होन्डाको सीबीआर
६५० एफ र नेभी
होन्डाले नयाँ बाइक सीबीआर ६५० एफलाई नेपाली बजारमा उतारेको छ । ६५० सिसीको यो प्रिमियम स्पोर्ट्स टुर बाइक हो । यसलाई रातो, सेतो र निलो गरी तीन रङको पेन्टले चम्किलो र बोल्ड लुक्स प्रदान गरेको छ । यसमा ६ स्पिडको गियर, लिक्विड कुल्ड इनलाइन फोर सिलिन्डर डिओएचसी इन्जिन रहेको छ । यो बाइकको मूल्य १९ लाख ९० हजार रुपैयाँ हो ।
होन्डाले नाभी क्रसओभर पनि नेपाली बजारमा उपलब्ध गराएको छ । यो विशुद्ध स्कुटर वा बाइक नभएर फरक लुक्समा उपलब्ध छ । यो बाइकको स्टाइल एकदमै नयाँ भएकाले जसका लागि पनि आकर्षक सावित हुन सक्छ ।
नाभीमा होन्डाकै एक्टिभामा भएको ११० सिसी इन्जिन छ । यसले ७.९४ पीएसको पावर तथा ८.९६ एनएम टर्क प्रदान गर्छ । यसमा अटोमेटिक भी–मेटिक गियर छ । नाभीले ८१ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति दिन्छ । यसको पिकअप, राइडिङ क्वालिटी र ह्यान्डलिङ पनि राम्रो छ । ब्रेकिङको हिसाबले पनि यो स्कुटी निकै राम्रो छ । फरक बनावटको नाभीलाई मोटो स्कुटरका रूपमा पनि चिनिन्छ । यसको मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ छ ।
यामाहा आर थ्री
बाइकको मामिलामा यामाहाको आफ्नै सान छ । यामाहा आर थ्रीले स्पोर्ट्स बाइक रुचाउने युवाहरूको चाहना पूरा गर्छ । यो दुई रंग कालो र नीलोमा उपलब्ध छ । यो बाइकको मूल्य करिब ९ लाख रुपैयाँ छ ।
फरक लुक्सको स्कोमाडी स्कुटर
नेपालमै पहिलो पटक ११ लिटरको इन्धन ट्यांकी भएको स्कुटरका रूपमा स्कोमाडीको टुरिज्मो लेगेरा स्कुटर भित्रिएको छ । यसमा २ लिटर रिजर्भको व्यवस्था छ । १२५ सिसीको यो स्कुटरमा हाइड्रोलिक सस्पेन्सन, डिजिटल प्यानल तथा हाइड्रोलिक ड्युअल डिस्क ब्रेक जडान गरिएको छ । यसमा अचानक ब्रेक लगाउँदा पनि सजिलैसँग रोकिने र स्ट्यान्डमा भएको समयमा स्टार्ट नहुने प्रणाली छ ।
स्कोमाडी आइकनिक इटालियन डिजाइनको स्कुटरका साथै अन्य टुरिङ रेसिङ उत्पादनका लागि प्रख्यात छ । यसको मूल्य २ लाख ८० हजार रुपैयाँ छ । यसको सिल्भर क्रोमयुक्त लिमिटेड एडिसन पनि उपलब्ध छ, जसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्छ ।
महिन्द्रा मोजो
महिन्द्राको मोजोलाई भारतको पुनेबाट नेपालसम्म राइडरहरूले कुँदाएर ल्याएका थिए । मोजोमा लो फ्रिक्सन पिस्टन तथा रिङ भएको स्टेट अफ द आर्ट डीओएचसी इन्जिनका साथै एड्भान्स्ड इएफआई, इरिडियम स्पार्क प्लग, रेजोनेटर फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जस्ट पनि छ ।
यी विभिन्न फिचरका साथ यो बर्गमै सबैभन्दा बढी २१ लिटरको इन्धन ट्यांकी समेत यसमा छ, जसले लामो दूरी तय गर्न सहयोग पुर्याउँछ । महिन्द्रा मोजोको मूल्य ५ लाख ८० हजार रुपैयाँ छ ।
बेला मोटर्सका स्कुटर तथा मोटरसाइकल
बेला मोटर्सले बेला ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले अहिले ६ किसिमका विभिन्न स्कुटर बजारमा ल्याएको छ, जसको मूल्य १ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
यी स्कुटर तथा मोटरसाइकल आकर्षक देखिनुका साथै विभिन्न किसिमका फिचर्सयुक्त छन् । यिनमा सजिलो चार्जिङ प्वाइन्ट, हलुका, चोर्न नसकिने अलार्म चाबी र डिस्क ब्रेक तथा अटोमेटिक ब्रेकिङ सिस्टम आदि जडान गरिएका छन् ।