अनन्त: कल्पअघिको कुरा हो । असीम जगतको सिर्जना गरेपछि परमात्मालाई नैसर्गिक सामथ्र्य र संभावनाले भरिदिएर मनुष्य बनाउने अभिलाषा भएछ । आकाशमुनि ढुंगा, माटो, पानी, आगोको स्थुल र सूक्ष्म संयोजन गरेर शरीर बनाइसकेपछि मनुष्यको मुखबाट हावा फुकिदिएछन् । जगत्लाई राम्ररी बुझोस्, सुखी होस्, मिलेर बसोस् भनेर मन र बुद्धिको तरंग थपिदिएछन् । परमात्माबाट पराशक्तिको झिल्को प्राप्त गरेपछि पहिलो लामो श्वास तानेर प्रथम मनुष्यले हलचल गरेछ । यो पहिलो परीक्षणमै मनुष्यले परमात्मालाई नै चेतावनी दिँदै भनेछ– ‘मलाई पूर्णस्वतन्त्र बाँच्न दिनुपर्छ । बरु यो जीवन चाहिँदैन, तर तपार्इंबाट कुनै दखल अन्दाज मान्य छैन । हस्तक्षेप स्वीकार्य छैन ।’ परमात्माले हाँसेर तथास्तु भनेछन् ।
मानिस बन्न थालेको केही समयपछि नै मर्न थालेछन् । बन्दै जाने र मर्दै ताँतीका ताँती फर्किने हुन थालेछ । मनुष्य–श्रृष्टिको मूल उद्देश्यमा नै प्रश्न चिह्न खडा भएपछि परमात्माले मनुष्यलाई सोधेछन्, ‘के भयो र मर्दै फर्किंदै गरेको ?’ निराश मनोभावमा मनुष्यका जवाफहरू आएछन्– ‘यसो रिस उठेको थियो, सासै फेर्न बिर्सिएछु’, ‘धन गन्नमा यति व्यस्त भएछु कि सासै फेर्न बिर्सिएछु’, ‘ठूलो भारी उठाउने ध्याउन्नमा सासै फेर्न बिर्सिएछु ।’ परमात्माले भनेछन्, ‘मैले त तिम्रै मागअनुसार स्वतन्त्रता दिएको थिएँ, तर यति सानो कुरा पनि समाल्न सकेनछौं । अब उप्रान्त तिमीहरूबाट श्वासचाहिँ लिनेछु, अरू क्रियाकलाप आफैं गर्नू ।’ त्यसदिनदेखि मृत्युबाहेक जस्तोसुकै अवस्थामा पनि उसको श्वास चलिरहेको छ ।
मृण्मय शरीरमा चिन्यमको वास
हामी जन्मदेखि मृत्युसम्म निरन्तर श्वास फेरिरहन्छौं । शिशुदेखि जवान हुँदै बुढो हुँदाका जुनसुकै परिस्थितिमा पनि श्वास–प्रश्वासको प्रक्रिया सतत्: चलिरहन्छ । जीवनको पर्याय, म र शरीरबीचको सेतु नै श्वास हो । यही प्राणले हामीलाई अविच्छिन्न जगतसँग जोडिरहेको हुन्छ । शरीरबाट प्राण हट्ने बित्तिकै शरीर मृत हुन्छ । प्राणकै कारण मन चल्छ, भावनाहरू चल्छन् । इच्छाहरू जाग्छन्, इन्द्रियहरू दौडिन थाल्छन् । जीवनमा गतिविधिको प्रादुर्भाव हुन्छ । शरीर सुतेको भए पनि प्राण सञ्चारको कारणले चेतना अनेक आयाम र तरंगमा दौडिरहेको हुन्छ । शास्त्रमा वाणीलाई पृथ्वीलोक, मनलाई अन्तरिक्षलोक र प्राणलाई स्वर्गलोक भनिएको छ ।
वाणीले समूह बन्छ, मनले समूह र समाजलाई गति दिन्छ भने स्वयंलाई प्रकाशित गर्ने प्राण सुख र आनन्दको स्रोत बन्छ । प्राण र शरीरको सहचार्य सत्संगको सबैभन्दा राम्रो उदाहरण हो । वास्तवमा शरीर मृत नै छ । प्राणको सत्संगमा नै जीवनशक्तिको सञ्चार हुन्छ र जीवन्त हुन्छ । प्रियजनकै शरीरबाट प्राणले साथ छोड्ने बित्तिकै उसँग डराउन थाल्छौं, शरीरलाई हतारहतार जलाउन लैजान्छौंं ।
शरीरको चमक र सौर्यको रहस्य यही प्राण नै हो । यही प्राणको कारणले मृण्मय शरीरमा चिन्यमको वास छ । शरीरको जुन भागमा प्राणको कमी हुन्छ त्यो विस्तारै शरीरको समग्र अस्तित्वबाट अलगथगल हुन थाल्छ । कोषहरूको अतिसय वृद्धि हुने या कोषहरू मर्ने, चाउरिने र कुहिने हुन थाल्छन् । जीवनशक्ति क्षीण भएको अधोगत् अवस्थाले समग्र आरोग्यतामा ह्रास ल्याउँछ ।
प्रकृतिको विस्मयजाल फोक्सो
१० सेन्टिमिटर लामो श्वासनली दुई भागमा विभक्त भई अन्तमा दुई ठूलो श्वासथैलीको निर्माण हुन्छ । यो थैलीभित्र तलतिर फर्किएको रूखको हाँगाजस्तो फैलिँदै ठूला ब्रोन्की र ब्रोन्किओलेस बन्छन्, जुन वायुलाई आउनजान दिने मार्गको रूपमा स्थापित हुन्छन् । तर, वास्तविक कार्य भने योभन्दा अझ अघि अंगुरको झुप्पा जस्तो स्वरूपमा रहेका सूक्ष्म वायुथैली एभिओलीले गर्छन् । वास्तवमा यी एभिओलीहरू रक्तसुत्रको जालोले घेरिएका हुन्छन् । यही छिद्रहरूमा हाम्रो हृदयबाट आएका रातो रक्तकोषिकाहरूले एक महत्वपूर्ण कार्य विस्मय रूपमा सम्पन्न गर्छन्– रक्त कोषिकामा भएको कार्बनडाइअक्साइड दिने र अक्सिजन लिने । यो स्थान ग्यास आदान–प्रदान गर्ने स्टेसन हो ।
साधारण हल्का श्वास लिँदा फोक्सोमा रहेका लगभग दसौं करोड एभिओलीहरूमध्ये एकतिहाइमा मात्र प्राणवायु पुग्छ । तर, शेष छिद्रहरूमा नपुगेको कारण निश्क्रिय रहन बाध्य हुन्छन् । जीवन शक्तिको स्तर यही श्वास–प्रश्वासमा आदान–प्रदान हुने अक्सिजन र कार्बनडाइअक्साइडको मात्रा, गहिराई, गति, लयबद्धता र एकाग्रतामा निर्भर हुन्छ । वास्तवमा शरीरका खर्बांै कोषिकाहरूले कोषिय श्वास–प्रश्वासद्वारा नै खाएको खानाबाट शक्ति प्राप्त गर्ने जटिल रसायनिक उद्यम सफलतापूर्वक सम्पन्न गर्छन् । यी कोषिकाहरूको समन्वयबाट शरीरमा बहुआयामिक तर एैकिक ऊर्जा प्रणालीको निर्माण हुन्छ ।
सतही श्वास–प्रश्वासमा शरीरमा उत्पन्न हुने कार्बनडाइअक्साइड पूरै रेचन हुने सक्ने वातावरण बन्न पाउँदैन, जसले गर्दा रगतमा अम्लको मात्र बढ्न थाल्छ । शरीरमा प्राण सञ्चारको स्तर न्यून हुन थाल्छ जसले गर्दा ताप र अग्नि मन्द हुन्छ । योगशास्त्रले प्राणलाई नै अग्नि भनेको छ भने आयुर्वेदले सबै रोगको कारण मन्दाग्निलाई मानेको छ ।
श्वास–प्रश्वास प्रक्रिया स्वाचालित हुन्छ । हाम्रो ढाड एक डल्लो बनावट भएको मस्तिष्कको भागमा गएर मिलेको हुन्छ । मेडुला ओब्लाङगाटा भनिने यो स्थानले हाम्रो श्वास–प्रश्वास प्रक्रियालाई नियन्त्रण गर्छ । यो अति संवेदनशील रसायनिक डिटेक्टर हो । जब रगतमा अम्लको मात्र बढ्न थाल्छ, श्वास–प्रश्वास नियन्त्रण केन्द्रले कार्यगतिलाई तीव्र बनाउँछ । वास्तवमा शारीरिक श्रम र व्यायामले यो प्रक्रियालाई तीव्र बनाउने हुनाले शरीर र मनलाई अझ जीवन्त बनाउँछ । सुखपूर्वक आरामले ओछ्यानमा पल्टिदा हामीलाई प्रतिमिनेट ९ लिटर वायु चाहिन्छ । बस्दा १८ लिटर, हिँड्दा २७ लिटर र कुद्दा ५६ लिटर वायु शरीरलाई आवश्यक हुन्छ ।
आजकाल मानिसहरू दिनभरि एकै ठाउँमा बसेर काम गर्छन् । हिँड्डुल गर्ने बानी हट्दै गएको छ । मेरुदण्ड कुप्रिएर, छाती खुम्चिएर फोक्सो पनि संकुचित हुने अवस्था आउँछ । कमजोर श्वास–प्रश्वासले शरीरका सबै कोषहरूको अक्सिजनको माग पूरा गर्न सक्दैन । यसले मानिसमा उत्साहको कमी, जाँगर नहुने र सधैं थाकेको जस्तो भइरहने हुन्छ । एक मिनेटमा १६ पटक श्वास लिइन्छ । एक श्वासमा आधा लिटर वायु मात्र शरीरमा प्रवेश गर्छ । तर, त्योभन्दा ८ गुणा क्षमता भएको फोक्सोले पूर्णरूपले कार्य गर्न नपाउने अवस्था भइरहँदा संकुचित अवस्थामै रही रहने बानीमा अभ्यस्त हुन थाल्छ । यसले एक दुष्चक्र निम्त्याउँछ । यस्तो अवस्था आउँछ कि फोक्सोलाई पुरानै अवस्थामा फर्काउन अति नै कठिन हुन्छ ।
तपोवनमा हरेक बिहान ओशोको सक्रिय ध्यान गरिन्छ । प्रथम चरणमा अराजक रूपले तीव्र श्वास फाल्न जोड गर्दै शरीरलाई शक्तीकरण गर्ने अभ्यास हुन्छ । धेरैको फोक्सो कमजोर र नखोलिएको छाती हुने हुनाले छाती खोलेर श्वास फाल्न सिक्न पनि केही दिन लाग्छ । सतही श्वास–प्रश्वासमा बानी परेको फोक्सोभित्र एकचोटिमा आधा लिटर वायुले प्रवेश पाए पनि कमजोर गतिको कारणले एकतिहाइ वायु लक्ष्यहीन भएरबीच मै रुमिलन्छ । कृत्रिम जीवनशैली र व्यवहारका कारणले प्रकृति प्रदत्त जीवनशक्ति क्षय हुन पुग्छ । मानिसको शारीरिक, मानसिक र भावनात्मक स्थितिमा पनि ह्रास आउँछ । आज कमजोर श्वास–प्रश्वासको कारणले अत्याधिक व्यक्तिहरू उद्वेग, विषाद, क्रोध, चिन्ता, निराशा, हताशा, उदासी, ग्लानी तथा अनेकौं मनोविकार र मनोरोगहरूले पीडित छन् । यसको गहिरो कारण श्वास–प्रश्वास प्रणालीको कार्य क्षमतामा आएको ह्रास हो । सन् २००२ को अन्त तिर चीनबाट सुरु भएको सार्स कोरोना भाइरस, २०१२ मा सुरु अरब महाद्वीपबाट सुरु भएको मेर्स र अहिलेको कोभिड–१९ सबैले श्वास–प्रश्वास प्रणाली र फोक्सोलाई असर गरेको देखिन्छ । यसले कतै सामूहिकरूप मै हाम्रो श्वास–प्रश्वास प्रणाली नै कमजोर भएको त होइन भन्ने प्रश्न उठाइदिएको छ ।
खराब वायु– प्राणशक्तिलाई खतरनाक चुनौती
श्वास–प्रश्वासकै माध्यमबाट प्रत्येक दिन हाम्रो शरीरमा असंख्यौं हानिकारक कणहरू, ब्याक्टेरिया र भाइरसको प्रवेश हुन्छ । नाक, घाँटी र फोक्सोभित्र हानिकारक जीवाणुहरू नष्ट गर्ने अनेक जटिल प्रतिरोध प्रणाली हुन्छन् । तर, विषाक्त वायु भने फोक्सोका लागि ठूलो चुनौती हो । वायु शुद्ध गर्ने सबैभन्दा कठिन कार्य श्वास प्रणालीमा भएका सिलियाहरूले गर्छन् । अतिसूक्ष्म दसौं लाख रौं जस्ता बनाबट भएका सिलियाहरू एक सेकेन्डमा १२ चोटी लयबद्ध भएर लहराउँछन् र यिनीहरूले फोहोर कण र कफलाई बाहिर निकाल्न मद्दत पुर्याउँछन् । धेरै विशाक्त वायु वा धूमपानले सिलिया पुरिने हुन थाल्छ । जसले गर्दा यिनीहरूको लयबद्ध लहराउने क्षमता खतम हुन थाल्छ । अक्सिजन लिने र कार्बनडाई अक्साइड फाल्ने कार्य कमजोर हुन्छ । यदि फोक्सोको भित्री भागहरूमा फोहोर र अशुद्धी दीर्घकालीन रूपमा जम्मा हुन थाल्यो भने खतरनाक संक्रमण, क्यान्सर जस्ता घातक रोग लाग्छन् ।
भनिन्छ, यदि तपाईंलाई फोक्सो छ भन्ने थाहा हुन थाल्यो भने समस्या सुरु भयो । त्यसैले फोक्सोलाई अपेक्षाकृत स्वच्छ हावा प्रदान गर्नुस् । प्रकृतिमा निस्किनुस् । श्वास–प्रश्वासलाई सक्रियता दिने अभ्यासहरूलाई जीवनशैलीमा महत्व दिनुस् ।
लयबद्ध तथा गहिरो श्वास–प्रश्वासमा गरिने यौगिक प्राणायामको विधिवत् तथा निरन्तर अभ्यासको बहुआयामिक महत्व छ । हाम्रो रगतमा अम्लिय र क्षारिय सन्तुलन आवश्यक छ । रगतको पीएच मानक हल्का क्षारिय हुनुपर्छ । भोजन, पिउने पानीको गुणवत्ताको आधारमा मृगौलाले यो सन्तुलन मिलाइरहेको हुन्छ । गहिरो श्वास–प्रश्वासले पनि यो सन्तुलनमा ठूलो भूमिका खेल्छन् ।
श्वास–प्रश्वास अभ्यास जरुरी
श्वास–प्रश्वासको गहन, लयबद्ध अभ्यासले हाम्रो मस्तिष्कमा रसायनिक सक्रियता सुरु हुन्छ । यसबाट विभिन्न मस्तिष्क–तरंगहरू पैदा हुन्छन् जसले निरीक्षण शक्ति, धारणा, केन्द्रीकृत हुने शक्तिको प्रादुर्भाव हुन्छ । नयाँ खोजहरूले के देखाएका छन् भने शान्त, लयबद्ध, श्वास–प्रश्वासको सम्यक स्मृति ध्यान (माइण्डफुल मेडिटेसन) मा मस्तिष्कको शान्तिदायक पारासिम्फेथेटिक प्रणाली सक्रिय भई खुसी र सन्तुलित राख्ने इन्डोक्यानाबिनोइड रिसेप्टरहरू सक्रिय हुन्छन् । गाँजामा पाइने दुइटा रिसेपटरहरू टीएचसी र सीबीडीले पनि यही तत्वहरूलाई सक्रिय गर्छ । हाम्रो मस्तिष्क स्वयं आफंैले यस्तै प्रकारका न्युरोट्रान्समिटरहरू सक्रिय गर्छ जब हामी आनन्दको उच्च अवस्थामा हुन्छौं । यो ध्यान र प्राणायामको सन्तुलित प्रयोगले पनि यो आनन्दानुभूति संभव छ । यसबाट स्वाध्यायमा स्थिर भई लाग्ने चिरस्थायी उत्प्रेरणा मिल्छ ।
श्वास–प्रश्वासको अभ्यास गर्ने अनेक विधिहरू छन् । बुद्धको सम्यक स्मृति ध्यान, विज्ञान भैरव तन्त्रका १ सय १२ ध्यान विधि मध्येका श्वास–प्रश्वासमा अवधान गर्ने आरम्भका ९ वटा धारणा विधिहरू, ओशोका अनेकौं विधिमध्ये सक्रिय ध्यान जसमा अराजक श्वास–प्रश्वासपछि मनका विक्षेपहरूलाई निर्जरा गरी साक्षीमा बस्न सिकाइने ध्यान, पतञ्जलीको श्वास–प्रश्वासको पूरक, कुम्भक, रेचकमा आधरित अभ्यास गरिने अनेकौं विधिहरू छन् । आधुनिक मनोचिकित्साले पनि अनेकौं श्वास–प्रश्वासका विधिहरूको उपयोग गरेको पाइन्छ । तर, यी सबै अभ्यासहरू विधिवत् रूपले उपयुक्त प्रशिक्षकबाट सिकेर गर्नु नै सुरक्षित हुन्छ ।