मानिस यो पृथ्वीमा विकास हुँदै बसेको ९ लाख वर्षभन्दा बढी भयो । यसमा मनुष्यका करिब ५० हजार पुस्ताले पृथ्वीमा बसोबास गरे । आजको हाम्रो पुस्ता वुहानको हिउनान मासु बजारबाट फैलिएको शंका गरिएको कोरोना–१९ ले विश्वमहामारीको रूप लिएको घटनाको साक्षी भएको छ । जनावरबाट मनुष्यमा आएको यो भाइरस जनावरमा आरामले बसेको थियो । तर, त्यसको मासुबाट मनुष्यमा आयो । उड्नेमा रकेट र चार खुट्टेमा खाट मात्र मान्छेले खाएको छैन अन्यथा कुनै प्राणीको भक्षण गर्न मनुष्यले बाँकी राखेन ।
आज यो भाइरसका कारण मनुष्य आफ्ना सबै सार्वजनिक क्रियाकलापबाट रोक्न बाध्य छ । विशेषत: हिँड्डुल गरेर एक आपससँग सामाजिक सम्बन्ध बनाउने आधारभूत मनुष्यको अधिकारमाथि अंकुश लागेको छ । कसैलाई नभेट्नु र सामाजिक दूरी कायम गर्नु नै आफू बच्ने र अरूलाई पनि बचाउने मुख्य उपाय भएको छ ।
अर्थात् राज्यले लकडाउन या सामाजिक दूरी जे भने पनि आज हामीले आफूलाई एक प्रकारले स्वघोषित एकान्तमा उच्च मनोबल र उत्साह कायम राखी रमाउनुपर्ने बाध्यता छ । यदि कोभिड–१९ भाइरस शरीरमा छ भने शरीरमा प्रवेश गरेको १ देखि १४ दिनसम्ममा यसका लक्षणहरू देखिन्छ भन्ने तथ्यबाट मानिसले कमसेकम १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको हो ।
तर, संक्रमण भएको मानिसको संख्या यकिन हुन नसक्नु, मानिसको हिँड्डुललाई नियन्त्रण गर्ने सक्ने अवस्था नहुनु, तीव्र संक्रमण दर हुनु, कोरोनाविरुद्ध खोपको विकास नहुनु, कमजोर प्रतिरोधक क्षमता भएकाहरू यसको बढी शिकार हुनुले समग्र लकडाउन उपयुक्त मानिए पनि कतिसम्म यो लम्बिने हो भन्न गार्हो छ । मनुष्यले हिँड्डुल गरेन भने भाइरसले पनि हिँड्डुल गर्न पाउँदैन र संक्रमण नियन्त्रण हुन्छ भन्ने सिद्धान्तबाट यसलाई कार्यान्वयन गरिएको हो ।
कोरोना भाइरस र यसको खोपको सम्भावना
विश्वभरिका सरकारी, गैरसरकारी, शक्तिशाली व्यापरिक औषधि कम्पनी, साना ठूला प्रयोगशालाहरू गरी जम्मा करिब ८० वटा ठूला संस्थाहरू कोरोना भाइरसको खोपका निर्माणको दौडमा लागिसकेका छन् । तर, वैज्ञानिकहरू यसको खोप आउन एकदेखि डेढ वर्षभन्दा बढीलाग्ने बताउँछन् । कोभिड–१९ त्यस्तो जटिल कोराना भाइरस हो जो सर्दै जाने क्रममा यसको संक्रमण गर्ने तरिका पनि जटिल हुँदै जान्छ ।
निकट भविष्यमा नयाँ–नयाँ रूपमा यो संक्रमण देखिने हुनसक्छ । कोरोना भाइरस फैलिएको मुख्य कारण के हो भने यसले आफूलाई संक्रमिक व्यक्तिको शरीरभित्र फैलाउँदै गर्दा संक्रमित व्यक्तिको प्रतिरोधक क्षमतालाई यो कुरा थाहै हुँदैन । कोषिकाको चेतावनी दिने प्रणालीलाई पनि भाइरसले कब्जा गरिसकेको हुन्छ । खोकी र ज्वरो त प्रतिरोधक क्षमताले लड्न थालेपछि आउने लक्षण हो । प्रतिरोधक क्षमता बलियो भएकाहरूको भित्र पनि यो थाहै नदिई बसेको पनि हुनसक्छ ।
यो भाइरसको केन्द्रको भागमा जीन बोकेको बाहिरी घेरामा प्रोटिनको विन्दुहरू हुन्छन् र त्यसमध्ये केहीबाट सुइरो जस्ता काडा निस्किएका हुन्छन्, त्यो काडा नै संक्रमित व्यक्तिको कोषमा प्रोटिनले बनेको बाहिरी आवरणलाई चिरी छिर्ने हतियारको रूपमा प्रयोग हुन्छ । वास्तवमा कोरोना भाइरसको संक्रमणमा चतुरो भूमिका निभाउने यही प्रोटिनले बनेको सुइराहरूको परमाणविक संरचना बुझ्ने, त्यसले मनुष्यको कोषिकाको प्रोटिनसँग बाधिने प्रकृयालाई बुझेर कोषिकाको प्रोटिन आवरणबाट भित्रछिर्न रोक्ने खोप बनाउनु नै आजको चुनौती हो । कोभिड–१९ संक्रमणबाट निको भएका व्यक्तिहरूभित्र निर्माण भएको रोग प्रतिरोधक जीवाणुहरूको अध्ययनको आधारमा औषधि बनाउने प्रयास पनि जारी छ । तर, यसका लागि केही समय भने अवश्य नै लाग्नेछ ।
प्रतिरोधक क्षमता: चुनौती र संभावना
पृथ्वीमा मनुष्यको विकास चुनौती नै चुनौतीले भरिएको थियो र छ पनि । मानव विकासको खुड्किलो उक्लिन मनुष्यलाई कहिल्यै सजिलो भएन । मनुष्य धेरै पहिले नै आजभन्दा साढे ६ करोड वर्षअघि डाइनोसरहरू खतम भए झैं पृथ्वीबाट विलिन हुनुपर्ने थियो । वास्तवमा हामी पृथ्वीमा टिक्न सकेको कारण तत्कालको वातावरणमा बच्ने उपायको बुझाईलाई आत्मासात गर्दै जादा हाम्रो प्रतिरोधक क्षमताको पनि हामीभित्र विकास हुँदै गयो । वास्तवमा मानव विकास एक गतिशिल प्रकृया हो । एक उदाहरण लिऊँ– एक मादा पुतली गर्भवती भएको कालखण्डमा जमिनबाट कुनै सरीसृपले आक्रमण गर्दा बच्न सकी भने, उसको गर्भमा रहको भ्रुणको जीनमा त्यो भविष्यमा हुन सक्ने आक्रमणबाट बच्ने तरिकाबाट प्राकृतिक प्रज्ञाले भ्रुणमा नयाँ विकासको सुरुआत गर्छ र त्यो नयाँ जन्मिने पुतलीमा जमिनबाट अलि उचाइमा उडान लिएर हिंसक आक्रमणबाट बच्न अलिक लामा पखेटा पैदा हुन्छन् ।
त्यो बाहिर भएको घटनाले गर्भमा भएको भ्रुणमा अन्तर्निहित जीनमा तुरन्त परिवर्तन गर्ने प्राकृतिक क्षमता त्यो पुतलीमा रहेको हुन्छ । योसँगै पुतलीको गर्भमा रहेको भु्रणमा आक्रमणकारीको गन्ध अझ परैबाट थाहा पाउने सुँघ्ने नयाँअझ सुक्ष्म प्रणालीको विकास हुन्छ । वातावरणलाई आत्मसात गरीमानव विकासमा सोहीअनुसार भइरहेको परिवर्तनले गर्दा हामी यति लामो समयसम्म पृथ्वीमा छौं । यो प्राकृतिक ज्ञान वास्तवमा हाम्रो शरीरको अन्तप्र्रज्ञा नै हो । शरीरमा यो अन्तप्र्रज्ञाले प्रतिरोधक क्षमतालाई कायम राख्न मद्दत गर्छ । यो अन्तप्र्रज्ञाको गहिरो सम्बन्ध प्रकृतिसँग छ । मानिसको प्रतिरोधक क्षमताले विभिन्न प्रतिकूल अवस्थालाई पार गरेर आउने सकेको मुख्य कारण उसले खतरानाक वातावरणको अनुभवमा हुने अनुवांशिक परिवर्तन (जेनेटिक म्युटेसन) कै कारणले हो ।
कुनै रोगलाई हामीले खोप, औषधिले पार लगाए पनि त्यस्तो सर्वव्यापी एक खोप या औषधि कहिल्यै बन्न सक्दैन जसले हामीलाई सधैंका लागि सबै रोग, संक्रमणबाट मुक्ति दिलाओस् । मानिसले अनुभव गर्ने उच्च रक्तचाप, न्युन रक्तचाप, उच्च तनाव, न्यून तनाव, उच्च कोलेस्ट्रोल, न्यून कोलेस्ट्रोलको गतिशील अवस्थामा उसको शरीरले आफ्ना आत्यान्तिक प्रतिरोधक क्षमतालाई अद्यावधिक गर्ने अवसर पाउँछ । यो तथ्य वास्तवमा अत्यन्तै महत्वपूर्ण छ ।
शरीरको यो गतिशिलताले हामीलाई अझ प्रतिकूल अवस्थामा बाच्न सक्ने समर्थ प्राणी बनाउँछ । जैविक प्रज्ञा पनि अनौठो छ – क्यानाडामा एक प्रजातिको भ्यागुता पाइन्छ, जुन जाडो जमेर मर्छ, त्यसमा कुनै जीवनका लक्षणहरू देखापर्दैनन् तर फेरि गर्मी लागेपछि विस्तारै उसमा जीवन फर्केर आउँछ । यो जीवन प्रज्ञालाई जगाउने, कायम राख्ने र प्रकृतिको गतिशिलतामा भाग लिने प्राणीहरू बाच्न सबल हुन्छन् । हामीले यो विचार पुर्याइ रहनुपर्छ कि खतरा आइपर्दा हामी भित्र कै नैसर्गिक अन्तप्र्रज्ञाको पृष्ठभूमिमा हामीलाई बचाउने प्रतिरोधक शक्तिको अधिकाधिक उपयोग हुन सकोस् र हामी त्यसबाट बच्न, बचाउन सक्षम हुन सकौं ।
प्रकृतिबाट हटेर कृत्रिम जीवन शैलीमा जीवनलाई ढाल्ने प्रवृत्तिले हामीलाई कमजोर बनाउँछ । मानिस यो जीवन जगत र प्रकृतिको अंश हो । पुरातन यो पृथ्वीको आफ्नै जीवन चक्र छ । त्यो चक्रमा मनुष्य एक घटक मात्र हो । सबै बुझेँ, जानेँ भन्दै मनुष्यले जथाभावी रूपले प्रकृतिलाई छेडखानी र दोहनले मनुष्यलाई नै कमजोर बनाउँछ । चेतनाको विकासको खुड्किलोमा ऊ माथि भए पनि यो प्रकृतिको सन्तुलन बिगार्ने कारक तत्वको रूपमा मनुष्य नै अघि देखिन्छ ।
विकासको अचेतन र सचेतन प्रक्रिया
प्रकृतिमा मनुष्यको विकास एक गहन अचेतन विषय हो तर यो विकासलाई सचेतन रूपले तीव्र गतिमा अघि बढाउने अर्को गहन प्रयोग बुद्धहरूको छ । साधना, अहोभाव, सहअस्तित्वप्रति पूर्ण श्रद्धा जस्ता मानवीय गुणहरूको अर्हिनिश सचेतन प्रयोगले उनीहरूको चेतनाले जागतिक छलांग मार्छ । ९ लाख वर्षमा यस्ता व्यक्तिहरू ९ सय पनि भए कि भएनन् खोजको विषय हो । तर, हामी सबैमा त्यसको सुषुप्त संभावना छँदैछ ।
भनिन्छ, मुठी बाँधिएको मनुष्यको दिमागले काम गर्दैन । आजको हाम्रो अवस्था स्वत: तनाव पैदा गर्ने भएको छ । हामी सानो क्षेत्रफलमा बाँधिएका छौं । दिक्क र पट्यार लाग्दो जीवन भएको छ । त्यसैले यस्तो अवस्थामा हामीले नयाँजीवन उपयोगी कुराहरू सिक्न र अवलम्बन गर्न जरुरी छ ।कुनैपनि तनाव दीर्घकालीक हुन थाल्यो भने यस्तो अवस्थामा हाम्रो मस्तिष्क नै भय पैदा मेसिन बन्छ जसले हजार समस्या निम्त्याउँछ ।
समाधान स्वयम्बाट सुरु गरौं
‘आर्ट अफवार’ पुस्तकका लेखक चिनियाँ सैन्य रणनीतिकार र दार्शनिक सनत्सुले भनेका छन्, ‘यदि तिमीलाई शत्रु र आफ्नो बारेमा ज्ञान छ भने सयौं युद्ध भए पनि त्यसबाट डराउने पर्ने कुनै कारण छैन ।’ आजको समस्याको केन्द्रमा प्रत्येक व्यक्ति छ । व्यक्ति उसको आफंैभित्रको मानसिक, भावनात्मक, शारीरिक अवस्थाको गठजोड हो । यी पक्षहरू सबल वा असबल भए भने त्यसले उसको सामाजिक, आर्थिक, पेसागत पक्षलाई त्यही रूपले असर गरिरहेको हुन्छ । जीवनमा विषम परिस्थितिहरू झेलेरआफ्नो उद्देश्य छुन सफल हेलेन किलरले भनेकी छन्, ‘यो जगतमा जति समस्या छन्, त्यत्तिकै समाधान पनि छन् ।’ तर, साधारण मनुष्यको मनले समाधान कम, समस्या धेरै देख्छ । यो अस्थिर मनको लक्षण हो । त्यसैले सर्वप्रथम हामी हाम्रो जरोमा फर्किनुपर्ने हुन्छ ।
शारीरिक हल्कापनमा आफ्नो शरीरको गुण र धर्म हेरेर भोजन, शारीरिक श्रम, निद्राको सम्यक जीवनशैली पर्छ । मानसिक शान्तिको प्रारम्भिक चरणमा सकारात्मक विचारहरू चाहिन्छन् जसले हाम्रो भावनालाई एक ऊर्जा क्षेत्रमा बाँधेर राख्न सकोस् । यो आत्यन्तिक ऊर्जाक्षेत्र नै उसको बलको स्रोत हो । बाहिरी जगतको क्रियाकलापका लागि साधनस्रोतको उचित परख, त्यहीअनुसारको योजना, सहयोगी भावना बनाइराख्न जरुरी हुन्छ भने अन्तकरणको शुद्धीका लागि मन, बुद्धि र चित्तलाई स्थिर बनाउने अभ्यास जरुरी हुन्छ ।
जीवनमा कहिले समस्या हुँदैन र ? समस्या नभएको क्षण कहिले हुन्छ र ? आखिर जीवनको अन्तिम सत्य मृत्यु हो, त्यो महासमस्या हो ? आखिर यसैको भयबाट मानिस तात्विक रूपले समस्याग्रस्त छ ।
भावनात्मक सन्तुलन, शारीरिक हल्कापन ल्याउने दिशामा मनुष्यले अभ्यास गरेन भने उसको जीवनले आफ्नो मूल्य, आवश्यकताहरूको प्राथमिकताको सही आंकलन गर्न सक्दैन । चेतनाको स्थिर अवस्थाको पृष्ठभूमिमा हामीले आफ्नो सीमा र संभावनालाई खोज्नु आजको आवश्यकता हो ।