कार्तिक ७, २०७५
विराटनगर महानगरपालिका–६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल एवं शक्ति प्रदर्शन गरेका थिए ।
तराई–मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप यो कुस्ती प्रतियोगिता आयोजित गरिएको हो । तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्यामा पहलमान थिए तर पछिल्लो समय कुस्ती प्रतियोगिताको आयोजना शून्य प्राय: हुँदै गएको छ भने खेलाडीहरू समेत पलायन भैसकेका छन् ।
प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस तथा बिहारका ४० जनासहित नेपालको सर्लाही, सप्तरी तथा नवलपरासीका ५ जना पहलमानले प्रतिस्पर्धा गरेका थिए ।