष्य हो भने जागेको मनुष्य बुद्ध हो । यस्ता विचार, भावना, कामनाहरूप्रति जागेर अस्पृह रहने मनुष्य नै बुद्ध हो । बुद्धलाई कसैले सोधेको रहेछ– ‘के तपाईं देउता हो ? कि यक्ष हो ? गन्धर्व हो कि, को हो ?’ बुद्धको जवाफ छ– ‘म कोही होइन, म जागेको मनुष्य हुँ ।
अब मेरो मन मेरा मालिक होइन, सेवक मात्र हो ।’ ओशो भन्नुहुन्छ, ‘तिमी र मबीच केही ठूलो फरक छैन । तिमी सुतेका छौं, म जागेको छु । म पनि कुनै दिन तिमीजस्तै सुतेको थिएँ । तिमी पनि कुनै बेला जाग्न सक्छौं । समझ र ध्यान जगाऊ ।’ शान्त क्षणमा कुनै स्वप्नमा नहराई विचारहरूलाई तटस्थ हेर्दै जाँदा उद्भव हुने चेतनाको स्थिरताबाट प्राप्त हुने स्वतन्त्रता हो र सबै व्याधि र विक्षिप्तताबाट मुक्तिको अवस्था हो । यो नै परम स्वास्थ्य हो । सबै बुद्धहरूको मनोविज्ञानको सार पनि यही नै हो ।