म २७ वर्षकी गृहिणी हुँ । मेरो एउटा मात्र सन्तान छ । हामीले अर्को सन्तानको चाहना राखेका छौं, तर पहिलो सन्तान जन्मदा मेरो रक्तचाप धेरै बढेका कारण गर्भमा समस्या देखिएको थियो अनि प्रसवका लागि दिइएको समयभन्दा एक हप्ताअघि नै शल्यक्रिया गरेर शिशु जन्माउनुपरेको थियो । त्यति बेला मेरो पनि ज्यानलाई खतरा छ भनिएको कुरा मैले बिर्सिएकी छैन । अहिले मेरो रक्तचाप सन्तुलनमा छ । अब मैले गर्भ धारण गर्न मिल्छ कि मिल्दैन ?
- पी.
गर्भ रहेको २० हप्ता पार गरिसकेपछि गर्भवती महिलाको रक्तचाप बढ्छ अनि त्यसले थप समस्या निम्त्याउँछ भने त्यसको उचित व्यवस्थापन वा उपचार नभए गर्भवती महिलाको ज्यान नै जान सक्ने सम्भावना हुन्छ । गर्भावस्थामा हुने यस्तो समस्यालाई ‘प्रिग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन’ भनिन्छ । यसमा इक्लेम्पसिया भएको अवस्था निकै घातक हो र यसले गर्भस्थ महिलाको मृत्युसमेत हुन सक्छ ।
यस्तो अवस्थामा गर्भवती महिलालाई बचाउन पनि तुरुन्त शिशु जन्माउनुपर्ने हुन सक्छ र तपार्इंको पनि त्यसैक्रममा शल्यक्रिया गरिएको हुन सक्छ । तपाईंले अब फेरि सन्तान जन्माउँदा दुईवटा सम्भावित खतरा छन् । पहिलो त प्रिग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन र दोस्रो पुन: शल्यक्रिया अर्थात् सिजरियन डेलिभरी ।
यद्यपि नियमित स्वास्थ्य परिक्षण, प्रसूति तथा स्त्रीरोग विज्ञको परामर्श अनि आफैंले सतर्कता अपनाउनुभयो भने अर्को सन्तान पाउन सक्ने सम्भावना प्रशस्त छ । त्यसैले पहिलो सन्तान जन्माएको कम्तीमा ३ देखि ५ वर्ष जन्मान्तर राखेर गर्भ धारण गर्नुअघि नै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रिकन्सेप्सनल काउन्सिलिङ गरेर तयारीका साथ गर्भ राख्नुभए हुन्छ ।