एक हजार मूर्ति तयार गरी राष्ट्रलाई प्रदान गर्ने घोषणा गरेका मूर्तिकार मञ्जुल बराइली (मितेरी) ले अबको १० वर्षभित्रमा ती मूर्ति तयार पारिसक्ने बताएका छन् । २०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित बराइली यतिबेला जापानमा विश्वकै ठूलो मूर्ति निर्माणमा जुटेका छन् । जापानबाट केही दिनका लागि घर आएका बराइलीले साप्ताहिकसँग कुराकानी गर्दै भने— २०८४ फागुनभित्र राष्ट्रलाई १ हजार मूर्ति उपहार दिनेछु । २०६१ सालमा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका मितेरीले आर्थिक अवस्थालगायत विभिन्न कारणले आफ्नो उद्देश्य पूरा हुन नसकेको उल्लेख गर्दै थप १० वर्षमा आफ्नो लक्ष्य पूरा गर्ने वाचासमेत गरेका छन् ।
हालसम्म विश्वप्रख्यात व्यक्तिहरूको १ सय ५० वटा मूर्ति तयार भैसकेको उनले जानकारी दिए । पछिल्लो समय जापानको कामिआमाकुसा सहरको विशाल पहरामा विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति कुदिरहेका मन्जुल भन्छन्— जीवन चलाउनैपर्यो, परिवारको जिम्मेवारी पनि छ, त्यसका लागि पनि ढुङ्गासँगै खेल्नुपर्ने हुन्छ ।’
जापानी व्यापारी ओसिमा सिजुकीको ३० वर्षअघिको परिकल्पनामा यतिबेला जापानको कामिआमाकुसा सहरबाट झन्डै १५ किलोमिटरको दूरीमा अवस्थित पहरामा संसारकै ठूलो बुद्ध मूर्ति निर्माण भैरहेको छ । आगामी पाँच वर्षभित्र ६० फिटको एउटा, ५० फिटका दुईवटा र ३० फिटका चारवटा बुद्ध मूर्ति निर्माण गरिसक्ने उद्देश्यका साथ मन्जुलसँगै काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पडित, मोरङका गणेश राई बान्तवा दैनिक ८ घण्टा खटिरहेका छन् ।