पीआईडी भएको अवस्थामा बिशेषगरी तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनाङ्ग चिलाउने, मन्द ज्वरो आउने हुन्छ । योनिमार्गबाट सेतो पानी तथा पीप बग्नु वा गन्हाउने पानी आउनु यो रोगको प्रमुख लक्षण हो । पीआईडी भएका महिलाहरूमा मानसिक तनाव पनि हुने गरेको पाइन्छ । कसै–कसैलाई यस्तो अवस्थामा खानामा रुचि नलाग्ने, टाउको दुख्ने आदि हुन सक्छ ।
पवित्रा मगर २६ वर्षीया विवाहित गृहिणी हुन् । विगत केही समयदेखि उनलाई तल्लो पेट तथा ढाड दुख्ने समस्याले सताएको छ । ४० वर्षीया हेमा आलेको समस्या भने अलि फरक छ । हेमालाई केही समयदेखि तल्लो पेट दुख्ने, पिसाब पोल्ने, योनि मार्गबाट सेतो पानी जाने तथा चिलाउने जस्ता समस्याले सताएको छ, तर उनको ढाड दुखेको छैन, सेतो पानी धेरै बगेकाले महिनावारीमा प्रयोग गरिने प्याड नै प्रयोग गर्नु परेको हेमा बताउँछिन् । त्यस्तै लता शर्मा १९ वर्षकी भइन् । उनी अविवाहित विद्यार्थी हुन् । लतालाई पनि विगत केही समयदेखि योनिमार्गबाट सेतो पानी जाने समस्या छ । लाजका कारण धेरै दिनसम्म समस्या लुकाएर राखे पनि समस्या बढ्दै गएपछि तथा योनि चिलाउन थालेपछि मात्र उनी परीक्षणका लागि अस्पताल पुगिन् । यी समस्या फरक–फरक देखिए पनि एकै किसिमका रोग हुन् । विभिन्न परीक्षणका क्रममा उनीहरूलाई पीआईडी अर्थात् पेल्भिक ईन्फल्मेटरी डिजिज भएको थाहा भयो ।
पीआईडी अर्थात् पेल्भिक इन्फल्मेटरी डिजिज मुख्य रूपमा महिलाहरूको यौन अङ्गमा हुने सक्रंमण हो । यस्तो अवस्थामा एउटा जीवाणुले मात्र भन्दा पनि विभिन्न थरीका धेरैवटा जीवाणुले यौनाङ्गमा सक्रंमण गरेको हुन्छ । अण्डबाहिनी नली, अण्डाशय, पाठेघर तथा त्यसवरिपरिका अङ्गलाई जीवाणुले संक्रमण गरेको अवस्थालाई नै पीआईडी भनिन्छ । सामान्यत: विवाहित महिलाहरूमा अर्थात् यौनसम्पर्क गर्ने महिलाहरूलाई यो समस्याले बढि दु:ख दिएको पाइन्छ । तुलनात्मक रूपमा अविवाहित वा यौनसम्पर्क नगर्ने किशोरीहरूमा यो कम देखिए पनि उनीहरूमा पीआईडी हुनै नसक्नेचाहिँ होइन । सरसफाइको कमी, पसिना नसोस्ने अन्तर्वस्त्र, फोहर पानीमा नुहाउने, गर्मी मौसम अनि अत्यधिक पसिनाजस्ता कारणले पिआईडी बढी हुन सक्ने भए पनि जीवाणुको संक्रमण बिना यो हुन सक्दैन । नाईसेरिया गोनोरिया, क्लामेडिया ट्राइकोमाटिस्, माईकोप्लाज्मा, ई.कोलाई, स्ट्रेप्टोकोकस आदि जीवाणुले पेल्भिक इन्फल्मेटरी डिजिज गराउँछन् ।
पीआईडी भएको अवस्थामा बिशेषगरी तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनाङ्ग चिलाउने, मन्द ज्वरो आउने हुन्छ । योनिमार्गबाट सेतो पानी तथा पीप बग्नु वा गन्हाउने पानी आउनु यो रोगको प्रमुख लक्षण हो । पीआईडी भएका महिलाहरूमा मानसिक तनाव पनि हुने गरेको पाइन्छ । कसै–कसैलाई यस्तो अवस्थामा खानामा रुचि नलाग्ने, टाउको दुख्ने आदि हुन सक्छ । एक पटक पीआईडी भएका महिलामा पटक–पटक यो समस्या दोहोरिने हुन सक्छ । यसले गर्दा महिलाहरूले अझ बढी मानसिक तनाव महसुस गरेको पाईन्छ । सबै महिलामा सबै लक्षण नदेखिए पनि अधिकांशमा सेतो पानी गएको पाइन्छ । कुनै–कुनै अवस्थामा महिलाहरू ढाड तथा कम्मरको पीडालाई लिएर हाड तथा जोर्नी विशेषज्ञकहाँ उपचार गराउन पुग्छन् अनि परीक्षणपछि कम्मरको दुखाइको कारण पीआईडी भएको पत्ता लाग्छ । पेट दुखेर जनरल फिजिसियनसँग परीक्षण गराउन पुगेका कतिपय महिलाको अल्ट्रासाउन्ड गराएपछि पाउच अफ डोग्लाज् (पिओडी) मा पानी देखिएको पाइन्छ ।
सामान्यत: पीआईडीलाई यौनरोग भने मानिँदैन, तर यौनसँग यसको गहिरो सम्बन्ध छ । त्यसैले यो विवाहित महिलाहरूलाई बढी हुन्छ । धेरै जनासँग यौनसम्पर्क गर्ने तथा धेरै यौनसाथी भएका महिलाहरूमा वा धेरै यौनसाथी बनाउने पुरुषका पत्नीहरूमा यो समस्या बढी देखा पर्छ । योनिमार्गमा रहेका जीवाणुहरू पनि यौनसम्पर्क गरेको अवस्थामा माथि उक्लने र पाठेघर तथा अन्य माथिल्लो अङ्गहरूसम्म पुग्ने तथा संक्रमण हुने हुन्छ । सामान्यत: पीआईडी भएका महिलाको उपचार गर्दा उनीहरूका यौनसाथी वा श्रीमान्को उपचार गरिँदैन । कुनै–कुनै अवस्थामा श्रीमान्मा कुनै समस्या नदेखिए पनि यसका जीवाणुहरू लुकेर बसेका हुन्छन् । त्यस्तो अवस्थामा उपचार सकिने बित्तिकै श्रीमान्बाट पुन: श्रीमतीलाई पीआईडी बल्झिन सक्छ ।
पीआईडीबाट जोगिन यौनाङ्गको सरसफाइ तथा यौन व्यवहारमा सर्तकता अपनाउनुपर्छ । भरसक तनावपूर्ण वातावरण सिर्जना नगर्ने, तनावबाट आफूलाई परै राख्ने तथा सुरक्षित यौनव्यवहार अपनाउने । त्यसबाहेक चिकित्सकको सल्लाहबमोजिम केहि एन्टिबायोटिक्सको प्रयोगले पीआईडीलाई सजिलै निको पार्न सकिन्छ, तर कतिपय अवस्थामा योनिमार्गबाट बगेको पानीको परीक्षण लगायत अन्य परीक्षण पनि गराउनुपर्ने हुन सक्छ । यसको उपचार गर्दा श्रीमान्ले पनि औषधि सेवन गर्नुपर्ने हुन सक्छ । उपचार गरेपछि पूर्ण रूपले निको हुने पीआईडीको उपचार नगराउँदा बाँझोपन तथा अन्य समस्या
भोग्नुपर्ने हुन्छ ।