पूर्वी पहाडी जिल्ला धनकुटाको चुलीवनमा प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान भरेका थिए । एक्स्ट्रिम धरानका सचिव तथा बूढासुब्बा प्याराग्लाइडिङका सञ्चालक राईले उक्त उडानमा स्थानीय बासिन्दा नवीन केसीलाई उडाएका थिए । पर्यटकीय स्थल चुलीवनबाट भएको उडान वडा नम्बर–८ स्थित तमोर किनारको याक्चना घाटमा पुगेर अवतरण गरेको थियो ।
नगरपालिकाका आर्थिक शाखा प्रमुख विकास अधिकारीले व्यवसायिक उडानका लागि निजी कम्पनीहरूलाई आह्वान गरिने बताएका छन् । अब यो ठाउँमा पूर्वाधार विकास गर्ने र व्यवसायिक उडानका लागि निजी क्षेत्रलाई बोलाउने योजना भएको उनको भनाइ थियो ।
धनकुटा नगरपालिकाले चुलीवनबाट प्याग्लाइडिङ उडान गरेर याक्चना घाटमा पर्यटकलाई अवतरण गराउने र त्यहाँबाट र्याफ्टिङमार्फत पुनः मूलघाटसम्म पुर्याउने योजना बनाएको छ । उक्त प्याराग्लाइडिङ र र्याफ्टिङका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नगरपालिकाको योजना छ ।