
साहसिक पर्यटन एवं मनोरञ्जक हवाई उडान (प्याराग्लाइडिङ) मा आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने आशाले प्याराग्लाइडिङमा व्यवसायिक आकर्षण बढेको हो । करिब डेढ दशकअघि पोखराको सराङकोटबाट प्रारम्भ भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न जिल्ला हुँदै सुनसरीको धरानसम्म पुगेको छ । प्याराग्लाइडिङ व्यवसायी तथा धरान स्काई एडभेन्चरका अध्यक्ष रोसन अधिकारीसँग साप्ताहिकको कुराकानी :
प्याराग्लाइडिङ व्यवसाय नै किन ?
मैले पोखरामा प्याराग्लाइडिङले पाएको सफलता देखें, व्यवसाय पनि राम्रो थियो । त्यसपछि धरानमा पनि यो व्यवसाय गर्न सकिन्छ भनेर हात हालेको हुँ । प्याराग्लाइडिङका कारण पर्यटक भित्रिने र सँगसँगै व्यवसाय पनि हुने भएकाले यो क्षेत्रका सक्रिय भएको हुँ ।
तपाईं राजनीति गर्ने मान्छे एकाएक यो व्यवसायमा कसरी लाग्नुभयो ?
मलाई के लाग्छ भने राजनीति भनेको समाजसेवा हो । राजनीति जीवनको एउटा लक्ष्य हो, तर व्यवसाय आर्थिक पक्ष हो ।
एक वर्षको अवधिमा कति उडान गराइसक्नुभयो ?
३ सयजति आन्तरिक पर्यटकलाई उडाइएको छ ।
यो व्यवसायमा बिमाको व्यवस्था छ ?
प्याराग्लाइडिङ गर्ने सबैको अनिवार्य बिमा गराउनुपर्छ । यसरी बिमा गर्दा पाइलट, यात्रु तथा प्याराग्लाइडिङसमेतको बिमा गरिन्छ ।
प्याराग्लाइडिङ शुल्क अलि बढी भयो भन्ने गुनासो छ नि ?
पोखरासँग धरानको प्याराग्लाइडिङलाई दाँज्न मिल्दैन, पोखरामा धेरै व्यवसायी छन् र त्यहाँ विदेशी पर्यटक पनि बढी नै छन् । सीधै भन्नुपर्दा त्यहाँ डलरमा भुक्तानी हुन्छ तर यहाँ हामीले आन्तरिक पर्यटकहरूलाई मात्र फोकस गरेर व्यवसाय सञ्चालन गरेका छौं । त्यसैले शुल्क अलि बढी भएको हो ।
यो व्यवसायले मुनाफा दिएको छ ?
जुन टार्गेट गरिएको थियो त्यो पूरा भएको छ । यो व्यवसाय आफैंमा सन्तुष्टि प्राप्त हुने व्यवसाय हो । कर्मचारीलगायत मेरो परिवार पनि यही व्यवसायबाट पालिएको छ ।
७४ वर्षीया पिङ्गलादेवी राजभण्डारीको प्याराग्लाइडिङ अनुभव
धरानकी ७४ वर्षीया पिङ्गलादेवी राजभण्डारीले प्याराग्लाइडिङ गरेर नयाँ कीर्तिमान कायम गरेको दावी गरिएको छ । राम्रोसँग आँखा नदेख्ने, कान कम सुन्ने राजभण्डारी सबैभन्दा बढी उमेरमा प्याराग्लाइडिङ गर्ने सम्भवत: पहिलो नेपाली महिला हुन् । यसभन्दा अघि पोखराका ८३ वर्षीय वृद्धले प्याराग्लाइडिङको अनुभव बटुलेर पुरुष तर्फको कीर्तिमान राखेका थिए । प्याराग्लाइडिङ उडानपछि प्रतिक्रिया दिंदै राजभण्डारीले भनेकी छिन्– प्याराग्लाइडिङ चढ्ने योजना पहिलेदेखि नै थियो तर समय नमिलेका कारण त्यसको अनुभव सँगाल्न सकिएको थिएन, अहिले अवसर जुर्यो ।
गत वर्षको असोज महिनादेखि स्काई एड्भेन्चरले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङले सुनसरीको धरानस्थित छोटी मोरङबाट दैनिक उडान भर्ने गरेको छ । पर्यटन व्यवसायी एवम धरान स्काई एडभेन्चरका अध्यक्ष रोसन अधिकारीका अनुसार उक्त स्थानबाट दैनिक २० देखि ३० जनासम्मले प्याराग्लाइडिङको अनुभव बटुल्ने गरेका छन् ।